सशस्त्रको सान :-महानिरीक्षक अर्याल

अध्ययनको बिषय विज्ञान,योजना थियो डक्टर बनेर समाजसेवा गर्ने ! तर कहाँ सबै इच्छा पूरा हुन्छन् र जीवनका/वालापनका ? आईएस्सी पढे,अष्टे«लिया जाने सपना पनि देखे । सहपाठी साथीहरु सबै लाहुरे बनेका कारण उनमा पनि लाहुरे बन्ने भूत सवार नभएको होइन । भनिन्छ जीवनमा एउटा ढोका बन्द हुँदैमा निराश हुनु पर्दैन,सम्भवनाका अरु चार ढोकाहरु खुल्लै हुन्छन् । लाहुरे र डाक्टर बन्ने सपना तुहिएर के भयो ? उनका लागि अर्काे द्धार खुल्लै थियो । सम्भवनाको त्यही ढोका ढकढाए । खुल्यो पनि नेपाल प्रहरीतर्फ भर्ना । मोडे आफ्ना पाइला । भरे फाराम,बने इन्सपेक्टर । जीवनमा देखेको कम र लेखेको (भावीले) बढी पाइन्छ भन्छन् । सायद सत्कर्म,इमानको परिणामत राजु अर्याल अहिले झण्डै ३७ हजार फौजीको कमाण्डरको भूमिकामा छन् ।साथीहरु त भन्थें पनि ‘ एक दिन तँ प्रहरीको महानिरीक्षक बन्छस ।’तर अर्यालकै शब्दमा उनले कहिल्यै त्यस्तो सपना देखेनन्,महत्वकाक्षा पाल्दै पालेनन् । मान्छेहरु भन्छन,सफल हुनका योजना बुन्नुपर्दछ,सपना देख्नुपर्दछ । तर उनी कर्म गर्दै गए,निष्काम । गीतामा भनिएकै छ,’कर्म गर,फलको आश नगर ।’ निस्काम कर्मकै परिणाम अघिल्लो बर्ष नेपाल सरकारले उनलाई सशस्त्र प्रहरीको महानिरीक्षकको जिम्मेवारी थमायो ।
पृष्टभूमि
पिता दामोदर प्रसाद अर्याल र माता शारदाको कोखबाट काठमाडौंको गोलढुंङ्गामा जन्मिएका हुन उनी ४८ बर्ष अघि । त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र तथा राजनीतिशास्त्र संकायमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय मानविय कानुन विषयमा पोष्ट ग्रायजुएट डिप्लोमा पार लगाएका अर्याल ०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवामा पाइला राखेका हुन । जतिखेर उनी बीएस्सी तह अध्ययन गर्दै थिए । सेवा प्रवेश गरेको चार बर्ष पछि नेपाल प्रहरीबाट सशस्त्र प्रहरीतर्फ पाइला मोडे । ०५८ जेष्ठ ८ मासशस्त्र प्रहरी बलतर्फ सेवा स्थानान्तरण गरेकाउनी सोही बर्ष सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा उक्लिए । ०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी),०७० मा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदै ०७५ सालमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका उनी बर्ष दिन अघि सशस्त्र प्रहरीको महानिरीक्षकको कुर्सीमा छन् ।

बिज्ञापन

सशस्त्र प्रहरीबल, नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग, सशस्त्र प्रहरीबल, नेपाल नम्बर २ र नम्बर ९ बाहिनी मुख्यालय, तालिम केन्द्रहरु, गण तथा गुल्म लगायत १० भन्दा बढीका संख्याका ईकाइहरुको प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका उनले यस अघि सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । अर्यालले १५ भन्दा बढि पेशागत तथा व्यावसायिक तालिम हासिल गर्नुकासाथै अमेरिका, जर्मनी, ईटाली, चीन, श्रीलंकाका अलवा अफ्रिकी मुलुकहरु समेत भ्रमण गरेका छन् । यस्का अलवा सुकीर्तिमय राष्टदीप, सुप्रबल जनसेवाश्री, गोर्खादक्षिणबाहु चौथोका अलवा ८ वटा विभुषण, मानपदवी, पदक तथा अलंकारहरुबाट विभूषित भएका छन् । सशस्त्र प्रहरी बल विधेयक (सन् २००१) र सशस्त्र प्रहरी बल ऐन (सन् २००२) का माध्यमबाट सशस्त्र प्रहरी बल स्थापना भएको हो । सशस्त्र प्रहरीको १२ औं महानिरीक्षकका रुपमा गत बर्ष वैशाख १९ गतेदेखि सो संगठनको कमाण्ड गरिरहेका छन् अर्याल ।
