कार्य व्यवहारमा आध्यात्मिकताको महत्व र सार्वजनिक प्रशासनमा यसको सान्दर्भिकता

र्तमान समयमा मानिसको ठूलो रोग आन्तरिक व्यक्तिगत मूल्य, प्रवृत्ति, श्रेष्ठ भावनाको लागि वाह्य साधन, व्यक्ति र वस्तुमा खुशीको खोजी गर्नु रहेको छ । राम्रो सोचाई जीवनशैलीको एक आधार हो तर यो मात्र सम्पूर्ण भने होइन । जति राम्रो सोचाइको आवश्यकता छ त्यति नै श्रेष्ठ कर्मको पनि महत्व हुन्छ । दोस्रो, व्यक्ति वा अन्य वस्तुको प्राप्तिले मात्र हामीमा स्थायी प्रसन्नता उत्पन्न गर्न सक्दैन । वाह्य पक्षहरुले हाम्रो जीवनमा योगदान, मार्गदर्शन र प्रेरणा त प्रदान गर्न सक्लान तर प्रसन्नतामा मौलिकता प्रदान गर्ने उत्तरदायित्व व्यक्ति मै निर्भर रहेको हुन्छ । मानिसले जीवनको सार्थकता, मूल्य र महत्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकी कठिनाइ र समस्याहरुले जीवनको यात्रालाई कठीन बनाउछ तर समाधान आफैबाट खोजिनु पर्दछ ।

बिज्ञापन

वर्तमान समयमा मानिसको जीवनका प्रत्येक कदमहरु संकट, समस्या र निराशापूर्ण बनेका छन् । यसको समाधान कसरी गर्ने । स्वयंलाई निराश र हतास हुनबाट कसरी बचाउने ? यी प्रश्नको समाधान केवल आफै भित्र आध्यात्मिकता को खोजीबाट मात्रै संभव छ । आफ्नो चेतना जागृत बनाउन ‘स्व’ को ज्ञानको आवश्यक हुन्छ । आध्यात्मिक ज्ञानले मानिस भित्र सकारात्मक चिन्तन उत्पन्न हुन्छ जसले जीवन प्रतिको यथार्थ दृष्टिकोण विकास गर्नमा सहायक सिद्ध बन्दछ । यो नयाँ विकसित आध्यात्मिक ज्ञानले जीवनमा उत्पन्न हुनसक्ने नकारात्मकता र यसबाट सिर्जित हुने कष्टलाई कम गराउनमा सहयोग पु¥याउछ । स्वयं प्रति बढी भन्दा बढी सकारात्मक दृष्टिकोणको उत्पत्ति गराउदा हाम्रो मनोवृत्ति अरु व्यक्ति र अन्य परिस्थिति प्रति पनि सकारात्मक बन्न पुग्दछ । वर्तमान समयको माग यो हो कि मानिसले आफ्नो आन्तरिक शक्ति को विकास आफैबाट गर्न सक्नु पर्दछ किनकी जीवनलाई प्रभावित गर्ने वाह्य पक्षले जीवनलाई चुनौती दिदै भ्रम उत्पन्न गरिरहेका छन् । यसर्थ आन्तरिक शक्ति नै आध्यात्मिक व्यक्तिको लक्षण हो यसबाट जीवनमा सन्तुष्टता मात्र प्राप्त हुने होइन कि जीवनको सार्थकताको समेत स्पष्ट अनुभूति हुन पुग्दछ । आध्यात्मिक शक्तिको कारणले निराशाको क्षणलाई आशा तथा अन्धकारमा सदा प्रकाशको अनुभूति हुन्छ । आध्यात्मिक शक्तिको अनुभवले जीवन र जगतलाई फरक ढंगले हेर्ने र सकारात्मक परिवर्तन गर्ने चाहना राखेको हुन्छ । यो आन्तरिक शक्तिको अनुभूतिले मानवीय सम्बन्धमा प्रेम, शान्ति, प्रसन्नतालाई सत्यतापूर्वक प्रयोग गर्न सक्ने शक्ति प्राप्त हुन्छ । यसर्थ आध्यात्मिक शक्तिको अनुभवको लागि सत्यता अति आवश्यक हुन्छ आचरण र व्यवहारमा देखावटीपन र कृतिमताले पूर्णताको अनुभव हुन सक्दैन । वनावटी व्यवहार आन्तरिक रिक्तता र अधिक स्वार्थवृत्तिको लक्षण हो । कसैको बारेमा एउटा निश्चित आधारमा सोच्ने अधिक चासो लिने बानीले निर्भरता, अभाव आवश्यकता र क्षमा जस्ता प्रवृत्ति उत्पन्न हुन जान्छ ।

