मेरो जन्म स्थान स्यांगजाको सदरमुकाम पुतली बजारबाट वाल्यकालमा पोखरा पैदल यात्रा गरेको मलाई सम्झना छ। त्यति खेर पोखरा पैदलै जानु पर्थ्यो, स्थल यातायातको सुविधा थिएन। गुणी खोलाको उकालो चढेर नुवाकोट, (जुन स्यांगजाको पुरानो सदरमुकाम पनि हो), त्यहांबाट हिड्दै पहिलो दिन मट्टीखानमा बास बसेर भोली पल्ट बिहानै हिड्दै करीब १० बजे तिर रामदीको ओरालो झर्दै पोखरा पुगेको सम्झना छ जुन मेरो पहिलो पैदल यात्राको अनुभव थियो।
२०२६ सालमा सिद्धार्थ राजमार्ग बाट यातायात सुचारू हुन थाले पछि स्थल यातायातको अनुभव भयो। हवाई जहाजको पहिलो अनुभव भने पोखरा- हुम्डे(मनांग) उडानबाट भयो। अन्तर्राष्ट्रिय हवाई उडानको पहिलो अनुभव लुफ्तानसा एरोप्लेनको काठमांडौ-फ्र्र्यांकफोर्ट उडानबाट गर्न पाए। त्यस पछिका दिनहरूमा भने राष्ट्रिय र अन्तर्राष्टिय हवाई यात्रा प्रसस्तै हुदा पनि पानी जहाजको यात्रा गर्ने अवसर जुटेको थिएन। यस पटक भने त्यो संयोग पनि जुर्यो। हाई स्कूलमा भौतिक विज्ञान पढ्दा फलामले बनेको सियो पानीमा डुब्छ तर त्यही फलामले बनेको जहाज पानीमा डुब्दैन किन भनेर प्रश्न गरिन्थ्यो र उत्तर पनि पाईन्थ्यो तर आज सो उत्तर आफ्नै आखाले हेर्ने मौका मिलेकोमा आफैलाई गौरवान्वित लाग्यो। डिसम्बरको २३ देखि जनवरीको पहिलो हप्ता सम्म अमेरिकामा लामो छुट्टी हुने गर्छ। विद्यालयहरूमा विदा हुने भएकोले यो अवधिमा बिभिन्न मनोरन्जनात्मक कृयाकलापहरूको आयोजना गरिन्छ।
यसै क्रममा मेरो परिवारको पनि पानी जहाजमा चढेर यात्रा गर्ने योजना बन्यो र हामीले Carnival Sunshine Cruise बाट यात्रा गर्न १ हप्ताको प्याकेज लियौ र २१ डिसम्बरमा दक्षिण क्यारोलिनाको Charleston बाट पानी जहाजको यात्राको थालनी गर्यौ। करीव १००० फीट लमाई भएको र करीव ३००० यात्रु बोक्न सक्ने क्षमताको पानी जहाज पहिलो पटक चढ्न पाउदा नौलो अनुभूति भयो। जाहाज भित्र वातानुकूलित कोठाहरू जहां Five Star होटलको जस्तो सुविधा हुने रहेछ। १२ तले यो पानी जहाजको १० औ तलामा खेलकूद गर्ने सुविधा, ९ औं तलामा पूरै होटलका सुविधाहरू जसमा विश्वको जुनसुकै स्वादका परिकारहरू पाईने रहेछ। बिहान ६ बजे देखि राती ९.