राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुष्प कमल दाहालको नेत्तृत्त्वमा बनेको हालको गठवन्धनको सरकारमा सामेल भएका छन्। यस भन्दा अगाडिको गठवन्धनको सरकारमा पनि सहभागी भएको यो पार्टीलाई २०७९ को संसदको निर्वाचनमा बैकल्पिक पार्टीको रूपमा नेपाली जनताले स्थापित गरेका हुन्। पुराना पार्टी र पुराना नेताको बिकल्पको रुपमा यो पार्टी आएको हुदा यो पार्टी उपर आम जनतामा ठूलो विश्वास र भरोसा थियो। त्यही भरोसा कै कारण केही अगाडि चितवन र तनहुमा भएको उप निर्वाचनमा समेत यही पार्टीका उम्मेद्वारलाई सो क्षेत्रका मतदाताले पत्याए र विजयी गराए। यो पार्टीका सभापति रवि लामिछाने एक चर्चित सन्चारकर्मी थिए। खासगरी खाडी राष्ट्रमा श्रममा जादा ठगिएका श्रमिक उपर केन्द्रित गरेर समाचार बनाएका कारण पनि यी चर्चित भएका हुन्। यही चर्चाका बीच यी राजनीतिमा हाम फाले। पुराना पार्टीका नेताका असन्तुष्टीका मत यिनले पाए।
यो पार्टीमा पुराना पार्टीमा पेलिएका, अवसर नपाएकाहरूको प्रवेशले यसलाई झनै गरूंगो बनायो। खास भन्ने हो भने यो पार्टीको गन्तब्य र कार्यनीति अस्पस्ट छ तर असन्तुष्ट मतहरू पोखिने स्थान अन्यत्र नभएको हुदा यसको चुनाव चिन्ह घण्टीमा स्वस्तिक बज्रन पुग्यो र यो पार्टीले सोचे भन्दा पनि बढी मत पायो। कसै कसैले त रवि लामिछानेले पाएको मतलाई पंचायती कालको नानी मैया दाहालको मत संग पनि तुलना गर्न भ्याए तर कताको पंचायतलाई उपहास गर्न हालिएको नानी मैयाको मत र पुराना नेताको असन्तुष्टी बापत रविले पाएको मतको तुलना हुन सक्दैनथ्यो। मानिसलाई बेहोरे पछि मात्र चिनिन्छ भन्छन्, त्यस्तै भयो। मतदाताले पुराना नेताको बिकल्पमा अगाडि सारेका रविजी तिनै म्याद सकिएका नेताको पुच्छर बनेर सरकारमा जालान् जस्तो लागेको थिएन तर गए। यस पटक मात्र हैन अगिल्लो पटक पनि गएकै हुन् तर मतदाताको भावना विपरीत। उनी अमेरिका बस्दा उतैको नागरिकता र राहदानी लिएका रहेछन् तर नेपालको नागरिकता र राहदानी पनि कायमै राखेका रहेछन्। अमेरिकामा त दोहोरो नागरिकता र राहदानी लिए पनि खासै फरक पर्दो रहेनछ तर नेपालमा भने यसो गर्नु गैर कानूनी मानिन्छ।
पहिलो पटक सांसद हुदा र सरकारमा समावेश हुदा सम्म पनि उनको दोहोरो नागरिकता र दोहोरो राहदानी कायमै रहेको थाहा पाएर उजूरी परेपछि न्यायीक निरूपणको क्रममा उनको सांसद पद समेत खारेज भयो। यसै बीचमा नेपाल स्थित अमेरिकी दूतावासमा सो राहदानी र नागरिकता फिर्ता गरेर पूनः नेपालको नागरिकता लिए। उनको यो विषयमा परेको उजूरी उपर न्यायीक निरूपण हुन बाकि रहदै उनले पहिला जितेको चितवनको निर्वाचन क्षेत्रमा उप निर्वाचन भयो र सो उप निर्वाचनमा समेत यी सहभागी भए र विजयी भै सांसद बने। यही बीचमा पुष्पकमल दाहालले नेपाली कांग्रेस संगको गठवन्धनमा बनेको सरकार पुनर्गठन गरेर एमाले समेत मिलाएर अर्को सरकार बनाए। यसरी सरकार बनेपछि यसले विश्वासको मत लिनु पर्ने र यसको लागि संख्याको खोजी हुदा रविजी सभापति भएको २१ सांसद भएको रास्वपा पनि पूनः सरकारमा सामेल हुने भयो जसमा सभापति रहेका रवि लामिछानेले उप प्रधानमन्त्री तथा गृह मन्त्रालय लिएर सरकारमा गए।
एक त यी विरूद्ध अदालतमा चलेको दोहोरो नागरिकता तथा राहदानी सम्बन्धी मुद्दा टुंगो नलाग्दै मुद्दाको अनुसन्धानमा प्रत्यक्ष प्रभाव पार्न सक्ने मन्त्रालय लिएर गएका छन् र अर्को कुरा यो पार्टीलाई जनताले सत्तामा हैन प्रतिपक्षमा रहने मत दिएको स्पष्ट हुदा हुदै जनताको मत विपरीत पुरानै नेताको पुच्छर बन्दै सरकारमा जानु अवसरवादिता वाहेक केही हैन। चुनावको वेला पुराना नेताको उम्मेद्वारीलाई ब्यंग गर्दै नट अगेन नट अगेन भनेका रविले तिनै पुराना नेतालाई अगेन एण्ड अगेन भन्दै सत्तामा सहभागी भए पछि रवि राजनीतिक क्षेत्रमा उपहासका पात्र भएका छन्। गाऊ घरमा एउटा उखान चल्तिमा छ त्यो हो “जुन पोई होला भनेको उही जेठाजु” भने जस्तै अनुभव अहिले उनलाई मतदान गर्ने मतदातालाई भएको छ।त्यस्तै यो नयां पार्टी यूवाको पार्टी पक्कै पनि यसलाई चुनावमा जिताईयो भने हामीले पुराना नेताबाट मुक्ति पाईन्छ भनेका मतदाता अहिले जुन जोगी आए पनि कानै चिरेको भनेर चित्त बुझाएका छन्।