तिहारः मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र

तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन्। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ। यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको छ। त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ। यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ।

बिज्ञापन

पौराणिक कथा
पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ। यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले ’हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा रहेको छ। तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लगं पार्दछ ।

बिज्ञापन

सामाजिक महत्व
तिहारको सांस्कृतिक पक्ष पनि छ। भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवम् उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा ऊ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ।

तिहार पर्व महान् सांस्कृतिक पर्व हो । तर यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्त्व देखिएका छन् त्यो भन्दा पनि बढी वैज्ञानिक महत्त्व देखा पर्दछन्। जस्तो चराहरू भनेका वातावरण सन्तुलनका प्रतीक हुन्। बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्याउने काम त यसै पनि गर्दै आएका छन् अप्रत्यक्षरूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा पनि त्यति नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । वर्षको एकदिन कागको पूजा गर्ने प्रसंगले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको बुजिन्छ । त्यस्तै कुकुरको स्वामीभक्ति त यसै पनि संसारमा प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति हामी सबैले कुकुरले जत्तिकै इमानदार हुनु कुकुरपूजाको प्रसंगले बुजिन्छ । त्यस्तै गाईबाट दूधदेखि मलमूत्र र हलो तान्ने वहर दिएर हाम्रो जीवन बचाउने वहरले हलो तानेर र पहाडपर्वतले अक्सिजन दिएर सम्पुर्ण प्रा‍णीको प्राण बचाउने गरेको बुजिन्छ । त्यसैले यतिबेला गरिने गाई, गोरु र गोवर्द्धन पर्वतको पूजाको अर्थ पनि उनीहरूप्रति इमानदार हुनुपर्छ भन्ने हुन्छ । लक्ष्मी पूजाको अर्थ धन सम्पत्ति प्राप्तिको कामना हो । धन कमाउनका लागि शरीर स्वस्थ र निरोगी हुनुपर्छ भने शरीर स्वस्थ र निरोगी रहन सदैव प्रसन्न चित्त रहन सक्नुपर्छ । दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्दा यसको अर्थ मान्छेले मान्छेको सम्मान गर्न सक्नु र जान्नुपर्छ भन्ने सन्देश दिनु हो । संसार बिग्रेको मान्छेले मान्छेप्रति गर्ने व्यवहार सन्तुलित हुन नसकेर नै हो । जहाँ मान्छेबाट मान्छेको सम्मान हुन सकेको हुन्छ त्यहाँ अहिलेको संसारमा विद्यमान आधाभन्दा बढी समस्या आफैँ समाधान हुन्छ ।

बिज्ञापन

काग तिहार
काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गरिन्छ । काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।

कुकुर तिहार
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।

गाईतिहार र लक्ष्मी पूजा
गाईतिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।

पौराणिक कथन अनुसार भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसंग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसंगमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ । सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा “तमसोमा ज्योतिर्गमय“ अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।

गोरु तिहार
गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन्। भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो। संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यमपञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन्।
भाइतिहार (भाइ टीका)

भाइतिहार (भाइ टीका) तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान–सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।
भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति वर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् । हिन्दू धर्ममा टीकाको धेरै महत्त्व छ, पूजा–पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषतः रातो वा पहेलो रंगका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो। सात रंगका यी टीकालाई सप्तरंगी भनिन्छ। सतरंगी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ।

चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठूलो महत्व रहेको हुन्छ । दशैँ तिहार जस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात, जाति र धर्म सम्प्रदायसँग मात्र सीमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ । यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ साथै नेपाली हुनुको गौरव र पहिचान गराउँछ ।