बिज्ञापन

आध्यात्मिक जीवनको प्रारम्भ विन्दु स्वयमको बारेमा यथार्थ ढंगले सोच्ने र सचेत रहनु हो आफू भित्र सकारात्मक एवं नकारात्मक संकल्पको परीक्षण र पहिचान गर्नु नै स्वयमको बारेमा यथार्थ जान्नु हो । स्वयममा विद्यमान सत्य आध्यात्मिक पहिचानको स्वीकार गर्न सकेमात्र कुनै वहाना अथवा परिवर्तनको भय विरुद्ध लड्न सक्ने साहस सहज ढंगबाट आउन थाल्दछ । जीवनमा श्रेष्ठताको लागि प्रवृत्ति, भावना तथा अभिप्रायमा शुध्दता आवश्यक हुन्छ । सबभन्दा महत्वपूर्ण कुरा यो हो कि स्व को मौलिक गुण अविनाशी छ जसलाई मानिसले प्रायः अस्वीकार गरेको पाइन्छ । स्व मा निहीत अविनाशी गुण नै मानिसको मनुष्यताको गरिमाको आधार हो । यो अविनाशी गुण नै दिब्यता हो र यहि दिब्यताले नै मानिसलाई महामानव वनाइदिन्छ । यसर्थ आध्यात्मिक व्यक्ति हुनुको अर्थ जीवनको हरेक गतिविधिमा दिब्यताको अवलम्बन गर्नु हो । उत्कृष्ट मानव जीवन नै दिब्यता हो जसका मूल आधार प्रेम, शान्ति प्रसन्नता हुन् । जीवनका उत्कृष्ट वस्तु(प्रेम, शान्ति र प्रसन्नता) निःशुल्क हुन्छन् । तर निःशुल्क चीजहरुको खरीद विक्री हुन सक्दैन यसको व्यापक वितरण भने संभव छ । आध्यात्मिकताले जीवनलाई तेजस्वी र समस्या र संकटको समयमा आनन्द र प्रेमबाट पूर्णताको अनुभव गराइदिन्छ ।

आध्यात्मिकताको जानकारी र प्रयोगले जीवनमा प्रसन्नता ल्याउछ । तत्वमा जीवन जीउने कला जान्नु नै आध्यात्मिकता हो । पूजा पाठको पद्दति वा कर्मकाण्ड आध्यात्मिकता होइन । यो स्वयं र अन्य व्यक्तिहरुले अपनाउदै आएको जीवन प्रतिको संघर्ष समाप्त गर्ने उद्देश्यले अपनाइने एक सकारात्मक दृष्टिकोण हो । यसको अवलम्वनले जीवन खुशी र सुखमय बन्दछ । मानव जीवनका स्वार्थ रहित मित्रता, उद्देश्यपूर्ण जीवन र भावनात्मक सन्तुष्टता प्रसन्नताका आधारहरु हुन् । प्रसन्नता प्राप्ति वा यसको अभावको वाह्य कारणको प्रभाव होइन यो आन्तरिक विषय नै हो । उदाहरणको लागि धन न त प्रसन्नता प्रदान गर्ने साधन हो न त अप्रसन्नताको साधन । व्यक्तिको वाह्य साधन वा वस्तुहरु (धन, व्यक्ति, घटना, वस्तुको उपयोग र दुरुपयोग) प्रतिको हेराईको दृष्टिकोणले नै यसको निधारण गर्दछ ।

बिज्ञापन

आध्यात्मिक उन्नतिको लागि अपनाउन सकिने प्रकृयाहरु

१. स्वयं तथा अन्य व्यक्तिहरु प्रति सकारात्मक चिन्तनबाट दिनचर्याको प्रारम्भ गर्ने ।

२. आफ्नो संकल्प, वोली र कर्मलाई सकारात्मक बनाइ सकारात्मक जीवनशैलीको अवलम्वन गर्ने ।

