मलद्वारका रोगीहरु रोग लुकाएर पिल्सिएर बसेका छन् : डा.सुवर्ण पौडेल

आयुर्वेदिक उपचार पद्धति पुरानो उपचार विधि हो । आयु र वेद दुई शब्द मिलेर नै आयुर्वेद बनेको छ । जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अध्ययन गर्ने विषय नै आयुर्वेद हो । यसको मुख्य उद्देश्य नै स्वस्थ मानिसलाई अझ कसरी राम्रो स्वास्थ्यमा राख्न सकिन्छ र बिरामीलाई कसरी निरोगी बनाउन सकिन्छ भनेर अध्ययन अध्यापन, खोज हुने विधा नै आयुर्वेद हो । कसरी आम नागरिकको जीवनलाई स्वस्थ बनाउने । त्यसका लागि के गर्न सकिन्छ भन्ने कुरा आयुर्वेदमा पाइन्छ ।

बिज्ञापन

अहिले विज्ञानको जमाना छ । जहाँ पनि प्रमाण चाहिने भएकाले देखाउनुपर्छ । तर, आयुर्वेदमा पर्याप्त अध्ययनहरु भएको छैन । अपग्रेड गर्ने काम भएको छैन । त्यसैले आयुर्वेद पछाडि परेको छ । एलोप्याथिक अहिले यति माथि जानुमा त्यसको प्रथम विन्दु नै आयुर्वेद हो । ब्रम्हाले मान्छे मात्रै उत्पत्ति गरेनन् सँगसँगै उपचारका लागि भनेर आयुर्वेदको पनि रचना गरेका थिए । एलोप्याथीको जड नै आयुर्वेद हो ।

बिज्ञापन

अहिले आयुर्वेद प्राइमरी प्राथमिकतामा पर्न नसक्नुमा यो क्षेत्रमा एलोप्याथीमा जस्तो लगानी नहुनु, आयुर्वेदबारे राम्रो ज्ञान र शिक्षा एवं म्यानपावरको कमी हो । जस्तो : झाडापखाला लाग्यो भने अस्पताल जाउ भनेर जनचेतनामूलक विज्ञापन सरकारले नै गरेको छ ।

तर, कतै पनि आयुर्वेदको विषयमा सरकारले कुनै एउटा प्रचार गरेको छ र ? अन्य क्षेत्रबाट पनि आयुर्वेद तल परेकै छ तर सरकारी स्तरबाट पनि यसलाई अपहेलित गरिएको छ । जसका कारण नै जुन रफ्तारमा एलोप्याथीको विकास विस्तार भयो त्यसमा आयुर्वेदको हुन नसकेको हो । तर नराम्रो भन्ने पनि होइन ।

बिज्ञापन

परामर्शविना जडीबुटी खान मिल्छ ?

हामी त पढेर डाक्टर बन्यौं तर कतिपय त परम्परागत रुपमै वैद्य हुनुहुन्छ । जसलाई यो विधामा ज्ञान छ । त्यस्ता वैद्यहरुले दिएको औषधि खान वा प्रयोग गर्न मिल्छ । हामी खोकी लाग्दा ज्वानोपानी पिउँछौं । परापूर्वककालबाटै नुन खाने, खोकी लाग्दा बेसार पानी खाने गर्दै आएका छौं । यसका लागि डाक्टर कहाँ जानुपरेन । तर कतिपय विरुवा यस्ता पनि छन् जसमा वीष हुन्छ ।

प्रशोधन नगरी प्रयोग गर्नै हुँदैन । गाउँघरमा सामान्य जडिबुटीहरु खाने कुरा सामान्य रहे तर अहिले बजारमा एवम् बाटोबाटोमा बेच्ने आयुर्वेदिक ओखती खाँदा एकचोटी डाक्टरसँग सोध्नुपर्छ । कसैले भनेकै भरमा खानु हुँदैन त्यसको औषधीय गुण र अवगुणबारे राम्रोसँग जाँचबुझ गरेर मात्रै प्रयोग गर्न मेरो सल्लाह छ ।

मलद्वारमा लाग्ने रोग कति घातक ?