तिहारमा खेलिने देउसीभैलोले एक त सामूहिक भावनको विकास गर्छ भने अर्कोतर्फ गीत संगीतको माध्यमद्वारा मनोरञ्जन समेत प्रदान गरिरहेको हुन्छ । मानसिक स्वास्थ्यको लागि मनोरञ्जन महत्वपूर्ण हुन्छ । मनोरञ्जनले पिर, मर्का र तनावबाट छुटकारा मिल्छ । गीतसंगीत मानव जीवनको लागि आवश्यक कुरा हो । विश्वमा मानसिक रोगको उपचारको लागि म्यूजिक थेरापी कै विकास भएको छ ।सामूदायिक हितको हिसावले देउसी भैलो खेल्ने र त्यसबाट उठेको रकम समाजसेवामा लगाइनु पनि तिहारको राम्रो पक्ष हो ।चाडपर्वको बेला एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास गरिदिन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धन गर्न मद्दत गर्दछ ।
चाडपर्वको रमझमले खुसीयाली र उमंग लिएर आउँछ । चाडपर्वकै अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउँछ । सम्बन्धलाई गाढा र मजबुद्ध बनाउने भेटघाटले नै हो ।

चेलीहरू विवाह गरी अर्काको घरमा जाने भएकाले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्ध टाढा हुँदै जानसक्ने सम्भावना धेरै हुने हुँदा माइती र चेली बीचको सम्बन्ध गाढा बनाइराख्न तिहार जस्तो चाडको अत्यन्तै ठूलो महत्व रहेको छ । विवाह गरेर टाढाटाढा गएका दिदीबहिनी र दाजुभाइबीचको भेट तिहारको अबसरमा हुने हुँदा सम्बन्धमा पुनर्ताजकी आउने गर्छ । उनीहरुबीच माया प्रेम सद्भाव अझ् झाँगिदै जान्छ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने सेतुको काम पनि चाडपर्वले गर्छ । तिहारमा घर रंग्याउने सरसफाइ गर्ने जस्ता कुराले व्यक्तिलाई सरसफाइ प्रति जागरुक र सचेत पनि बनाइरहेको हुन्छ ।चाडपर्वलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झैझगडा गर्ने जस्ता नकारात्मक पाटोलाई भने हटाउनु आवश्यक छ ।

नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने हुनाले बढ्दै गएको ‘जेनेरेशन ग्याप’लाई समेत कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । यसले आपसी रिस, राग पूर्वाग्रह हटाउँछ । चाडपर्वको बेला गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

शरीरलाई स्वस्थ्य राख्न तथा आफ्नै दिर्घायूको कामना समेत म्हः पूजामा गरिन्छ । यसले जीवन अमूल्य छ भन्ने बोध गराउँछ । आत्म सम्मान कमजोर हुँदा मानिसलाई मानसिक असर पुग्नसक्छ । व्यक्तिमा विभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन् । मानसिक स्वास्थ्य सबल राख्न समेत म्हः पूजाले मद्दत पु¥याउने गर्छ । त्यसै गरि हाम्रो अर्को चाड “छठ“ भनेको प्रकृति र पर्यावरणको पूजा गर्ने चाड हो । यसले प्रकृति र पर्यावरण जोगाउनु पर्छ भन्ने संदेश दिन्छ । संसारमा गुणको कदर हुन्छ । मानिसलाई मद्धत पुर्याउने पशुपँक्षीदेखि चौपाय समेतलाई यस पर्वमा पूजिन्छ ।
यसले पर्यावरणलाई समेत सन्तुलित राख्छ । हामीले अरूको कामको कदर र गुणको पूजा गर्नुपर्छ चाहे ती आफूभन्दा साना वा पशुपँक्षी नै किन नहुन् । यो कुराको प्रष्ट सन्देश तिहारले दिन्छ । कसैले आफ्नो कामको सम्मान पाएन भने त्यहीबाट असमझदारी र असंतुष्टि बढ्छ । कलह र विद्रोहको कारण पनि यहि हो ।तिहारलाई भारतमा दीपावलीको नामले जानिन्छ, यो पर्वका दिनहरूमा भारतमा विभिन्न स्थानहरूमा मेला लाग्छन्।
दीपावली एक दिनको पर्व नभएर पर्वहरूको समूह हो। दशैं पछि दीपावलीको तैयारी गरिन्छ। दीपावलीको दुइ दिन पहिला त्रयोदशीका दिन धनतेरस मनाइन्छ। यस दिन बजारहरूमा चारैतिरबाट मानिसको भीड लाग्छ। भाँडा–कुँडाको पसलमा र साज सज्जाको पसलहरूमा अति नैं भीड देखिन्छ। धनतेरसका दिन भाँडाहरू किन्नु अति शुभ मानिन्छ यसकारण प्रत्येक परिवारले अफ्नो आवश्यकता अनुसार केही न केही किन्ने गर्छन्। यस दिन तुलसी अथवा घरको ढोकामा एउटा दियो बालिन्छ। भोलिपल्ट नरक चतुर्दशी अथवा सानो दीपावली मनाइन्छ। यस दिन यम पूजा हेतु दीपक जलाइन्छ। त्यसको भोलिपल्ट दीपावली मनाइन्छ। यस दिन घरहरूमा बिहानदेखिनै पकवान बनाइन्छ।

