ऋृषि भट्टराई
बिज्ञापन
समाज यही हो,गाउँ –ठाउँ यही । बुद्ध,आइन्सटाइन,ग्यालिलियो,जिससजस्ता मुक्त पुरुषलाई पागल भन्ने र ढुङ्गाले हान्न पछि परेन भने उनी त साधरण मान्छे । गुल्मीको मदाने गाउँपालिका ४, म्यालपोखरीका जन्मिएका विनोद कुँवरले पनि यस्ता तुच्छ बचन त कति सुने कति । कहाव छ नि ‘सबसे कडा हें रोग क्या कहंगे लोक’। उनले दुनिँयाको कुरा सुनेनन्,आफ्नै अन्र्तमनको अन्तरध्वनीलाई सुने र विदेशी भूमिमा श्रम,सिप बेचेर आर्जित करोडौं लगानी नेपालमा गर्न होमिए,त्यो पनि क्रिकेट रंगशालामा । त्यो पनि यस्तो समय थियो कि दुनिँयासँग हात फिजाएर मागेको सहयोग रकमले क्रिकेट रंगशाला बनाउन तम्सिएका र दर्शकले भगवानकै दर्जामा राखेका धुर्मुस सुन्तली सकिएन भनेर हात उठाएर भागेको स्थितिमा ।
बिज्ञापन
गुल्मीको एउटा मध्यम बर्गीय परिवारमा जन्मिएका हुन कुँवर । परिवारकै कान्छो छोरा । जेठा दाजु बसन्त ओभरसियरका रुपमा गुल्मीस्थित मदाने गाउँपालिकाका ओभरसियरका रुपमा कार्यरत,माइलो सूर्य इण्डियन आर्मीबाट रिटायर्ड । आर्थिक अभाव र तनावकै बीचमा हुर्किएका हुन उनी । आर्थिक संकटकै बीच गुल्मीको पुर्कोट दह पृथ्वी उच्च मावि बाट एसएलसी सम्मको शिक्षा अध्ययन पूरा गरे । महेन्द्र उच्च मावि तम्घासबाट अरु अध्ययनलाई अगाडि बढाए । कुँवरमा क्रिकेटको प्यासन यति विध्न थियो कि ईन्जिनियरिङको परीक्षा छोडेर क्रिकेट हेर्न जान्थें । त्यही कारण उनका साथीभाईले पागलको संज्ञा दिन्थें ।
एक दशक अघि अष्ट्रेलिया जाँदा ऋण सापटी गरेर उनी त्यहाँ पुग्दा दुःखको भवसागमा डुबें । न त त्यहाँ टेक्ने हाँगो थियो,न समाउने । यद्यपि हारेनन्, हिम्मत । भन्छन नि जीवनमा चरेश खानु तर हरेश नखानु । जस्तै दुःख पर्दा पनि उनले हार्न दिएनन् मनलाई । निरन्तर संघर्ष गरिरहे । भन्छन नि,निरन्तरको नदीको बहावले ठूल्ठूला चट्टान त पग्लन्छ भने सफलतालाई नै एक दिन आफूसँग झुक्न बाध्य पार्दछु भनेर निरन्तर खटें । संघर्षकै बीच विनोदले आफ्नो अध्ययन पूरा गरे । जतिखेर विश्व कोभिड १९ का कारण भयभिय थियो त्यही समयमा जन्माए ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी)सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट कम्पनी । अस्ट्रेलिया बसाइका क्रममा उनले नेपाललगायत तेस्रो विश्वबाट उच्च शिक्षाका लागि आउने विद्यार्थीले भोग्नुपरेको समस्यालाई नजिकबाट बुझ्ने मौका पाए र जन्माए एक्स्ट्राटेक ओभल ।तिनै विद्यार्थीलाई मध्यनजर गरेर खोलेका थिए उनले उक्त कम्पनी । सो कम्पनीको स्थापना पछि विनोदले पछाडि फर्केर हेर्नु परेन । अहिले अस्ट्रेलियाकै सिड्नी, मेलबर्न, क्यानबिरा, ब्रिसबेनलगायत विभिन्न ठूला सहरमा उनले ‘एक्स्ट्राटेक ओभल’ को शाखा फैलिएको छ । हातको मैला हो धन,यो साधन हो साध्य होइन । राम्रैसँग बुझेका थिए उनले । तन अष्ट्रेलियामा थियो,मन नेपालमा । यही नामबाट उनले नेपालमा लगानीको शुरुवात गरेका हुन् । उनमा क्रिकेटको प्यासन थियो । यही क्षेत्रमा केही गर्न चाहन्थें उनी ।
बिज्ञापन
गुल्मीबाट तिलोत्तमामा बसाई सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका विनोद कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी)सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गरेका छन् । उनी आफैं पनि आईटी इन्जिनियर हुन् ।