राजनीति देश र जनताको हितमा हुनु पर्छ यो सर्व स्वीकार्य मान्यता हो। देश र जनताको हित गर्न विभिन्न कल्याणकारी कार्यहरूमा राजनीतिको पहुंच पुगेको हुनु पर्छ। यस्ता कल्याणकारी कामहरूमा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी आदि पर्छन्। जनताको हित संग जोडिने यस्ता कार्यक्रममा देशको राजनीति पुग्न सक्यो भने राजनीतिमा जन सहभागिता हुन्छ।जुन क्षेत्रमा जनसहभागिता सहज रूपले हुन जान्छ त्यो क्षेत्र लोक प्रिय हुन्छ। तर हाम्रो राजनीतिमा लागेका पात्रहरूले राजनीतिको क्षेत्र र परिभाषालाई विकृत बनाएको पाईन्छ। यसैका कारण जनताले यसलाई फोहोरी खेल पनि भन्ने गरेका छन्। हाम्रो राजनीतिका योग्यताहरू झुट आश्वासन, चिप्लोपन, बैयक्तित स्वार्थ, कार्यकर्ता पोषण, नातावाद, परिवारवादमा जकडिएको पाईन्छ।
बिज्ञापन
हालै म मेरो जन्म स्थलमा पुगेको थिए, यो ठाऊ नगरपालिका अन्तर्गत भए पनि नगरका संकेतहरूलाई गाऊका संकेतले जितेका छन् हन त यस्तो अवस्था अधिकांश यूवा नगरको होला। जिल्ला सदर मुकामबाट पैदलै १५ मिनेटमा पुग्न सकिने यो गाऊ खानेपानीको हिसाबले काका कूल छ। धन्न यस पटक यतिखेर ठूलो वर्षा भएकोले छानाको बलेनी पानी संकलन गरेर काम चल्यो। जथाभावी विना ईन्जिनियरिंग बाटो खन्ने कामले खानेपानीका परम्परागत मूल पनि सुके, कुवाहरू पुरिएर लोप भए, २० वर्ष अगाडि वितरण गरिएको खानेपानी समेत जसको शक्ति उसको भक्ति भएको छ, पानी मर्मत गर्न जादा उपभोक्ता बीच हातपात हुने गरेकाले ज्यान जोगाउन गाह्रो परेको छ, ठाऊ ठाऊमा पाईप उधिनेर पानीको दुरूपयोग भएको छ, यसको ब्यबस्थापनको संयोजनमा स्थानीय निकाय मूक दर्शक भएको छ। यसरी खानेपानी अब्यबस्थित हुनाले साऊनको महिना र धेरै वर्षाद् भएको समयमा पनि हाम्रो क्षेत्र काकाकूल भएको छ।
बिज्ञापन
यस्तै बेला हाम्रा संघीय जनप्रतिनिधि सदरमुकाम आएका रहेछन, यो गुनासो उनैलाई सुनाए केही हुन्छ कि भनेर फोनबाट समय लिएर खानेपानीबाट पीडित केही उपभोक्ताले संयुक्त रूपमा गुनासो राख्यौ र उहाले त्यसलाई गम्भीर रूप मै लिए जस्तो लाग्यो र उहाले वडाको सिफारिस सहित मलाई भेट्नुस भन्नु भयो। म वडा अध्यक्षलाई भेट्न वडा कार्यालयमा गएं, मेरो घरबाट हाम्रो वडा कार्यालय, जिल्ला सदरमुकाम भन्दा टाढा पर्छ र अपायक पनि, तै पनि त्यहा पुगेर निवेदन गरे पछि आवको शुरू मात्र हुदैछ खानेपानीको पाईप छैन भन्ने कुरा वडा मै चर्चा थियो तर पनि सिफारिश प्राप्त गरें र माननीय सांसदको तोकका लागि २/३ दिन कुरे तर माननीयको ब्यस्तताले होला मैले भेट पाईन र उहाले फोन गरेर भन्नु भयो कि म बिजी भएर सदरमुकाम तिर आउन सकिन म मेयर साहेवलाई फोन गरी दिन्छु उहालाई भेट्नु।
