इलाममा हामीले पाएको मत ५०५० पहिलाभन्दा चार गुणा बढेको छ । तर, जमानतै जफत हुने स्थिति आउँदा कसरी खुशी हुनु ? त्यतिधेरै ऊर्जा लगायौं । अभियानै चलायौं तर परिणाम दु:खद । किन यस्तो जनमत आयो ? विगतमा हामीले गरेको कुरा र अहिलेको व्यवहार, सरकारमा जाने÷नजाने कुरा, हाम्रा नेताहरू नै जोडिएर आएका समाचारका विषयवस्तुको अलावा उम्मेदवार छनौटलगायत विविध कारण छन्, यो परिणाम आउनुमा । तनहुँको उपचुनाव स्वर्णिम वाग्लेले ३४ हजार ९१८ मत ल्याएर जित्नुभयो । अहिले इलाममा सम्पूर्ण दोष उम्मेदवारलाई लगाएर हामी उम्कन मिल्दैन । पार्टीले छनौट गरेको र स्वामित्व लिएको उम्मेदवार भएका कारण समीक्षाचाहिँ गर्नुपर्छ ।
बिज्ञापन
सत्ता नै सबै कुरा होइन रहेछ । आफ्नो चरित्र शुद्ध बनाउनुपर्ने रहेछ । इलाममा नयाँ पार्टी र पुरानो पार्टीबीच के फरक छ ? भन्ने प्रश्नमा हामी चुक्यौं । हामी दोस्रो पटक सरकारमा जाँदा हिजो हामीले भनेका र आज गरेका कुराको तालमेल नमिलेको जनताले मज्जासँग देख्न पाए । हाम्रा साथीहरू जोडिएका विवादित कुराहरू आए । अहिले सरकारमा जानु हुँदैन भन्ने धारणा राख्दै आएको हुँ । त्यसो गरिएको भए फरक चरित्र स्थापित गर्न सकिन्थ्यो । हामीले उठाउने मुद्दा र भन्नुपर्ने कुराहरू पनि फरक हुन्थे । पुराना पार्टीका मान्छेलाई हिजो गाली गर्यौं । उनीहरूबाट पार लाग्दैन भनियो तर आज तिनै मान्छेबाट पार लाग्छ भन्दै साझेदारी गर्न गइयो । गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालयमै रमाइयो । पुराना मान्छेले द्विविधामा पारिरहेका थिए ।
बिज्ञापन
नयाँले पनि त्यही थप्यौं । दोश्रो पटक सरकारमा जाने कुराले हामीलाई ठूलो व्याक फायर गर्यो । राजनीतिमा लाग्नेहरूलाई आक्षेप लाग्छन् । आरोप लगाउने, आरोप स्थापित गराउने, छानबिन कहिल्यै पनि नहुने परिपाटी छ, राजनीतिमा । हामी नयाँ पार्टी यस मानेमा फरक देखिनुपथ्र्यो तर हामी र हाम्रो पार्टीका नेताहरूमाथि आरोप लागिसकेपछि छानबिनमा सहयोग गरेर निश्कर्षमा पुर्याएको भए यो आक्षेपको भारी बोकेर हिँडिरहनुपर्ने थिएन । हाम्रै सभापतिको सवालमा सहकारीसँग जोडेर प्रश्न उठे । नेपाली कांग्रेसले संसदीय छानबिनको माग उठाइरहेको थियो । हठात संसदको हिँउदे अधिवेशन स्थगित गराइयो । हाम्रो सभापतिले आउनुहोस्, संसदीय छानबिन बनाऔं भनेर आफैं अघि लाग्नुपर्ने थियो । त्यसले हामीलाई नैतिक रूपमा थप बलियो बनाउँथ्यो । आफ्नो छानबिन टुंग्याएपछि ल, अब तिमीहरूको पनि छानबिन गरौं भन्न सकिन्थ्यो । तर यसो नगर्दा आम मान्छेले के प्रश्न उठाउन थाले भने, गल्ती थिएन भने किन छानबिनमा नगएको त ? यसको जवाफ हामीसँग छैन ।
अहिले गठबन्धनको सरकार छ । यसका आफ्नै सीमा छन् । केही राम्रा काम पनि भएका छन् । पुराना मन्त्रीहरूका विवादास्पद् निर्णयहरू खारेज र उल्टाउने काम भएका छन् । यति नै हो त परिवर्तन ? जाडोको मौसममा आफैं बस्ने घरमा दन्दनी आगो लागेको छ । त्यो आगो लाग्दा क्षणिक तातो त पाइन्छ तर एकै क्षणमा घर जलेर खरानी हुन्छ । हामी क्षणिक तातोमा रमाउने हो कि एक क्षणपछि त्यही आगोले घरबार सक्छ भनेर चिन्ता गर्ने हो ?
बिज्ञापन
राजनीतिक वृत्तमा राप्रपा र रास्वपा उस्तै देखिन थालेको टिप्पणी हुँदैछ । अहिले नै तुलना गर्नु अलि हतार होला । तर, पार्टीले सत्तालाई नै सर्वाेपरी ठान्ने, नसोचिकन सरकारमा मात्र जाने हो भने कालान्तरमा हामीलाई पनि राप्रपाकै हालतमा पुर्याउँछ । यति छिट्टै पार्टीबाट रमेश खरेलहरू बाहिरिए । नयाँ उत्साह र जोशसहित आएको पार्टीमा नयाँ–नयाँ विचार भएका मान्छेहरू आउँछन् । विचार मिल्दैन, छाड्छन् । जीवन्त पार्टीमा यो स्वाभाविक प्रक्रिया हो । तर, जे सोचेर र बुझेर आएका थिए, तिनलाई बुझाउन सकिएन । पार्टी छोड्नुको कारण समीक्षा हुनु जरुरी छ । करेक्सन गर्ने कुराहरू यथाशीघ्र सच्याउनु पर्छ ।
हिजो जसरी रास्वपाको अस्वाभाविक उदय भयो, ७ जनालाई निर्वाचित गराएर २१ जनालाई सांसद बनायो । मतकै कुरा गर्ने हो भने त एमालेसँग फुटेको मालेको पनि झण्डै हाराहारी मत आएको थियो । तर सो पार्टीबाट कोही पनि निर्वाचित भएनन् । हामी पनि त्यही र उस्तै लहरो, पानीढलोबाट आएका हौं । समाजबाट बाहिरतिर लाग्न थाल्यौं, आफ्नो चरित्र जोगाउन सकेनौं भने भोलि राप्रपाकै हालतमा पुग्छौं । त्यस्तै चरित्र बोकेको अर्काे पार्टी र व्यक्ति आउँछ । थोरै शक्ति आउँदैमा, सामथ्र्य पाउँदैमा धरातलै फेरियो भनेजसरी प्रस्तुत हुनु भएन । हिजो हामीले भनेका कुराहरू नै फरक हुन्छन् भन्न थाल्यौं भने सकिन्छौं । समाज त यहीं रहन्छ ।
(कुराकानीमा आधारित) ।