३० बजे सम्म खुला हुने यी होटलहरूमा ब्रेक फास्ट, लन्च र डिनरका साथै तातो र चिसो पेय पदार्थहरू पाईने रहेछन्। जहाजमा विविध खानेकुराका अतिरिक्त गीत, संगीत, खेलकूद, कसिनो, बिंगो जस्ता मनोरन्जनात्मक गतिविधि समेत हुने रहेछन्। यस्मा चढेका यात्रुहरूलाई जहाज भित्र गरिने मनोरन्जनात्मक कार्यक्रममा मात्र सीमित नराखी वरपरका टापुहरूको पनि भ्रमण गराईदो रहेछ। यसै क्रममा हामीहरूलाई बहामाजको राजधानी नसाऊमा घुम्न पठाईयो। यो राजधानी शहर नसाऊ एक पर्यटकीय स्थल रहेछ। पानीजहाज आफैमा जहाज हुदाहुदै पनि सुविधायुक्त बेडरूम, एटेच्ड वाथ रूम , बिहान, दिउस र रातको खाना सहितसमेत हुनाले कता कता यो तारे होटल जस्तो लाग्ने रहेछ। विविध मनोरन्जन समेत पाईने हुदा मनोरन्जनालय, पुस्तकालय, नाट्यशाला, कसिनो आदि समेत भएकोले यो पानीजहाजको रूपमा मात्र नहुने रहेछ। यसको यात्रा संगै खानपिन, खेलकूद, मनोरन्जन समेतले छुट्टै रौनक दिने रहेछ ।
यात्राको क्रममा गाडी चढ्दा गाडी लाग्ने, हवाई जहाज चढ्दा समेत मौसमको असरले टाउको दुख्ने र कहिले काही वान्ता हुने गरे जस्तै समुन्द्रमा आउने ज्वारभाटा जस्ता पानीका धारको हलचलले जहाजमा आउने कम्पनले केही यात्रुहरूमा त्यस्तै गरी सी सिकनेस (Sea Sickness) हुने रहेछ र यसले पनि टाउको दुख्ने, वान्ता हुने, रिंगटा लाग्ने, खान मन नलाग्ने जस्ता विमारको सामना गर्नु पर्ने रहेछ। जहाज भित्र हुने किनबेचमा जहाजले दिने कार्डले क्रेडिट कार्डको काम पनि गर्ने रहेछ, यस भित्र अन्य बैंकले दिएका क्रेडिट वा डेविट कार्ड वा नगद मुद्रा नचल्ने रहेछन्। विद्युतीय माध्यमबाट गरिने क्रय विक्रयले आम्दानी खर्च पारदर्शी हुने रहेछ। यही कार्डले सबै यात्रुहरूको परिचय, राहदानी, भीसा सबैको काम गर्ने रहेछ। जहाजहरू समुन्द्रमा चल्ने हुदा सामान्य सन्चार साधनको नेटवर्क समुन्द्रमा नपुग्ने रहेछन्।
यसैले हामीले बोक्ने गरेका मोवाईल फोनहरूले काम गर्न नसक्ने रहेछन्। यसको निम्ति भू- उपग्रहको सहयोग लिनु पर्ने रहेछ। यस्तो सुविधा लिनु परेमा जहाज संग करार गर्नु पर्ने रहेछ, जुन केही महंगो पर्ने रहेछ तर यसबाट लिईने सुविधाको तुलनामा यसको मूल्य सामान्य नै मान्नु पर्ने हुन्छ। पर्यटनका विभिन्न व्यवसायहरू मध्ये यो क्रुज ( Cruise) व्यवसाय पनि एक महत्वपूर्ण व्यवसाय रहेछ। महासागरका सन्निकट देशहरूले यो व्यवसायबाट मनग्गे आम्दानी कमाउन सके जस्तै हामी जस्ता भू-परिवेष्ठित मुलुकले पनि आफ्ना आन्तरिक नदीहरूमा यस्तो व्यवसाय चलाउन सक्ने देखिन्छ। त्यसै गरी यस्ता महासागरहरू विश्वका भू- परिवेष्ठित मुलुकका समेत साझा सम्पदा हुन सक्ने कुरा High Sea सम्बन्धी कानूनले उल्लेख गरेको हुदा यसको सदुपयोग गर्नमा हाम्रा जस्ता मुलुकहरू समेत वन्चित हुनु पर्ने देखिदैन।