त्यही कम्पनीको नामबाट उनी रुपन्देहीमा लगानी गर्न तम्सिए क्रिकेटमा कारण रुपन्देहीले जन्माएको प्रतिभा राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, वसन्त शाही, सञ्जय गुरुङ, सत्यजित सरकार, समिर खान, जगत टमाटाहरु । जस्ले रुपन्देहीको मात्र होइन सिंगो नेपालको नाम राखेका छन् । यस्ता थप अरु प्रतिभा जन्माउनका लागि देशमा खड्किरहेको देखे अन्तराष्ट्रिय क्रिकेट रंगशाला । चाहे मुलपानीमा सरकारले बनाउन खोजेर अलपत्र परेको रंगशाला होस वा धुर्मुस सुन्तलीले हात हालेर गर्न नसकेको चितवनस्थित गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला । यी दुई असफलता उनकै अगाडि थिए । आफ्ना क्रिकेटरले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहँदा देशभित्रै भने क्रिकेटको गतिलो भौतिक पूर्वाधारसम्म नभएको देखे पछि उनको मन कुटिन्थ्यो । देशकै माटोमा केही गर्नुपर्दछ भन्ने हुटहुटी बोकेका बिनोद र उनकी पत्नी सदीक्षा र त्यहाँ आईटी व्यवसाय सञ्चालन गरेर आर्जित रकम नेपाली क्रिकेटको लागी उर्भर भूमि मानिने रुपन्देहीमा लगानी गर्न तम्सिए । झण्डै ४० करोड खर्च लाग्ने हिसाब किताब निस्कियो । एकल रुपमा क्रिकेट रंगशाला निर्माणका लागि जग्गा खोजे । तिलोत्तमा वडा नंं १७ पूर्व दरखसवामा ५ बिघा क्षेत्रफलमा रंगशाला निर्माणको काम अगाडि बढाए । यो योजना बनाउन दरखसवाका ३१ जना किसानसँग करिब १० करोड रुपैयाँ खर्च गरेर पाँच बिगाहा जग्गा खरिद गरे । गुपचुप रुपमा अगाडि बढाइरहेका थिए,योजना हल्लाखल्ला मच्चियो । फेरि थपिए उनलाई पागल भन्नेहरु ।
एकातिर नेपालमा लगानीको वातावरण छैन भनिएको अवस्था । अर्काेतिर क्रिकेट जस्तो अनुत्पादक क्षेत्रमा ४० करोड लगानी गर्ने तम्सिएका थिए विनोद । त्यसमाथि सेलिव्रेटी ध्रुर्मुस–सुन्तलीमात्र होइन सरकार आफैंले दशकौंदेखि बनाउन नसकेको स्थिति थियो क्रिकेट रंगशाला । अष्ट्रेलियामा आर्जित रकम नेपालमा अन्तराष्ट्रिय क्रिकेट रंगशालामा लगानी गर्दा विनोद बौलाएछ भन्नेहरु धेरै भेटिए । सम्झन्छन्–हिजो परीक्षा छोडेर क्रिकेट हेर्न जांदा पागल भन्ने हरु त थिए नै अहिले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउँछु भनेर भन्दा पनि केही मान्छेहरुले पागलै भने । समाजमा केही गर्छु भन्नेलाई हौसला दिनुको सट्टा नकारात्मक टिप्पणी र आलोचनाहरु बढी आउने गरेको छ । तर उनले त्यस्ता वचन सुनेनन् । एकोहोरो आफ्नो लक्ष्यमा ध्यान दिए । साढे तीन दशक उमेरमा दौडिरहेका उनी तीन वर्षसम्म सिड्नीमा सूचना प्रविधि सम्बन्धी व्यवसाय समेत गरेर आर्जित रकमले नेपालमा क्रिकेट रगंशाला निर्माणमा होमिए । र उनको पागलपनाले धेरै हदसम्म सफलता पायो सोमबार ।
९ महिना अघि गत जेठ २९ गते शिलन्यास गरिएको मैदान सोमबार एक कार्यक्रमबीच एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका छन् । रंगशालाका अन्य पूर्वाधारहरु पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य बोकेका छन विनोदले । मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको हिसाब छ उनीसँग । १८ करोडको लगातमा प्याराफिटको काम लगत्तै प्रारम्भ हुने बताउँदैछन् उनी । सोमबार भएको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट, कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहहरु पुगेका थिए त्यहाँ । उनको यो पागलपनले सोमबारबाट मृतरुप पाएको छ । उनी क्रिकेट प्रतिको त्यही पागलपनकै कारण रुपन्देहीमा एकल लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणमा जुटेका छन् । पहिलो वर्ष पाँच हजार दर्शक क्षमताको रङ्गशाला बनाउने र प्रत्येक वर्ष सोही बराबरको क्षमता थप्दै चार वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने महत्वकाक्षी योजना बोकेर हिडेका कुँवर,निस्वार्थ रुपमा देखिएको आफ्नो सपना साकार हुनेमा दृढ विश्वस्थ छन । खेलका जानकारहरुले निजी लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला भनेका छन् । क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडरका रुपमा चर्चित पूर्वक्रिकेटर शक्ति गौचन छन् । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको कुँवरले बताउँछन् । चार तलाको भवनसहितको रंगशालामा एकेडेमी र तालिम केन्द्र संचालनका सबै काम गौचनले हेर्ने छन् । रंगशाला पछि विनोदको लक्ष्य छ नेपालमा यस्तै प्रकारको अस्पताल र आइटी कलेज स्थापना गर्ने ।