३. पूर्वाग्रह र भेदभाव विना सबै व्यक्तिहरु प्रति आदरभाव प्रकट गर्ने ।

४. विविध विचार, दृष्टिकोण र संस्कृतिको वारेमा सहजतापूर्वक सुन्न सक्ने क्षमताको विकास गर्ने र आग्रह पूर्वाग्रहको भावनाको त्याग गर्ने ।

५. प्रत्येक दिन आध्यात्मिक तथा नैतिक शक्ति विकास गर्न तथा आन्तरिक शान्ति अभिवृद्धि गर्न योग ध्यान गर्ने ।

६. प्रेम, सहनशीलता, नम्रता तथा दया जस्ता आत्माका मूल गुणहरुलाई दैनिक व्यावहारिक जीवनमा प्रयोग गर्न प्रयत्नशील रहने ।

७. जीवनलाई ईश्वरको अमूल्य उपहारको रुपमा स्वीकार्ने र हर क्षण मुस्कानको अवस्थामा रहने ।

आध्यात्मिक उन्नतिका फाईदाहरु

व्यक्तिगत प्रभाव

आध्यात्मिकताको अवलम्वनले व्यक्ति विशेषमा दैनिक गतिविधि र कार्यसूचीहरुलाई उपयूक्त तबरबाट व्यवस्थापन गर्न सक्ने क्षमताको विकास हुन्छ । मानसिक एकाग्रताको अभिवृद्धिले लक्ष्य प्राप्तिमा नकारात्मक असर पार्न सक्दैन । आध्यात्मिक शिक्षा र प्रवृत्तिको अवलम्वनले अहमपनाको समाप्तिको साथै अनुशासित र उत्तरदायीपूर्ण जीवनशैलीको अवलम्वनमा सहयोग पुग्न जान्छ ।

नेतृत्व क्षमताको विकास

नेतृत्वदायी व्यक्तिले आफ्नो असल कर्म र विचारको व्यवहारिक प्रदर्शन गर्न सक्नुपर्दछ । धैर्यता, दूरदर्शिता, अनुकुलनको सामायिक व्यवहार नेतृत्वको लागि आवश्यकीय विशेषताहरु हुन् । यी सबै गुणहरु आध्यात्मिकताको अवलम्बन गर्ने व्यक्तिहरुमा बढी मात्रामा पाउन सकिन्छ । आध्यात्मिकताको अवलम्वनले प्रवृत्ति, दृष्टिकोण र कार्य दक्षतामा वृद्धि ल्याइदिनुको साथै यी दक्षताहरुको व्यवहारिक प्रयोगमा उर्जा प्रदान गर्दछ जुन कुरा नेतृत्व क्षमताको विकासको लागि अपरिहार्य पक्ष हो ।

व्यावसायिक दक्षताको विकास

व्यवसायिक जीवन विविध अनेक पक्षहरु र आरोह अवरोहहरुको संगम हो । परिश्रम, धैर्यता, सहनशीलता समस्याहरुसँग भिड्न सक्ने क्षमता, चुनौतीहरु वीच पनि अवसर देख्न सक्न व्यावसायिक जीवनका अपरिहार्य विषयहरु हुन् । आध्यात्मिकताको विकासले व्यक्तिमा उपरोक्त गुणहरु गहिराईबाट प्रवेश भएका हुन्छन् । आध्यात्मिकताले श्रमलाई सहज रुपमा स्वीकार्ने र शुभभावनायूक्त बनाउनमा सहयोग पुर्याउँछ । जसले व्यक्तिलाई व्यवसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ ।

आध्यात्मिकताको अर्थ न त भौतिक जगतसँग भावनात्मक रुपमा बढी नै मात्रामा आवद्ध हुनु हो न त सांसारिक साधनको उपभोगबाट पृथक भएर बस्नु हो । हाम्रो अर्धचेतन मनलाई सर्वोच्च सत्तासँगको निरन्तर सम्बन्ध र समर्पण भाव नै यथार्थतामा आध्यात्मिकता हो । आध्यात्मिकतालाई आस्तिक वा नास्तिकको सीमारेखाबाट हेरिने तथा कर्मकान्डी वा क्रान्तिकारीताको विभेदको कसीमा हेरिदा पनि आध्यात्मिकताको सही परिभाषा भएको मान्न सकिदैन । आध्यात्मिकताको अर्थ र उद्देश्य सही रुपमा बुझ्न नसक्दा पनि मानवजीवन प्रभावशाली बन्न सकिरहेको छैन । आध्यात्मिकता धर्म भन्दा पनि अलग छ यो आध्यात्मिकता चेतना र व्यवहार बीचको समिश्रण हो । यसको व्यवहारपरक प्रयोगले हाम्रा नियमित कार्य व्यवहारहरु प्रभावकारी, आदर्श र अनुकरणीय वन्ने मात्र होइनकी यसले हामीमा मानसिक शान्ति, सन्तुलन र स्वस्थ्यताको दिगो आधारस्तम्भ समेत प्रदान गर्दछ ।

