‘नेपाल प्रहरीलाई मालपोतको एउटा अधिकृतलाई जति पनि अधिकार छैन’

नेपाल प्रहरीले अपराध अनुसन्धान र मुद्दा अभियोजनका निम्ति तयार पार्ने टोली, जसलाई ‘सोको’ भनिन्छ, जागिरे जीवनको शुरुवातदेखि अवकाश पाउने दिनसम्मै रहेर काम गरेका अफिसर हुन्, जगन्नाथ खनाल । अहिले सुन काण्ड, नक्कली भुटानी प्रकरण, ललिता निवास, बाँसबारी जग्गा प्रकरणसहितका घटनामा भएका प्रहरी अनुसन्धान प्रश्नको घेरामा पर्ने स्थिति छ । नेपालको अपराध जगतमा बहुचर्चित र लामो समय रहस्यभित्र परेको रानीबारी हत्याकाण्डमै पनि यस्तो भएको थियो । कहिले राजनीतिक त कहिले प्रहरी नेतृत्वको दबाबमा अनुसन्धान हुँदै, रोकिँदै अन्ततः १२ वर्षपछि सुल्झिएको घटना थियो त्यो । त्यसबेला उनी हनुमानढोकास्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा थिए । जागिरको अधिकांश समय ‘केरकार’ मा व्यतित गरेका खनाल रानीबारी हत्याकाण्डसहित सिफलमा मारिएका सांसद मिर्जा दिलसाद बेगलगायतका घटनाको अनुसन्धानमा कहलिएका थिए । कैलाली जिल्लाका बासिन्दा उनले भूपू भएपछि कानुन व्यवसायीका रूपमा काम गरिहेका छन् ।

बिज्ञापन

 कुनै पनि वारदातको अनुसन्धान हुँदाहुँदै फाइल खुल्ने र बन्द हुने कारण के हुन सक्छ ?
– फाइल खुल्दा अभियुक्तलाई शंकारहित किसिमले प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसमा अनुसन्धान गर्दै जाँदा निर्दोष हो कि भन्ने लाग्यो भने फाइल बन्द हुन्छ । फौजदारी कानुनको साधारण सिद्धान्त दश जना अपराधी छुटुन्, एक जना निर्दाेष व्यक्ति पक्राउ नपरुन् भन्ने छ । अनुसन्धान गर्दै जाँदा अपराधी छुटे भनेर प्रहरीलाई त्यति पछुतो लाग्दैन जति निर्दाेष मान्छेलाई हिरासतमा लिँदा हुन्छ । फाइल बन्द भनेको पेन्डिङमा राखिनु लामो समय निगरानी गरिरहनु हो । सरकार वा प्रभावशाली व्यक्तिको प्रभावमा पनि कहिलेकाहीँ फाइल क्लोज गर्नुपर्ने परिस्थिति आउँछ । प्रहरीको वृत्तिविकास राजनीतिक नेतृत्वको हातमा हुन्छ । प्रमोसन वा आकर्षक ठाउँमा सरुवा पाइने लोभमा नेताप्रति उत्तरदायी हुँदा कतिपय अवस्थामा फाइल खुल्ने वा बन्द हुने हुन्छ । समग्रमा फाइल क्यान्सिल त हुँदैन तर निगरानीमा त रहेकै हुन्छ ।
 रानीबारी हत्याकाण्डपछि अनुसन्धान गर्नुपर्छ र घटनालाई दबाउनुपर्छ भनेर के–कस्ता काम भएका थिए ?
