दशैंको मुखमा एकै पटक ४४७ कर्मचारी सरुवा गरिँदा उक्त सरुवामा गडबडी गरिएको भेटिएको छ । उक्त सरुवा गर्दा एक सय भन्दा बढी कर्मचारीहरुको अमिल्दो ढंगबाट चलाइएको भेटिएसँगै ती कर्मचारीको सरुवा संशोधन गर्न मन्त्रालयले बनाएको छानबिन समितिले सुझाव दिएको छ ।
बिज्ञापन
गत असोज महिनामा खरिदारदेखि अधिकृत तहमा ४४७ कर्मचारीको सरुवा तथा सयभन्दा बढीको काज सरुवा गरेका भूमि व्यवस्थापन तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटामाथि अनियमितता गरेको आरोप लागेपछि दशैं पछि कार्यालय खुले लगतै मन्त्रालयले सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । उक्त छानबिन समितिले सरुवामा कैफियत ठहर गरेको हो । महानिर्देशक सापकोटाले गत असोज १४ गतेको मध्यराती एकै लटमा चार सय ४७ जना कर्मचारीको सरुवा गरेका थिए । जसमा ४५ शाखा अधिकृत, दुई सय २६ नायब सुब्बा, एक सय चार खरिदार र ४४ कम्प्युटर अपरेटर परेका थिए । सापकोटाले गत साउनमा पनि ७२ कर्मचारीको सरुवा गरेका थिए । सोही बिषयमा व्यापक गुनासो उठेपछि मन्त्रालयले छानबिन समिति नै बनाएको थियो ।
बिज्ञापन
कर्मचारी सरुवा गर्दा पाँचदेखि सात लाखसम्म असुलेर सरुवा गरिएको बिषयमा चरम गुनासो उठेको र कतिपय सुगमका कार्यालय त्यसमा पनि उपत्याकाभित्रैको एउटा कार्यालयबाट अर्काे कार्यालयमा सरुवा गरिएको पाइएको थियो । यस्तै केही कर्मचारीलाई एउटै कार्यालयमा नौ बर्षसम्म नचलाइएको तर केही कर्मचारीहरु तीन महिना नपुग्दै अर्काे कार्यालयमा खटाइएको बिषयमा गुनासो बढेसँगै मन्त्रालयले उक्त बिषयमा छानबिन गर्न कर्मचारी प्रशासन महाशाखा प्रमुख समेत रहेका सहसचिव मदन कोइरालाको संयोजकत्वमा गठित समितिमा उपसचिव कृष्णप्रसाद भण्डारी र शाखा अधिकृत गोकुल भुजेल सदस्य रहेको समिति गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो ।
मन्त्रालयले कात्तिक २ मा गठन गरेको छानबिन समितिलाई उक्त सरुवा निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० अनुसारको सरुवारकामकाज भए नभएको, प्रचलित सरुवासम्बन्धी मापदण्ड भए सोअनुसार गरे वा नगरेको, कर्मचारीले स्पष्ट कारण खोली सरुवा निवेदन दिएको अवस्थामा सोको सम्बोधन हुने र मानवीय संवेदनशीलता समेतलाई ध्यानमा राखी सरुवा तथा कामकाजमा खटाए वा नखटाएको, स्वीकृत दरबन्दीअनुसार सरुवा व्यवस्थापन गरेरनगरेको विषय हेर्न छानबिन समितिलाई कार्यादेश दिइएको थियो ।
बिज्ञापन
उक्त समितिले भूमि व्यवस्था विभागका कर्मचारीको सरुवामा कैफियत भेटेको प्रतिवेदन तयार पारी आज बुझाउँदैछन् । समितिले झण्डै ११२ जना कर्मचारीको सरुवामा कैफियत भेटेको छ । समितिका एक सदस्यका अनुसार, ११२ जनाको सरुवा नमिलेको पाइएको हो । उनका अनुसार,ती कर्मचारीहरुको सरुवा अमिल्दो देखिएको कारण सरुवा संशोधनका लागि छानबिन समितिले मन्त्रालयलाई सिफारिश गर्ने गरी प्रतिवेदन तयार भएको छ ।
छानबिन समितिले आजै उक्त प्रतिवेदन मन्त्रालयमा बुझाउँदै छ ।