म फेरि मेयर संग भेट्ने जमर्को तिर लागें तर उनी पनि झनै बिजी , कहिले कुन कार्यक्रममा कहिले कुनमा, केवल फोन मै कुरा भयो र उनले भने निवेदन पिए लाई दिनु म पिएलाई भनी दिन्छु भनेर। यस्तो छ जन प्रतिनिधिहरूको ब्यस्तता! यो ब्यस्तता कस्तो किसिमको होला? सेवाग्राहीहरूलाई समय दिन नसक्ने ब्यस्तता! त्यस पछि मेयर साहेव संग फोनमा सम्पर्क भयो, सम्पर्क हुदा स्टोर किपरलाई भेट्ने भन्नु भयो र त्यहां गएर निवेदन हेर्दा २५ एम एमको २०० मीटर पाईप दिने गरी तोक लगाईएको रहेछ। हाम्रो लागि आवश्यक पर्ने पाईप ३२ एम एम को ६०० मिटरको थियो तर दिने भए २५ एम एम को २०० मीटर मात्र। हामीलाई उक्त दिने भनिएको पाईप नखाऊ भने दिन भरीको सिकार खाऊ भने कान्छा बाऊको अनुहार जस्तो भन्ने उखानलाई चरीतार्थ गर्ने किसिमको भयो। यो त एउटा उदाहरण मात्र हो, हाम्रा विकास सम्वन्धी हरेक चाहनाको हविगत यस्तै हो- कनिका छरे जस्तो।
बिज्ञापन
राजनीति भनेको राज्यले लिने नीति हो त्यसैले यो सर्वोत्कृष्ट नीति हो। देशले अख्तियार गर्ने अन्य नीतिहरूको मार्ग दर्शक राजनीति हुनु पर्छ। राजनीति जनताका सुख दुःख संगै हिड्न सक्नु पर्छ। जनताका दैनिक सरोकारका विषय संग राजनीति जोडिन नसकेमा राजनीतिले जनताको साथ पाउन सक्दैन।विश्वको राजनीतिक ईतिहांस हेर्दै जादा जनताको साथ पाउन नसकेका राजनीतिक विचारहरू यथेष्ट रूपमा पाउन सकिन्छ। उदाहरणका लागि १९९० को दशक पछि कट्टर र अधिनायकवादलाई जनताले तिरस्कार गर्दै आएका छन्, सैनिक तानाशाहहरूलाई विश्वले रूचाएको पाईदैन, सकृय राजतन्त्र ईतिहांसको गर्भमा पुगी सक्यो। प्रजातन्त्रको नाममा आएका तानशाहहरूको पतन क्रमशः भै रहेको छ। साम्यवादको सपना देखेका तानशाहहरू पनि आर्थिक उदारवादमा आएर आफ्नो अस्तित्वको रक्षा गरी रहेको पाईन्छ। त्यसैले यो जमाना अधिनायकवादिताको नभएर उदारवाद र बजारमुखी अर्थतन्त्रको हो, नागरिक अधिकार र लोकतन्त्रको हो। यसैले हरेक देशका राजनीति यही मूल्य र मान्यतामा आधारित हुनु पर्छ।
राजनीति सकारात्मक हुनुको पछाडि यसलाई जीवन दिने नेताहरू ईमान्दार र अनुशासित हुनु पर्छ तर हाम्रा नेताहरू आफैले लोकतान्त्रिक चरीत्र देखाउन सकेका छैनन्। आर्थिक उदारता, लोकतान्त्रिक आचरण र मानव अधिकारका कुरा भाषणमा मात्र भट्याउने विषय हुन् भने जस्तो गर्छन् नेताहरू। नेताहरूका यस्ता नक्कली ब्यबहारले राजनीतिलाई समाज सेवामा रूपान्तरण गर्न सक्दैन र यस्तो राजनीतिले विकास संग हातेमालो गर्न पनि सक्दैन।