मुख्यतया यहाँ जनचेतनाकै कमी देखिन्छ । जति पढेको बुझेको भए पनि एक पोइन्टमा पुगेर उनीहरु मलद्वारमा लाग्ने रोगबारे खुलेर कुरा गर्न चाहँदैनन् । मानिसहरु खाने मुखको लागि कति धेरै स्याहार गर्दछन् तर मलद्वार जस्तो महत्वपूर्ण अंगको बारेमा बुझ्न, जाँच गराउन भने हिच्किचाउने गर्छन् ।

मुखलाई बिहान उठेर धुने, दाँत ब्रस गर्ने गरेजस्तै आफ्नो मलद्वार पनि सफा र सुरक्षित छ कि छैन भनेर ध्यान दिनुपर्छ । हरेक व्यक्तिले पायल्स, फिस्टुला, फिसर छ कि छैन भनेर जाँच गर्ने गर्नुपर्छ ।

मानिसलाई जीवन छउन्जेल मलद्वार चाहिन्छ भने खाने मुखको स्याहार गरे झैं त्यसको पनि स्याहार गर्नु आवश्यक पर्छ । मैले कतिपय विरामीको मलद्वार हेर्ने क्रममा दिशा समेत राम्ररी नधोएको पाएको छु ।

कति हेला गर्छन् मानिसहरु मलद्वारलाई ! एक त ज्ञान भएर पनि डाक्टरकोमा जचाउन नजाने अनि मलाई क्यान्सर नै भयो कि भनेर भित्रभित्रै पिल्सिँदै बस्ने प्रवृति बिरामीहरुमा बढी देखिन्छ ।

अज्ञानता भन्दा पनि मलद्वार कसैले देख्दैन जे गरेपनि हुन्छ भन्ने मानसिकता देखिन्छ । त्यसैले मलद्वारमा के हुन्छ र भन्ने मूर्खतापूर्ण रुपमा हेलाँ गरिरहेको पाइन्छ । जुन विलकुल गलत हो । मलद्वार फोहोर ठाउँ हो । यसमा भाइरसहरु हुन्छ भनेर बढी सरसफाई गर्नुपर्छ भोलि कुनै रोग पो लाग्ने होकि भनेर चेक गराउन जानुपर्नेमा मलद्वार हो रोग लागेपनि देखिँदैन भनेर १० वर्षदेखिको समस्या लिएर बसेका हुन्छन् मानिसहरु । यो जनचेतनाको कमीले पनि होइन धेरै नै लापरवाही गरेका कारणले हो ।

मलद्वारमा हुने समस्याहरु अन्तरगत बढी मात्रामा फिसर, पायल्स, फिस्टुला पोरल्याब्स, प्यापिला, पोलिप र क्यान्सरसम्मका बिरामीहरु हुन्छन् । मेडिकलकै हिसावले पनि फिसर चाँही अत्यधिकलाई हुने गर्दछ । त्यो भनेको मलद्वार च्यातिनु वा फाट्नु हो । धेरै बल गरेर दिशा गर्दा मलद्वार फाट्न सक्ने समस्या बढी हुन्छ । त्यो भनेको छोटो समयमै हुने समस्या पनि हो ।

म कहाँ मलद्वार च्यातिएर, दुखेर,रगत बग्ने समस्या भएको बिरामी धेरै आउनुहुन्छ । त्यसपछि पायल्सको बिरामी धेरै हुन्छन् । पायल्स भनेको नशाहरु पेलिएर पोको परेको वा नशाहरुको गुच्छा हो । लामो समयसम्म कब्जियत भएकाहरुले बल गरेर दिशा गरिराख्नाले समस्या आउने गर्छ ।

मोटोपन, प्रोस्टेटको समस्या भएका तथा टुसुक्क बसेर गह्रौं भारी बोक्ने मानिसहरुलाई पनि पाइल्स हुनसक्छ । तेस्रोमा फिस्टुलाका बिरामी पर्छन् । फिस्टुला भनेको मलद्वारको भित्र विविध कारणले इन्फेक्सन भएर बाहिर डण्डीफोरजस्तो आउने, फुट्ने, पिलो जस्तो आएर पिप बग्ने तथा कहिलेकाँही रगत नै बग्ने पनि हुनसक्छ । यो मात्र होइन रेक्टर पोरल्याप्स भन्छौं । गाउँघरमा बेर्नो झर्ने समस्या भनेर बुझ्छन् । प्यापिला, रेक्टर पोलिपका बिरामी हामीकहाँ धेरै आउने गर्छन् ।

महिला र युवा पायल्सको समस्या धेरै

अधिकांश महिलाहरुमा पायल्सको समस्या बढी देखिने गर्छ । महिला गर्भवती भएको समयमा उल्टी हुने, खान मन नलाग्ने जस्ता कारणले शरीरमा पानीको मात्रा कम हुने गर्छ । सुत्केरीपछि पनि ज्यादा फाइबरयुक्त खाना खाने तर पानी, सागसब्जी खान नदिने चलन छ । माछा, मासु र गरम मसला खुवाउने गर्नाले कब्जियतको कारणले फिसर, फिस्टुला हुने गरेको धेरै देखिन्छ ।

