निलम्बित मुख्य सचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अमेरिकाबाट भर्चुअल सुनुवाइ भएको छ ।
बिज्ञापन
पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालसमेत जोडिएको भ्रष्टाचारसम्बन्धी मुद्दाका प्रतिवादी सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले सोमबार बिहान साढे १० बजे भर्चुअल माध्यमबाट बहस गरेका हुन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय डा. खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासमा गत कात्तिक ५ गतेबाट मुद्दाको सुनुवाइ भइरहेको छ।
बिज्ञापन
विशेष अदालतले देशका विभिन्न जिल्लाहरूबाट र विदेशबाट समेत साक्षी बकपत्र भर्चुअल माध्यमबाट गरी प्रभावकारी रूपमा सेवा प्रदान गरिँदै आएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा (५) बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयानसमेत भर्चुअल माध्यमबाट गरिँदै आएको छ । सुर्खेत, झापा जिल्ला लगायतबाट सम्बन्धित जिल्लाका जिल्ला अदालतसँग समन्वय गरी प्रतिवादीहरूको बयान गराई थुनछेक बहस र आदेशसमेत भर्चुअल माध्यमबाट गरी सहज रूपमा सेवा प्रदान गर्दै आएको बेहोरा अवगत गराइन्छ । भर्चुअल सुनुवाइको सेवा जनकपुर लगायतको स्थानबाट कानून व्यवसायीहरूले लिँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
बिज्ञापन
“नेपालको न्यायिक परिपाटीमा विदेशबाट समेत बहस छलफल सुनी पक्षहरूको स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत भएको प्रविधियुक्त यो नौलो प्रयोग हो,” विशेष अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विशेष अदालतले उपलब्ध गराएको न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न समस्त कानून व्यवसायी तथा सेवाग्राहीहरू सबैमा अदालत आग्रह गर्दछ।”