उदेश्य के लिनु…
लक्ष्मी प्रसाद देवकोटाको एउटा उक्ति छ,‘उदेश्य के लिनु,उडिछुनु चन्द्र एक ।’ भारतीय पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले कतै भनेका छन् ‘स सना लक्ष्य लिएर बाँच्नु सबैभन्दा ठूलो अपराध हो । तिमी त्यतिखेर बर्बाद हुन्छौं तर लक्ष्य स– सना हुन्छन र ती पूरा हुन्छन् ।’ उसो हो भने जीवनमा सफल बन्नका लागि उदेश्य नै ठूलो चाहिने हो ?तर यो स्वीकार्दैनन् अर्याल । भन्न त उनको कार्यशैलीलाई देखेर सहपाठी,सहकर्मीहरु पहिल्यै ठोकुवा गरिसकेका थिए रे एक दिन प्रहरी महानिरीक्षक पक्का बन्छस भनेर । तर अर्याल आफू सेवामा रहँदा एक तहभन्दा माथिको पदबारे कहिल्यै नहेरेको सुनाउँछन् । आफ्नो स्वभाव कम महत्वकाक्षी रहेको तर सेवामा रहँदा सदैव इमान्दार बन्नुपर्दछ भन्ने मूल मन्त्र रहेको उनी सुनाउँछन् । २६ बर्ष सेवामा रहँदा उदाहरणीय काम केही नगरे पनि सरकारले दिएको र लगाएको काम इमान्दारितापूर्वकमात्र निर्वाह गरेको सुानउँछन् । भन्छन्,मेरो ‘यही सिद्धान्तले नै हो आज मलाई यहाँसम्म ल्याएको ।’
सुधारका यत्न
अघिल्लो बर्ष वैशाखमा उनी प्रहरी महानिरीक्षकको कुर्सीमा पुगेका छन् ।अक्सर हामी ठूल्ठूला कुरालाई मात्र सुधारका योजना बनाउँछौं वा तिनैमा केन्द्रित रहन्छौं तर स–सना कुरा सुधारमा हाम्रो ध्यानै जाँदैन । महानिरीक्षक अर्याललको ध्यान त्यही स–सना बिषय बस्तुमा केन्द्रित छ । विशेष गरी विगतमा देखिएको संगठनभित्रको बेथिती सुधार,तल्ला तहका कर्मचारीहरुको मनोबल उकास्नेतर्फ उनको ध्यान केन्द्रित रहेको पाइन्छ पछिल्लो एक बर्ष । यस्का अलवा सीमा सुरक्षामा डेडिकेटेड फोर्स निर्माण गर्नेतर्फ आफ्नै ध्यान केन्द्रित रहेको सुनाउँछन्,अर्याल । यस्तै सीमा सुरक्षामा नागरिक सशस्त्र प्रहरी साझेदारी बोर्डर सर्भिलेन्स कमिटी गठन गर्ने र इन्टेलिजेन्स ब्यूरो निर्माण गर्ने अठोट बोकेका छन् । यस्तै,सीमा निगरानी बहुउदेश्यीय सडक निर्माण,२४ सै घण्टा सञ्चालन हुने गरी सीमा सुरक्षा डेस्क स्थापना,शान्तिको समय तथा पब्लिक अर्डर म्यानेजमेन्ट जस्ता प्रकृतिका कार्यक्रममा नेपाल प्रहरी तथा प्रतिविद्रोह, आतङ्ककारी नियन्त्रण जस्ता प्रतिरक्षाका कार्यमा नेपाली सेनासँग सुमधुर सम्बन्ध र समन्वयात्मक ढङ्गले अघि बढ्ने योजना छ । राजस्व सङ्कलन,चोरी, तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्दैछन् । शान्ति मिसनमा जानबाट रोकिएका १४० जनालाई उनले कमाण्ड सम्हालेसँगै अहिले अफ्रिकी मुलुक मालीमा पठाइएको छ । यी यत्नहरु गर्दागर्दै उनको बर्ष दिन व्यतित भइसकेको छ । अबको तीन बर्ष उनको सशस्त्र प्रहरी संगठनको कमाण्ड गर्नेछन् । अबको तीन बर्षमा कस्तो बनाउने योजना छ त सशस्त्र प्रहरी संगठनलाई ? हाम्रो अर्काे प्रश्न थियो
बन्दुकको डर,बर्दीको भर