पुरुषको केशमा अत्यधिक मात्रामा मदिरा सेवन, तनाव, खानपिनको कारण पनि पायल्स हुने गरेको छ । कम निद्रा लाग्ने, समयमा खाना नखाने तथा ड्राइभ धेरै गर्ने पुरुषलाई बढी पाइल्स हुने गरेको मेरो अनुभव छ । हामीले पढ्दा ४० वर्ष कटेपछि बढी मानिसहरुलाई मलद्वारको समस्या आउँछ भनेर पढेका थियौं तर युवालाई अहिले बढी मात्रामा यस्तो समस्या देखिएको छ ।

आजभोलि युवाहरु मःम, चाउमिन, चाउचाउ, जुनसुकै बेलामा पनि चटपटे, पानीपुरीलगायतका स्पाइसी खानेकुरा मात्रै खाने गरेको पाइन्छ । खाना टाइममा नखाने, रातभरी नसुत्ने, घन्टौं फोन चलाउने, ट्वाइलेटमा समेत घण्टौंसम्म मोवाइल चलाएर बसिराखेका हुन्छन् । उसलाई पायल्स समस्या नभए कसलाई हुन्छ ? २०–२१ वर्षका युवा ४५ वर्षमा मानिसको जस्तो मलद्वार बनाएर आउँछन् । यो वा त्यो उमेर समूह, महिला, पुरुष भन्दा पनि सबैलाई समस्या देखिएको छ ।

उपचार विधि 

पायल्सकै कुरा गर्दा यसको चारवटा अवस्था हुन्छन् । भित्री–बाहिरी पाइल्स गरी दुई वटा हुन्छन् । भित्री पाइल्समा पनि चारवटा अवस्था छ । त्यो भनेको फस्ट, सेकेण्ड, थर्ड र फोर्थ ग्रेड हो । फस्ट ग्रेडमा कहिलेकाहीं दिशा साह्रो भएर रगत गयो भने औषधिले काम गर्छ ।

सेकेण्डमा दिशा गर्दा मासु आफैं बाहिर आउने र जाने हुन्छ । त्यसमा आयुर्वेदिक औषधोपचारले राम्रोसँग निको पार्न सकिन्छ । थर्डमा र फोर्थ ग्रेडमा गएपछि हामी क्षारसूत्र र क्षारकर्मद्वारा उपचार गराउँछौं । यो विधिको प्रभावकारिता निकै राम्रो छ । उपचार गर्दा मलद्वारमा नदुख्ने सुई लगाएरसजिलै उपचार गर्न सकिन्छ ।

यसको शैल्यक्रिया भनेको चाहीं बिरामीको अवस्थामा निर्भर गर्ने कुरा हो । पायल्सका कारण जब रगत बग्न थाल्दछ त्यो निकै धेरै मात्रामा हुनेगर्छ । एक दिनमै एक पाउण्ड रगत जान्छ ।

छ–सात दिनमै रक्तअल्पता हुनेसम्मको जोखिम चाँही रहन्छ । रक्तअल्पता भयो भने मानिसमा दम बढेजस्तो हुने, शरीरमा तागत नहुने, उठ्नै नसक्ने र अन्त्यमा मानिस नै नरहन सक्ने अवस्था हुनसक्छ ।

पायल्सलाई लापरवाही गर्यो भने धेरै गाह्रो हुन्छ । हामीले यस्ता बिरामीलाई धेरै मात्रामा क्षारकर्म विधिबाट उपचार गर्छौं । मलद्वारमै उपचार गर्दा दिशा वा पिसाप गर्दा दुख्नु, पोल्नु स्वाभाविक कुरा हो तर, क्षारकर्म विधिबाट उपचार गर्दा बिरामीलाई दुखाई कम हुने गरेको बताउँछन् । हप्ता दश दिन गा¥हो हुन्छ त्यसपछि धेरै सजिलो हुन्छ ।

हामीले संचालन गरेको मेदान्त आयुर्वेद हेल्थ होममा मलद्वारसम्बन्धी पाइल्स, फिसर, फिस्टुला, हाडजोर्नी, नशा च्यापिएकोलगायत माइग्रेन, पिनाश जस्ता विविध समस्याहरुले लिएर विरामीहरु आइरहनु भएको छ । त्यसका लागि होममा उपलब्ध विशेषज्ञले फरक फरक सेवा प्रदान गर्नुहुन्छ ।

(काठमाडौं कलंकीस्थित मेदान्त आयुर्वेद हेल्थ होममा कार्यरत डा.पौडेलसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।