काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान’ ताप्लेजुङका अग्रज लेखक तथा सञ्चारकर्मी राजेश्वर थापा र सिक्किम, भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमकी अध्येता सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई अर्पण गर्ने निर्णय गरेको छ । बेलायतको टिडवर्थमा आइतबार बसेको प्रतिष्ठानको पूर्ण बैठकले उक्त निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष टंक वनेमले बताए । वनेमका अनुसार सम्मानतर्फ नगद राशि रु. ५० हजारसहित ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारतर्फ १ लाख रुपैयाँ र ताम्रपत्र रहेको रहेको छ ।
वि.सं. २००८ जेठ २१ गते ताप्लेजुङको साविक खोक्लिङ हाल मिक्वाखोला गाउँपालिका–२ मा जन्मिएका थापाले ताप्लेजुङका शहीदहरू, तोक्पेगोला र तोक्पेगोला, ताप्लेजुङका युद्धवीर लाहुरेहरू, ताप्लेजुङका लोकसंस्कृति भाग–१, ताप्लेजुङका धर्म सम्प्रदायहरू, बरदात्री भगवनी पाथीभरा (मुक्कुमलुङ्मा), ताप्लेजुङको प्रजातान्त्रिक क्रान्तिको इतिवृत्तलगायत पुस्तकहरू लेखेका छन् । थापाले नेपालको सुदूर पूर्वको लिम्बुवानी क्षेत्र ताप्लेजुङको आर्थिक, सामाजिक, राजीनितक, सांस्कृतिक र पर्यटकीय स्थलको चिनारी दिन उल्लेखनीय योगदान गरेकाले सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका महासचिव चोक गुरुङले बताए ।
यसै गरी सन् १९८८ मा सिक्किमको गान्तोकमा जन्मिएकी सिङ्जाङ्गोले याक्थुम मुन्धुमको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, अनुवाद तथा लेखनका साथै स्थानीय रैथाने कला–संस्कृतिको संरक्षणमा सक्रिय भई उल्लेखनीय योगदान गरेवापत प्रतिभा पुरस्कार अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । सिङ्जाङगोका अंग्रेजीमा ‘लिम्बु समन्सः अ डाइरेक्टरी अल लिम्बू समन्स इन सिक्किम, चइत मुन्धुम (द स्टोरी अफ क्रियसन), मुजिङ्ना खेयङ्ना मुन्धुम अनुवाद, याक्थुङ सिभिलाइजेसनः इम्बिरी याङधाङ्वा पुम्मा कलेन्सन आर्टिकल, याक्थुङ मुन्धुमलोर कृति प्रकाशित छन् ।
बेलायतलाई कर्मथलो बनाएका नेपाली स्रष्टाहरूको भेलाले सन् २००८ मा बेलायतमा स्थापना गरेको नेपाली प्रतिभा प्रतिष्ठानले हालसम्ममा अग्रज स्रष्टाहरू ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, प्रा.डा. कृष्णहरि बराल, दीप श्रेष्ठ र गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गरिसकेको छ ।
यसै गरी नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदीप पाख्रिन र प्रदीप मेन्याङ्बोलाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ । प्रतिष्ठानले घोषित पुरस्कार तथा सम्मान जनवरीको अन्तिममा काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गर्ने जनाएको छ ।