– इञ्जिनियर हेमन्त श्रेष्ठ र पत्नी अञ्जलीको ०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भयो । घरबेटी गीता खड्कालाई टार्गेट गरिए पनि भाडामा बस्ने इञ्जिनियर दम्पत्तिको हत्या भयो । अनुसन्धानबाट हामी अपराधीको नजिक नजिक पुगेका हौं । यो फाइल रोक्नुहोस्, बन्द गर्नुहोस् भनेर मन्त्री, नेता वा समाजबाट हामीजस्ता कारिन्दालाई दबाब आउने कुरा भएन । जति पनि आदेश वा दबाब कार्यालय प्रमुख वा इञ्चार्जलाई आउने हुन् । तत्कालीन हाकिमको हाउभाउबाट हामीले केही कुरा बुझ्छौं तर सबै कुरा भनिँदैन । जे प्रेसर आउँछ, प्रमुखबाटै आउने हो । म यति मात्र भन्नसक्छु कि हामी अनुसन्धानको अन्तिम चरणमा पुगेका थियौं तर अन्तिममा अगाडि नबढाउनुपर्ने स्थिति आयो ।
अहिले सुन काण्डको प्रतिवेदनका आधारमा पहिला उन्मुक्त गरिएका केही व्यक्तिलाई फेरि मुद्दा चलाउन भनिएको छ । यस्तो हुनुमा प्रहरी दोषी कि राजनीतिक नेतृत्व ?
– प्रहरी भनेको साधक मात्र हुन्, सर्वेसर्वा राजनीतिक नेता हुने गर्दछन् । प्रहरीले गर भनेको काम गर्ने र नगर भनेको काम नगर्ने हो । साँच्चै भन्ने हो नेपाल प्रहरीलाई मालपोतको एउटा अधिकृतलाई जति पनि अधिकार छैन । सुन तस्करीमा लाग्नेहरू सर्वसाधारणले सोचेजस्तो होइनन्, उनीहरूको नेक्सस माथिसम्म हुन्छ । कुनै पकेटमारले सर्वसाधारणको खल्ती काटेर पैसा निकालेजस्तो होइन यो । अघिल्लाको पालामा गरेको काम अर्काेलाई चित्त बुझ्दैन । अर्काे आउँछ र फेरि फाइल खोल्छ । यो राजनीति हो तर प्रहरीमा एकाथरी हस्बहादुर हुन्छन्, अर्काेथरी इन्कार गर्ने र आफ्नो सिद्धान्तमा अडिग रहने अफिसरहरू पनि हुन्छन् । सिद्धान्तमा अडिग रहेकाहरू प्रमोशन वा पोस्टिङमा पछि परेका हुन्छन् । तर समय, परिस्थितिअनुसार चल्नका लागि पनि बाध्य भएर एसम्यान हुनुपर्ने परिस्थिति आउँछ । कतिपय विषय आचारसंहिताले मलाई बोल्न बन्देज लगाएको छ ।
३३ किलो सुन प्रकरण होस् वा निर्मला पन्तको अनुसन्धान गरेका अफिसर र अहिले किरण बज्राचार्यहरू नै किन नहुन् । प्रहरी अनुसन्धानकर्मीउपर नै सुइ किन सोझिन्छ ?
– यसले प्रहरी अधिकृतहरूले स्वतन्त्र रुपमा काम गर्न पाउँदैनन् भन्ने नै देखाउँछ । किरण बज्राचार्य एकदमै काबिल अफिसरमा गनिएकी । व्यक्तिगत रूपमा कसैलाई कोही राम्रो वा नराम्रो लाग्ला । किरण मातहतका अफिसर के–कस्ता थिए, सबैलाई म चिन्दिनँ । त्यहाँ पनि एस्बहादुर र अडिग हुने अफिसरहरू होलान् । किरणले सुपरभिजन गर्ने मात्र हो । राजनीतिमा जोडिएकाहरूले आफ्नो स्वार्थअनुसारको काम पूरा गर्न पहिला कार्यालय प्रमुखलाई भन्छन्, तिनले टेरेनन् वा मानेनन् भने डिआइजी, एआइजीसम्मलाई प्रभाव वा आश्वासनमा पार्छन् । अनुसन्धान गरिरहेका अफिसर लोभ लालचका पछि लाग्न पनि सक्छन् । किरणलाई आरोप लगाएर सिआइबीबाट हटाउनु भनेको उहाँले गरेको राम्रो काम अरुलाई नराम्रो लागेबापतको प्रतिशोध हो भन्ने ठम्याइ हो मेरो । एक वर्षपछि रिटायर्ड भएर घर जानुपर्ने मान्छेलाई नेता र मन्त्रीहरूको दबाब, प्रभावको के अर्थ हुन्छ ?