सरकारले जनताप्रति प्रवाह गर्नु पर्ने सेवा सुविधाहरु सरकारले आफ्नो संयन्त्रको परिचालनबाट गर्ने गर्दछ । सरकारी सेवा सुविधाको प्रवाहको संयन्त्र तथा जन आकांक्षाहरुलाई नीति निर्माणको लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकार समक्ष पुर्याइदिने सम्वाहकको रुपमा सार्वजनिक पदाधिकारीहरुको भूमिका अति नै महत्वपूर्ण रहने गर्दछ ।

विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जन आकांक्षाको तह पनि उच्च रुपमा बढेको छ यस सन्दर्भमा सार्वजनिक पदाधिकारीहरुको कार्यक्षमता, प्रभावकारिता र सवल उपस्थिति अनिवार्य शर्त हुन आउछ । निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक पदाधिकारीहरुमा हुनु पर्ने न्यूनतम मूलभूत विशेषताहरु हुन् । यी विशेषताहरुको सक्षम उपस्थितिले नै सक्षम सार्वजनिक निकायको अपेक्षा गर्न सकिन्छ र यी विशेषताहरुको न्यून उपस्थिति वा क्षयीकरणले समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्दछ , जसले प्रशासन शासकीय संरचना र सरकार (राज्य संयन्त्र) प्रति जनताको अपनत्वबोध समाप्त हुन जाने खतरा बढ्दछ ।

सार्वजनिक भूमिकाको यो गरिमा र महत्वलाई दृष्टिगत गरेर यसलाई सक्षम र प्रभावकारी बनाउन विभिन्न उपायहरुको अवलम्बन गरिएको हुन्छ । सबैको सहज पहुंच निष्पक्षता सहितको प्रतिस्पर्धा, योग्यतामा आधारित छनोट प्रणाली, विज्ञता र विशेषज्ञता, वृत्ति विकासको स्पष्ट मार्गचित्र, उत्प्रेरणाका संयन्त्रहरुको प्रयोग उत्तरदायित्व, पारदर्शिता तटस्थता सदाचारिताको सैद्धान्तिक अवलम्बन सार्वजनिक पदाधिकारीहरुलाई सक्षम र प्रभावकारी बनाउने उर्जावान संयन्त्रहरु हुन् ।

सार्वजनिक पदाधिकारीहरु सरकारको अंग भएर मात्र होइन समाजको एउटा आदर्श चरित्रको रुपमा समेत स्थापित हुनुपर्ने कारणले यो अंग बढी सक्षम र प्रभावकारी हुनुपर्दछ । उनीहरुको सक्षमता र प्रभावकारिता भनेको पेशागत दक्षता सहितको व्यवसायिकता, कार्यसम्पादनमा तटस्थता र निष्पक्षता, कानुनको परिपालना गर्दै व्यवहारोपयोगी अन्तरवैयक्तिक सम्बन्धको निर्माण र सेवाग्राहीसँगको सहिष्णुता, भ्रष्टाचार रहित कार्यशैलीले युक्त सदाचारिताको अवलम्वन जस्ता कसीमा उत्तम सावित हुनु हो । यी सवै कार्यमा शासकीय संयन्त्रका अन्यपात्रहरुको भूमिका पनि यसै आयामको परिवेशमा केन्द्रित रहनु आवश्यक हुन्छ।

यस्ता सवल पक्षहरुको प्रभावकारिता व्यक्तिले हासिल गरेको औपचारिक शिक्षा, वातावरणीय पर्यावरण, सामाजिक पर्यावरण, रहनसहन, सांस्कृतिक परिवेशमा निर्भर रहन्छ । यसको अतिरिक्त व्यक्ति विशेषमा आन्तरिक रुपमै सिर्जित हुने मूल्य मान्यता प्रतिको विश्वास, एउटा मानवको हैसियतले स्व स्थितिको विकास र उन्नतिको साथसाथै समाज, राष्ट्र हुदै विश्व कल्याणमा योगदान गर्ने चाहना पनि यसै विषयका अन्तरबस्तु अन्तरगत पर्दछन् ।