महानिरीक्षक अर्यालको चाह छ,सशस्त्र प्रहरी बलको बर्दी लगाएको मान्छे देख्ने वित्तिकै सर्वसाधरणले मनैदेखि सलाम गरोस । नागरिकलाई बन्दुकको डर र बर्दीको भर होस । इमान्दारलाई बर्दीप्रतिद भर र बेइमानलाई बन्दुकको डर रहोस । यी दुई कुरा सशस्त्र प्रहरी बलमा उभिओस, मान्छेलाई प्रहरीप्रति यति धेरै आस्था र विश्वास जागोस कि एसएलसी,प्लस टु,स्नातक तह उत्र्तीण गरेपछि वैदेशिक रोजगारीका लागि बाहिर जाने होइन । स्वदेशमै त्यसमा पनि सशस्त्र प्रहरी बलमै जागिर खानु पर्ने रहेछ भन्ने भाव जागृत होस । सीमा सुरक्षा, राजस्व, औद्योगिक सुरक्षा, नेपालस्थित विभिन्न देशका दूतावासहरुको सुरक्षालगायतका जिम्मेवारीका अलवा विपत व्यवस्थापन,आतंकवादी गतिविधि रोकथाम तथा नियन्त्रण,हातहतियार नियन्त्रण लगायतका जिम्मेवारी पनि सशस्त्र प्रहरी बलको काँधमा छ । राष्ट्रको सेवा गर्नका लागि सशस्त्र प्रहरीको अफिसर÷ जवान बन्नु पर्ने रहेछ भन्ने भाव जागृत होस विद्यार्थीहरुमा । आफ्नो कार्यकालमा केही उदाहरणीय काम गरेर देखाउन सकिन्छ कि भन्नेतर्फ प्रयासरत छन् अर्याल ।
मूल सफा भए पो…
भनिन्छ मूल सफा भयो भने तल (धारा)मा सफा पानी आउँछ । मूल नै फोहोर भएको खण्डमा धाराबाट संग्लो पानीको अपेक्षा गर्नु नै बेकार । जब नेतृत्व ठीक र सही ढंगले चल्दछ तब राजनीतिक र प्रशासनिक हस्तक्षेप हुँदैन भन्छन्,अर्याल । बर्ष दिनको अन्तरालमा दुई वटा सरकार परिवर्तन भइसकेका छन् । चार जना गृहमन्त्री,तीन सचिव परिवर्तन भइसकेका छन् । सोही अनुभवकै आधरमा सुनाउँछन उनी । सही कुरा उठान गर्दा र लिएर जाँदा त्यसलाई नेतृत्वले रोक्न सक्दैन ।
अर्थका कर्मचारीको आरोप
सशस्त्र प्रहरीकै कारण राजश्व संकलनमा केही संकुचन आएको अर्थका अधिकारीहरु सुनाउँछन् । तर अर्याल केही व्यक्तिका कारण बदमासी हुन सक्ने स्थिती अब नरहेको जिकिर गर्दछन् । कोही कसैले बदमासी गरेको देखिए÷भेटिए तत्कालै एक्सन लिने र कारवाही भइरहेको अर्यालको भनाई छ । भन्सारको बोर्डरमा पोष्टहरु थप्नु पर्ने अवस्था छ । यस्का अलवा विओपी थप्नु जरुरी छ ।
बृत्तिविकासतर्फ
सशस्त्र प्रहरी कर्मचारीहरुको बृहत्तर सुविधालाई ध्यानमा राखेर उनीहरुलाई आवश्यक पर्ने कर्मचारी संचयकोष,नागरिक लगानी कोषका अलवा प्रहरी किताबखाना लगायतका सेवा सहज बनाउने काम भएको छ । निवृत्तिभरण शाखालाई आवश्यक जनशक्ति एवं साधनश्रोतको व्यवस्थापन गरी सो अन्तर्गत रहने गरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा केन्द्रीय सहायता÷समन्वय कक्षको स्थापना गर्ने काम भएको छ । सशस्त्र प्रहरी परिचरहरुलाई जवान सरहको सामानहरु, जुनियर अधिकृतहरुलाई टपबुट एवं सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकहरुले कार्यालय पोशाकमा कलर डक्स लगाउने व्यवस्था गर्ने सम्बन्धमा अन्य सुरक्षा निकायहरुमा भएको व्यवस्थालाई समेत आधार मानी बृहत छलफल गरी उपयुक्त राय सहितको प्रतिवेदन पेश गर्ने । फौजीका कर्मचारीहरुलाई Body Mass Index -BMI प्रणालीलाई पेशागत वृत्तिविकाससँग आवद्ध गर्न के. कस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ, सो सम्बन्धमा राय सहितको