सहकारी ठगीमा मुछिएका रवि लामिछाने गृहमन्त्री छन् । उनले आफ्ना मुद्दा पदमा बसेर मिलाउन खोजेका छन् भन्ने चर्चा छ । यदि, उनले कसुर गरेकै हुन् भने गृहमन्त्री भएकै नाममा चोखिन सक्लान् ?
– चोखिनै त नसक्लान् तर गृहमन्त्रीको कुर्सीमा रहुञ्जेल नेपाल प्रहरीले उनलाई कारबाही गर्नै सक्दैन । गृहमन्त्री र गृहसचिवको हातमा प्रहरीको वृत्ति विकासदेखि मूल्यांकनसम्म हुन्छ । जस्तो :- म ट्राफिक प्रहरीको सिपाही हुँ । मेरो आइजीलाई चिनेको छु । उहाँले ट्राफिक रुलविपरीत हेल्मेट नलगाई मोटरसाइकल चलाउनुभएको छ भने पनि समात्न र रोक्न सक्दिनँ ।
सुनकाण्ड, ललिता निवास जग्गा काण्डमा प्रहरी अधिकारीहरू नै नराम्ररी चुके भन्दै छन् एकाथरी प्रहरी, मान्नुहुन्छ यो कुरा ?
– ललिता निवास काण्डमा हामीले भनेजति हुन सकेको छैन । यसमा कत्ति पनि हुँदै नहुनुभन्दा केही शुरुवात भएको छ । किरण बज्राचार्यलाई त्योभन्दा माथि जाने ठाउँ थिएन । त्यही कारण उहाँले यस्ता प्रकरणमा अनुसन्धान थाल्ने आँट गर्नुभयो । यदि, अझै प्रमोसन हुने, राम्रो ठाउँमा पोस्टिङ हुने रहर र ठाउँ हुन्थ्यो भने उहाँले पनि यति साहस गर्न सक्नुहुन्नथ्यो होला भन्छ मेरो २९ वर्षको जागिरे अनुभवले ।
रानीबारी घटनाजस्तै निर्मला हत्याकाण्डको अनुसन्धान पनि रहस्यमय बन्दै गएको छ । ती दुई घटनाको अनुसन्धानका समानता के हुन सक्छन् ?
– कतिपय अनुसन्धान च्यानलबाट रिपोर्टिङ नभएर पनि मुद्दा दायर हुँदैनन् । हाम्रा राजनीतिक नेतृत्वले प्रहरी प्रशासनलाई स्वतन्त्र रुपले काम गर्न दिन्छु भनेर मुखले जति खोके पनि व्यवहारमा त्यस्तो देखिँदैन । नेपाल प्रहरी अनुसन्धानमा कमजोर छैन । यदि निस्वार्थ ढंगले काम गर्न दिने हो भने एकसे एक काविल अफिसर छन् । रवि लामिछानेले प्रहरीलाई सिष्टममा ल्याउँछु भन्नुहुन्छ । कसले रोकेको छ ? अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कसले छेकेको छ ?
 प्रहरीको जागिर सकेर वकिलका रूपमा काम गर्न थाल्नुभयो । कस्ता–कस्ता मुद्दा आउँछन् ?