सकारात्मकताको अवलम्बन नै सक्षमता तर्फको प्रस्थानको शुरुवात विन्दू हो । सकारात्मकताको प्रवेशताको प्रवद्र्धन जति औपचारिक शिक्षा र सकारात्मकताको भौतिक मापन विधिबाट गर्न सकिन्छ त्यति नै मूल्य, मान्यता, दायित्व वोध, समर्पण भाव, मधुरता, धैर्यता, परोपकारिता, सहिष्णुता जस्ता पक्षको आन्तरिक सवलीकरणबाट पनि सकिन्छ । शासन प्रणालीका पात्रहरुको भुमिका पनि यी दुई आयामहरुको परिधि भन्दा बाहिर जान सक्दैन ।

राजनीतिक नेतृत्व, विभिन्न पदाधिकारीहरु र कर्मचारीहरु परिवार, समाज, राष्ट्र र विश्व समुदायको एउटा सदस्य हुन् यसभन्दा अघि उनीहरु एउटा ब्यक्ति पनि हुन् । एउटा व्यक्तिको हैसियतले उनीहरु भित्र सकारात्मकता र नकारात्मकताका धेरै गुण र अवगुणहरु हुन सक्दछन् । तर जब उनीहरु व्यक्तिबाट सार्वजनिक भूमिकामा रहन पुग्दछन् उनीहरु व्यक्तिगत चरित्रको कित्ताबाट बाहिरिएर सार्वजनिक चरित्रको कठोर सीमारेखा भित्र बाधिन पुग्नु पर्दछ । यसपछि उनीहरुमा एउटा सामान्य व्यक्तिको हैसियतमा स्वभाविक रुपमा रहन सक्ने नकारात्मक गुणको उपस्थितिलाई ग्राह्य मानिदैन ,जवकि एउटा व्यक्तिमा थोरैनै मात्रामा भएपनि नकारात्मकताको अवशेष कुनै न कुनै रुपमा रहन्छ र त्यसले कुनै न कुनै वेला विकराल रुप लिन पनि सक्दछ भन्ने मान्यता रहेको छ । यसर्थ शासन प्रणालीका कर्ताहरुमा सकारात्मकता, सदाचारिता र सहिष्णुताको प्रवद्र्धन अनिवार्य शर्त वन्न पुगेको हो । सार्वजनिक चरित्रको वास्तविक अवलम्बनले नै जनमानसमा उनीहरु प्रति सकारात्मक छवि उत्पन्न हुन जान्छ यी पात्रहरुमध्ये केही पात्रहरुमा मात्र पनि सार्वजनिक चरित्रको उपस्थिति देखिएन वा गलत संस्कार वा प्रवृत्ति देखियो भने त्यसले समग्र प्रणाली प्रति नै जनमानसमा नकारात्मक छवि उत्पन्न हुन जान्छ । सकारात्मक सोंच सहितको इच्छाशक्ति र सदाचारिता शासन प्रणालीका पात्रहरुमा हुनु पर्ने अपरिहार्य गुणहरु हुन् । सदाचारिता विनाको इच्छाशक्ति र इच्छाशक्ति विनाको सदाचारिता दुवै अवस्था अपेक्षा गरिएको अवस्थाहरु होइन । सदाचारिता विनाको इच्छाशक्तिले गलत प्रवृत्तिलाई प्रश्रय दिइरहेको हुन्छ भने इच्छाशक्ति विनाको सदाचारिताले अपेक्षित परिणाम दिन सक्दैन । यसर्थ सदाचारिता र इच्छाशक्ति सार्वजनिक पदाधिकारीहरुमा संगसंगै आउनु पर्ने विषयहरु हुन् । कार्यव्यवहारमा आध्यत्मिकताको अवलम्बनले र सार्वजनिक प्रशासनलाई सदाचार र इच्छाशक्तिले युक्त बनाउनमा सहयोग गर्दछ ।

(लेखक प्रशासनविद तथा गीतकार हुन् )

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।