लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,रसुवामा तोडफोड भएको छ । आज बिहान कार्यालयमा प्रवेश गरेका काँग्रेस निकटका भातृ संगठनको टोलीले त्यहाँ तोडफोड गरेको जनाइएको छ ।
बिज्ञापन
तरुण दल,नेपाल विद्यार्थी युनियन,पार्टीका क्षेत्रीय सभापति,जिल्लाका प्रतिनिधिहरुको टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेका थिए । करिब ६०/ ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त टोलीले गरेको तोडफोडका कारण एउटा कुर्सी भाँचिएको छ भने थर्मस फुटेको जनाइएको छ ।
बिज्ञापन
विभिन्न जलविद्युत परियोजनाहरुले वातावरणीय प्रभाव मूल्यांकन नै नगरी काम गरिरहेको र त्यसमा निकुञ्जले सघाएर केही कर्मचारीहरु मोटाउँदै आएको काँग्रेसीहरुको आरोप छ । विभिन्न जलविद्युत परियोजनाहरु निर्माणका क्रममा स्थानीयहरुको घर जग्गा नै जोखिममा पर्ने गरी काम गर्दा समेत निकुञ्ज निरिह देखिएको उनीहरुको आरोप छ । आफूखुसी आइइए गरेको,पालिकाहरुसँग समन्वय नगरेको,कोषको रकम मनलाग्दी ढंगले खर्च गरेको,मनलाग्दी कर्मचारी भर्ती गरिएको लगायतको बिषयमा काँग्रेस निकट भातृसंगठनहरुले आपत्ति जनाउँदै आएका छन् ।
निकुञ्जको कार्यालयका थर्मस र कुर्सी तोडफोड गरे पछि यही समूह अहिले प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय,धुन्चे पुगेको छ । प्रमुख जिल्ला अधिकारी खनालले दुबै पक्षलाई राखेर समन्वय गर्ने प्रयास भइरहेको कर्मचारी प्रेसलाई बताए ।