दीपावलीको बेलुका लक्ष्मी र गणेश जीको पूजा गरिन्छ। पूजापछि मानिसहरू आ–आफ्ना घर बाहिर दीपक र मोमबत्तीहरू बाल्छन्। चारैतिर बालिएका दियाहरूको कारण सबैतिरको दृश्य मनमोहक हुन्छ। रंग–बिरंगका बिजुलीका बल्बहरूले बजार र गल्लीहरू जगमगाउँछन्। केटा–केटीहरू पनि पटेका, झिरझिरे चलाएको दृश्य हेरेर अति खुशी देखिन्छन्। मध्य रातसम्म कार्तिकको अँधियारो रात पूर्णिमा भन्दा पनि उज्यालो हुन्छ। अर्को दिन मानिसहरू गाई–गोरुलाई सजाउँछन् तथा गोबरको पर्वत बनाएर गोवर्धन पूजा गर्छन्। त्यसको भोलिपल्ट भाइको तिहार मनाइन्छ। दीपावलीको भोलिपल्ट व्यापारीहरू आ–आफ्ना पुराना बहीखाता बद्ली गर्छन्। उनीहरू पसलमा लक्ष्मी पूजन गर्छन्। यस्तो मानिन्छ कि यस्तो गर्दा धनकी देवी लक्ष्मीको उनीहरूमाथि विशेष अनुकंपा हुनेछ। कृषक वर्गको निम्ति यस पर्वको विशेष महत्त्व छ।धान पाकेर तैयारी भएको कारण कृषहरूका खेतहरू समृद्ध बन्छन्। कृषकसमाज आफ्नो समृद्धिको यो पर्व उल्लासपूर्वक मान्छन्।

तिहारमा काग, कुकुर, गाई, गोरूको पूजा गर्नु भनेको उनीहरूको काम र गुणको कदर र सम्मान गर्नु पनि हो ।संसारका सबै प्राणीहरूले आफ्नो मान, सम्मान र कामको कदर होस भन्ने चाहन्छन् । तिहारको बेला पशुपँक्षीलाई पूज्ने कार्यले पशुपँक्षीको आफ्नो कामको सम्मान र महत्व झल्काउँछ । साथै मानव समाजसँगको सम्बन्ध र सम्पर्क प्रगाढ बनाउन मद्दत मिल्छ ।मानव तथा पशुपंछीबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गरिने तिहार एकपटक मात्रै होइन बर्ष भरिनै तिहार मनाउन सक्नु पर्दछ। मानव अरु चराचर प्राणीहरुभन्दा सबैभन्दा सर्वश्रेष्ठ प्राणी भएकाले अरु प्राणीहरुप्रति उचित दया, माया देखाउदै अवोध प्राणीहरुको हत्यालाई सदा अन्त्य गर्न सकेमा मात्र तिहार पर्व मनाएको सार्थकता सिद्ध हुन्छ ।

( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।