काठमाडौं । कास्की जिल्ला अदालतले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यो सँगै सभापति लामिछानेको तिहार लगभग प्रहरी हिरासतमै बित्ने पक्कापक्की भएको छ।
बिज्ञापन
प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्न अनुमति पाएको थियो ।तर, कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने भएको छ ।तिहारमा अदालत खुले पनि बन्दीप्रत्यक्षीकरणको रिटबाहेक अरु मुद्दा अदालतले हेर्दैन । यससँगै उनको तिहार हिरासतमै बित्ने भएको छ । तिहार बिदापछि कात्तिक २० गतेमात्र सरकारी कार्यालय खुल्ने छ । त्यसैले प्रहरीले रविलाई कात्तिक २० मा मात्र अदालतमा उपस्थित गराउने छ ।त्यतिबेला फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । त्यतिबेला अदालतले तिहार बिदासमेत गणना हुने गरी म्याद थपबारे निर्णय गर्नेछ ।
बिज्ञापन
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र उनका ‘पार्टनर’ छविलाल जोशी बञ्जाडे अहिले कास्की प्रहरीको हिरासतमा छन् ।सूर्यदर्शनलगायत पाँचवटा सहकारीबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ रकम गएको देखिन्छ । प्रबन्ध निर्देशकका हैसियतमा लामिछानेले धमाधम करोडौंको चेक काटेका थिए । सहकारीबाट उनले ‘डाइरेक्ट’ ऋण लिएको नदेखिए पनि गोरखा मिडियामा पदीय हैसियतमा रहँदा संस्थाको नाफाभन्दा बढी रकम चेक काटेको देखिन्छ । सहकारीको रकम आफू काम गर्ने मिडियामा आएको जान्दाजान्दै रकम अपचलन गरेको आरोप पीडित पक्षको छ ।
पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेका पार्टनर एवं गोरखा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई फरार छन् । राई विभिन्न सहकारीको अध्यक्ष रहेको बारेमा लामिछाने जानकार रहेको बताइएको छ ।
बिज्ञापन
बुटवलको सुप्रिम बचत तथा ऋण बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोप उनीहरूमाथि छ। रवि तत्कालै रिहा हुने सङ्केत नदेखिए पछि पोखरा केन्द्रित आन्दोलन गरिरहेको रास्वपा काठमाडौं फर्कने भएको छ।
सहकारी पीडितसँग आन्दोलन आमनेसामने हुने भएपछि रास्वपाले बिहीबार पोखरामा अन्तिम प्रदर्शन गरेको छ। घरदैलो गरेर आन्दोलनमा सहभागी हुन अनुरोध गर्दा पनि पोखरेलीहरूको साथ नपाए पछि रास्वपा अब काठमाडौं फर्केर आन्दोलन गर्ने निष्कर्षमा पुगेको हो।