प्रतिवेदन पेश गर्ने भनिएको छ । सशस्त्र कर्मचारीहरु सरुवा/बढुवा भई एक युनिटबाट अर्कोमा जाँदा प्रयोग गर्ने बेड/विस्तारा समेत साथमा लिएर जाने परम्परा झन्झटिलो एवं असुविधायुक्त परिपाटी अन्त्य गरी गुल्म तहसम्मले कार्यरत कर्मचारीहरुले प्रयोग गर्ने बेड विस्ताराहरुको आवश्यक व्यवस्थापनको लागि निर्देशन दिइएको र सोही अनुसार व्यवस्थापन भइरहेको छ । सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको सुविधा,तिनका सन्तानको हितलाई मध्यनजर गर्दै गण तहसम्मका इकाईहरुले आवश्यकताको आधारमा शिशु स्याहार केन्द्र, प्ले ग्रुप स्थापना गरी संचालन गर्नको लागि निर्देशन दिने । पूर्व सशस्त्र प्रहरी कर्मचारी एवं आफन्तजनहरु कुनै यूनिटमा भेटघाटको लागि आउँदा उनीहरुलाई खानाका साथैं बस्नको प्रबन्ध संस्थागत तवरबाट सम्बन्धित युनिटले व्यवस्थापन गर्ने,युनिटले गर्न सक्ने सकल दर्जाको हित हुने सानातिना कल्याणकारी कार्यहरु संचालन गरी सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न आन्तरिक श्रोतहरुको पहिचान गर्ने लगायतका कामहरु हुँदै आइरहेका छन् ।
‘शक्तिकेन्द्र धाउन बन्द’
सशस्त्र प्रहरीको इन्चार्ज हुन अब शक्तिकेन्द्र धाउनु पर्ने परिपाटी अन्त्य भएको छ । सरुवा वैज्ञानिक र पारदर्शी बनाउने योजना अनुरुप नै कार्यालय प्रमुख(इन्चार्ज)का रूपमा सरुवा हुने सरुवा बर्ष दिन अगाडि नै पूर्वानुमान सूची सार्वजनिक गर्ने यसो हुँदा अर्काे बर्ष म कहाँ पुग्दछु भन्ने पहिल्यै थाहा हुने भयो । सरुवामा हुने अनावश्यक चलखेल रोकिने भयो । कमाण्डमा सबैले समान अवसर पाउने भए । सशस्त्र प्रहरीमा बिओपी, गण, गुल्म, तालिम केन्द्रमा इन्चार्ज खटाउने प्रक्रियालाई पारदर्शी गराइने र यसबाट अनावश्यक दबाब र चलखेलसमेत रोकिने छ । गण, गुल्म र बिओपीमा एक पटक पनि कमाण्ड नगरेकालाई पहिलो प्राथमिकतामा राखिएको छ । यस्तै, एसपीको हकमा तालिम शिक्षालय तथा रिजर्भ गणको इन्चार्ज भएकालाई दोस्रो प्राथमिकता र एउटा गणको कमाण्ड गरी कमाण्ड बाहिर रहेकालाई तेस्रो सूचीमा राखिएको छ । डिएसपीको हकमा २०७७ सालभन्दा अघि अनाश्रीत गुल्मको कमाण्ड गरेकालाई कमाण्डको रुपमा गणना नगरिने तथा पूरा अवधि कमाण्ड गर्न नपाएकालाई पनि प्राथमिकताको सुचीमा राखिएको छ । बिओपीको इन्चार्जका लागि एकपटक पनि इन्चार्जमा नखटिएका प्राथमिकताको पहिलो सूचीमा छन् । कमाण्ड अवसरलाई समान रुपमा वितरण गरी सरुवालाई न्यायोचित र पूर्वानुमानयोग्य बनाउन नयाँ मापदण्ड लागू गरिएको हो । यस्का अलवा एक जवान एक बेडको अवधारणा,१०ः१ को अनुपातमा शौचालय व्यवस्थापन, चाडपर्वका अवसरमा कर्मचारी र आश्रित परिवारका लागि निशुल्क बस सेवा संचालन (काठमाडौं–काँकडभिट्टा–काठमाडौं),(काठमाडौं–गड्डाचौकी–काठमाडौं), मेस व्यवस्थापन, इन्टिलिजेन्स व्यूरो बाहेक अन्य कर्मचारी सादा पोशाकमा खटाउन रोकजस्ता सुधारका प्रयत्नहरु भएका छन् ।
अर्याललाई नजिकबाट चिन्ने र जान्नेहरु भन्छन् उनी जतिको इमान्दार अफिसर सशस्त्रमा यस अघि कोही आएका थिएनन् ।

बिज्ञापन

प्रस्तुति: हरि/महेश्वर

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।