– जागिर शुरु गर्नुभन्दा अगाडि ५ वर्ष वकालतै गरेको हो । बीचमा २९ वर्ष नेपाल प्रहरीमा जागिर खाएँ । अहिले अधिकांश मुद्दा सम्बन्धविच्छेद, अंशसम्बन्धी, साइबर क्राइमका बढेको देखिन्छ । २९ वर्षमा २५ वर्ष अनुसन्धानमा काम गरेँ । यो बीचमा अरुले लगाएका वा अह्राएका कामबाहेक आफ्नो स्वविवेकले केही काम गरिनँ र गर्न पाइनँ । कुनै कानुनको दफा लगाउँदा अहिले श्रीमान्सामु बहस गरेजस्तै त्यतिबेला हाकिमलाई सुनाएर सम्झाएर गर्नुपथ्र्याे । अहिले आफ्नो योग्यता र क्षमता देखाउन पाएको छु, यसैमा एकदमै खुशी छु । प्रहरीमा जहिल्यै प्रेसरमा काम गर्नुपर्ने, प्रकाश (प्रहरी कार्यालय सहयोगी) देखि आइजीसम्मैले । काविल अफिसरहरूले जागिर खाएकादेखि रिटायर्ड नहुँदासम्म क्याबी बिदासम्म लिन पाउनुभएको छैन होला । प्रहरीमा स्वविवेक प्रयोग गर्न पाइन्नथ्यो । लगाए÷अह्राएका काम मात्र गथ्र्यौं । अहिले स्वविवेक प्रयोग गर्न पाइन्छ ।
पहिलाको तुलनामा अहिलेको समाजमा हुने अपराधका भिन्नता के–के हुन् ?
– पहिला अपराधीहरूले मात्र अपराध गर्थे र उनीहरू डराउँथे पनि । अहिले कसैको आड, भरोसा वा पावरको भरमा जोसुकैले अपराध गर्छन् । अपराधी नै प्रमाणित भइसकेपछि नेताहरूले सिधै प्रेसर गर्दैनथे, अप्रत्यक्ष गर्थे । अहिले त सिधै मेरो पार्टीको मान्छे हो, अनुसन्धान नगर्नुहोस् है । छाडिदिनोस् भन्न कुनै हिचकिचाहट गर्दैनन् ।
२९ वर्षसम्म जागिर खाएको प्रहरी संगठनका आजका क्रियाकलाप कस्तो लाग्छ ?
– आज–भोलिको क्रियाकलापमा त्यति सन्तोष छैन । पढेलेखा योग्य, इमान्दार अफिसरहरू छानिनुभएको छ तर सिद्धान्तमा अडान लिन नसकेर पावरले जे भन्यो त्यही मान्ने प्रवृत्तिले गर्दा स्टङोङ हुन नसकेको देख्दै छु । एसम्यानहरूबाट संगठनलाई राम्रो हुँदैन । पहिला एउटै मात्र संगठनले देशमा शान्ति–सुरक्षा कायम राखेको थियो । अहिले सशस्त्र, नगर प्रहरी छन् । साह्रै असन्तोष लिने ठाउँ त छैन तर मानव अधिकार सुरक्षा र देशमा शान्ति सुरक्षा कायम गर्नका लागि कानुनले अधिकार पाएको नेपाल प्रहरीबाहेक अर्काे संगठन छैन । कुनै न कुनै अफिसरले त्याग गर्नैपर्छ, कानुनबाहेकका काम गर्दिनँ, पद र जिम्मेवारीबाट बलिदान दिन तयार छु भन्ने भावना जागृत हुनपर्छ । नेपाल प्रहरीलाई स्ट्रोङ बनाएको खण्डमा मात्र मुलुकमा शान्ति, सुरक्षा हुन्छ । शान्ति सुरक्षा भएको खण्डमा मात्र देशमा उन्नति हुन्छ । अहिले देशमा उन्नति नहोस् र सदैव धमिलो भइरहोस् भन्ने किसिमको चाहना छ र नीतिगत भ्रष्टाचार भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष