बैठकसम्बन्धी सानो नगरिएको तर गर्नैपर्ने काम

विषय प्रवेश 

बिज्ञापन

सार्बजनिक निकायमा काम गर्ने उच्च पदस्थ व्यक्तिको कार्यालय समयमध्ये के कति समय बैठकमा बिताउँनु पर्छ होला ? बैठकका लागि तोकिएको स्थानमा पुगेर पनि बैठक शुरु नभएको कारण के कति समय कुर्नु परेको होला ? निज बैठकमा गएको वा बसेको कारण अरुले के कति समय कुर्नमा लगाए होलान ? यस्ता बैठकहरूमध्ये के कति बैठक उत्पादनमूलक बने होलान ? कति गर्नै पर्ने र के कति नगर्दा पनि हुने बैठक थिए होलान ?

बिज्ञापन

हामीकहाँ सार्वजनिक निकाय वा संस्थामा बैठकमै के कति समय खर्च भयो भनेर गणना गर्ने अभ्यास भएजस्तो लाग्दैन् । तोकिएको कामका लागि कतिओटा बैठक बस्नु पर्थ्यो र के कति बैठक बसे भनेर हेर्ने, अध्ययन गर्ने र विश्लेषण गर्ने अभ्यास छैन् । साथै बैठकको अवधि पनि के कति हुनुपर्छ भन्नेमा एकरूपता छैन् । बसेका बैठकमध्ये के कति उत्पादनमूलक भए र के कति अनुत्पादनमूलक भए भनेर छुट्याउने काम त अझ परको विषय भयो ।बैठककै कारण एउटाले कुर्ने र अर्कोलाइ कुराउने कार्य नियमितता जस्तो भइसक्यो । यहि कारण मुलुकको के कति समय खर्च भएको होला ? साथै यसको असर वा प्रभाव सेवा प्रवाहमा के कति मात्रामा परेको होला ?

यहाँ कसले कुर्नुपर्यो वा कसले कसलाइ कुरायो भन्दा पनि के कति समय व्यर्थ गयो वा अनुत्पादक भयो भन्ने हो । एकठाउँमा कुर्नेले अर्को ठाँउमा अरु कसैलाइ कुराइरहेको पनि हुनसक्छ । यो त आफैमा अर्डरको रूपमा रहने देखियो । यसरी कुर्ने कुराउनेमा राजनीतिज्ञ, प्रशासक, डाक्टर, इन्जिनियर, प्राध्यापक, शिक्षक जो कोही पनि हुन सक्छन् ।

बिज्ञापन

बैठककै कारण समय खर्च भयो भनेर के यसलाइ नगर्दा हुन्छ त ? बन्दै गर्न सकिन्छ त ? संगठनमा शायद बैठक चाहिन्छन होला । तर बैठककै कारण अहिले खर्च भइरहेको कुर्ने र कुराउने समय कम सकिन्छ कि ? यसैगरी कम भन्दा कम समयमा अहिलेका भन्दा उपलब्धिमूलक बैठक गर्न सकिन्छ कि ? एकपटक सबैले सोच्ने कि ।

जिप्पीया डट कम (www.zippia.com/advice/meeting-statistics/) अनलाइन पोर्टलमा दिइए अनुसार अमेरिकामा प्रत्येक हप्ता लगभग ५५ मिलियन बैठक हुन्छन्, जुन प्रति दिन सरदर ११ मिलियन र वार्षिक रूपमा सरदर एक बिलियन हुन आउँछ । प्रति हप्ता बैठकमा बिताउने समय सरदरमा ३ घण्टा हुन्छ जहाँ ३० प्रतिशत भन्दा बढि कर्मचारीले प्रति हप्ता सरदरमा ५ घण्टा बैठकमै बिताएका हुन्छन् । एउटा संगठनले आफ्नो काम गर्ने समयको लगभग १५% समय बैठकमा खर्च गरेको हुन्छ । सोमध्ये ७१% बैठकहरु अनुत्पादनमूलक देखिएको पाइयो । यस पोर्टलले त वार्षिक सरदरमा ३७ बिलियन युएस डलर यस्ता अनुत्पादकमूलक बैठकका कारण गुमेको उल्लेख गरेको छ ।

यसैगरी www.ambitionsaba.com/resources/time-wasted-in-meetings ले कार्यकारीको प्रति हप्ता सरदरमा २३ घण्टा समय बैठकमा सकिन्छ भनेर उल्लेख गरेको छ । साथै व्यवस्थापनमा संलग्नमध्ये लगभग ७१ प्रतिशतले बैठक अनुत्पादनमूलक भएको ठाने । बैठकमा प्रयोग भएको समयमध्ये लगभग ५० प्रतिशत समय एजेण्डाभन्दा बहिरका विषयमा खर्च हुने गर्दछ । अन्य दस्तावेजमा पनि सबै बैठक उपलब्धिमूलक बन्न नसकेको विवरण पाउन सकिन्छ ।

समयको सदुपयोगका सम्बन्धमा विकसित मुलुकका कार्यकारी, तहाँका संगठन र जनशक्ति सचेत छन् । उनीहरु बाटोमा हिंड्दा पनि छिटो छिटो हिंडछन् । समय पालनामा अनुशासित छन् । यस्तो अवस्थामा त बैठकका नाममा त्यतिका समय र खर्च लाग्ने रहेछ । कम विकसित मुलुक, जहाँ समय पालनामा उच्च स्तरको संवेदनशिलतामा कमी छ, तहाँ बैठकमा के कति समय र खर्च अनुत्पादनमूलक बनेको होला ?

के बैठक बस्नै पर्छ र ?

सार्वजनिक वा सामुदायिक निकाय वा संघ संस्थामा बैठक गभर्नेन्सको अभिन्न अङ्ग नै हो । यसको आवश्यक छ । बैठक नहुने भन्ने अवस्थाको अनुमान गर्न सकिन्न होला । कतिपय विषयहरुमा साझा धारणा बनाउन, गर्नुपर्ने कामलाई बैधता दिन, सामूहिक भावना विकसित गर्न गराउन, विषयवस्तु माथी गहिरो विश्लेषण गरी समाधानका उपाय खोजी गर्न बैठकको आवश्यकता पर्छ । विषयवस्तुमाथि गहिरो अध्ययन गरी इभडेन्ससहितको विश्लेषणबाट उपाय खोजी गर्न पनि बैठक चाहिन्छ । यस्ता बैठककले निर्णयमा सामूहिकताको भावना अवलम्बन गर्न सहयोग गर्छ नै ।

बैठकका सम्बन्धमा खास समस्या के हो त ?

हामी कहाँ आवश्यक्ता भन्दा धेरै बैठक भए भन्ने छ । राम्रो तयारी नगरिकन बैठक बस्ने गर्दछ । आयोजक एवम् सहभागी दुबैले कम तयारी वा तयारी नगरिकन बैठकमा जाने आम प्रवृत्ती देखिन्छ । एजेन्डा भन्दा बाहिरका विषयमा बोल्ने एवम् धेरै लामो बोल्ने समस्या छन् । यस्ता कार्यले बैठक नै किन चाहियो भन्ने स्तरमा पुर्याएको छ । नागरिक र स्वयम् कर्मचारीमा बैठकप्रति नकारात्मक धारणा विकसित गराएको छ ।

आमरुपमा बैठकहरु विषय केन्द्रित हुन नसकेको जग जाहेर नै छ । अधिकाँश वक्ता लामो लामो बोल्छन् । समयमा बैठक सञ्चालन हुन नसक्दा समयमै आउने सहभागीले सजाय पाए जस्तो महसुस गर्नुपर्ने अवस्था छ । कुनै एकको कारण अन्य सहभागीले लामो समय कुर्नुपर्ने बाध्यता छ ।

एकातिर बैठककै कारण अनावश्यक रुपमा कुर्नुपर्ने, अर्कोतिर सेवाग्राहीको सेवा अवरुद्ध हुने कार्यले समग्र सेवा प्रवाह प्रभावित भएको छ । नागरिकले बैठककै कारण यस्तो भएको धारणा बनाएका हुनसक्छन् । आफ्नो वर्किङ स्टेशनमा नभेटिने सबैलाइ बैठकमा गएकै कारण यस्तो भएको धारणा आम नागरिकले बनाई रहेका छन् ।

कुनै कुनै परिस्थितिमा तोकिएकै समयमा बैठक सञ्चालन हुन नसक्ला, सो अपबादको रुपमा रहन सक्छ । तर हामीकहाँ बैठक समयमा सञ्चालन गर्न नसक्ने अनि नेपाली टाइम यस्तै हो भन्ने भाष्य बनाउने गरिएको छ । यस्ता समस्या आयोजक, बैठकको अध्यक्षता गर्ने व्यक्ति र सहभागीकै कारण आएका हुन । विधि प्रकृया नबनाएर आएका हुन ।

बैठकका सम्बन्धमा देखिएका यस्ता समस्या रोक्नै नसकिने हो त ?

बैठक सम्बन्धी माथि उल्लेख गरिएका र यस्तै अन्य नकारात्मक प्रवृत्ती रोक्नै नसकिने भन्ने त होइन । यसका लागि बैठकको अध्यक्षता गर्ने व्यक्ति र बैठक सम्बन्धी तयारी गर्ने दुवै पक्ष अत्यन्त संवेदनशिल बन्नुपर्छ । सहभागी पनि उत्तिकै मात्रामा जिम्मेवार हुने भएकेले यीनको भूमिकामा पनि सुधार चाहिन्छ । अपवादमा बाहेक बैठकहरू तोकिएकै समयमा सञ्चालन गर्ने संस्कार बसाल्नुपर्छ । आवश्यक तयारी गरेरमात्र बैठक बस्नुपर्छ ।

यसमा सुधार गर्न सर्बप्रथम बैठकसम्बन्धी केहि मूलभूत पक्षहरूमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । कतै हामी चाहिने भन्दा बढि संख्यामा बैठक राखेका त छैनौ ? पहिलो प्रश्न बैठक कति राख्यौं भन्ने हो ? बसेका बैठक कति उपलब्धीमूलक भएका छन् त ? हामी एजेण्डामा आधारित भई कति छलफल गरेका छौं त ?

सामान्यतया ३० मिनेटसम्मको बैठकमा सहभागीहरूको ध्यान विषयवस्तुमा केन्द्रित हुन्छ । सोभन्दा लामो समयमा लागि बैठक लम्बिएमा सहभागिता क्रमश घट्न शुरु गर्छ भन्ने जानकारी अनुसन्धानबाट पाइएको छ । पहिलो १५ मिनेटसम्म सहभागीहरुमध्ये ९१ प्रतिशतले बैठकका विषयवस्तुमा ध्यान केन्द्रित गर्छन । यस्तो सहभागीको हिस्सा ८४% मा झरिसक्छ यदि बैठक ३० मिनेटसम्म लम्बिएमा । बैठक जति लामो बन्दै जान्छ सहभागीको सहभागिता सोहि मात्रामा क्रमशः घट्न सक्छ ।

सामान्यतया ४५ मिनेट अवधिसम्मको बैठकलाइ राम्रो मानिन्छ । किनकी यस अवधिसम्म तीन चौथाइ सहभागीहरूले बैठकका विषयवस्तुप्रति आफ्नो ध्यान केन्द्रित गरिरहेका हुन्छन् । ४५ मिनेट मै बैठक नसकिए पनि यसलाइ एकघण्टा भन्दा बढि समयका लागि यसलाई लम्ब्याउनै हुँदैन । किनकी एक घण्टासम्मको बैठकमा कुल सहभागीमध्ये लगभग ६४% को सहभागिता बैठकका एजेण्डामा केन्द्रित हुन्छ भन्ने गरिन्छ । तसर्थ हाम्रो सन्दर्भमा विषयवस्तु हेरेर ३० मिनेटदेखि ६० मिनेटसम्ममा बैठक सक्ने व्यवस्था अवलम्बन गर्नु उपयुक्त देखिन्छ ।

यस अवधिमा बैठक सम्पन्न गर्न आयोजकले राम्रोसँग तयारी गर्नुपर्छ । एजेण्डा, छलफलका विषयवस्तु र अपेक्षित उपलब्धी बैठकभन्दा अगाडी तयारी गर्नुपर्छ, बैठकका सहभागीहरूलाइ पठाउनुपर्छ । सहभागीले पनि अध्ययन गरेर मात्र बैठकमा सहभागी हुनुपर्छ । बोल्नैका लागि बोल्नु पर्ने स्वभाव छोड्नुपर्छ । हरेकले ‘टक अलवेयज लेस म्यान नेसेसरी’ भन्ने धारणालाई आत्मसात गर्नुपर्छ । लिखित नोट तयार गर्ने एवम् संक्षिप्तमा बोल्ने संस्कार विकास गर्ने, सम्बोधनमा समय खर्च नगर्ने, अरुको भनाईमा सहमती जनाउन सक्ने जस्ता संस्कार विकास गर्नुपर्छ ।

बैठक प्रभावकारी हुनका लागि बैठकको अध्यक्षता गर्ने व्यक्ति र तयारी गर्ने समूहको भूमिका महत्वपूर्ण हुन्छ । बैठकको अध्यक्षता गर्ने व्यक्तिमा बैठकका आधारभूत प्रकृयाका बारेमा जानकार हुनुपर्ने मात्र होइन, सचेत हुनु पनि उत्तिकै आवश्यक छ । बैठकको उद्देश्य के हो ? अर्थात कुन उद्देश्य पूरा गर्नका लागि बैठक राख्न खोजिएको हो ? बैठकका एजेण्डा के कति छन् ? के कसरी तय गरिएका छन् ? बैठकका सहभागी एवम् सदस्यहरु को को हुन् ? बैठकको अध्यक्षता गर्ने र तयारी गर्ने समूहले यी यस्तै प्राविधिक विषय क्षेत्रमा गर्नुपर्ने स-साना कार्यको टिपोट (चेकलिष्ट) बनाउनुपर्छ ।

बैठकलाई प्रभावकारी बनाउन माथिका विषयका साथमा देहायका विषयमा ध्यान पुर्‍याउनुपर्छ । सर्बप्रथमत यसलाइ तीन चरणमा बाँडेर सोहि बमोजिम तयारी गर्नुपर्छ । यी तीन चरणलाइ बैठक पूर्व तयारीको चरण, बैठक संचालनको चरण र बैठक पश्चातको चरण भनेर बाड्न उपयुक्त हुन्छ ।

  • बैठक पूर्व तयारीको चरण
  • बैठकको एजेण्डा तय गर्ने ।
  • बैठकको एजेण्डा पुगे नपुगेको एकिन गर्ने ।
  • बैठक बस्ने स्थान र समय एकिन गर्ने ।
  • सदस्यहरुलाई निमन्त्रणा पठाउने । विज्ञ वा अन्य कुनैलाइ आमन्त्रण गर्नु पर्ने भएमा सो नाम पनि एकिन गर्ने ।
  • पत्र वा निमन्त्रणा पुगे नपुगेको फ्लोअप गर्ने । सदस्य उपस्थित हुन सक्ने नसक्ने अवस्था एकिन गर्ने ।
  • बैठकमा बसाइ व्यवस्थापन एवम् वितरण गरिने सामग्री, खाजा र अन्य व्यवस्थापकिय पक्षहरूको बारेमा आवश्यक तयारी गर्ने ।
  • बैठकमा विषयहरू टिपोट गर्ने जिम्मेवारी तोक्नुपर्ने ।
  • बैठकको विषयसँग सम्बन्धित विषयमा आवश्यक विवरण सङ्कलन गर्नुपर्ने । त्यसको बारेमा जानकार हुनुपर्ने । अघिल्लो बैठक भएको भएमा सोको प्रगति विवरण तयार गर्नुपर्ने ।
  • बैठकमा प्रस्तुतीकरण गर्नुपर्ने विषय भएमा सोको तयारी र प्रस्तुतिकरणको जिम्मेवारी तोक्नुपर्ने ।
  • बैठकको अपेक्षित उपलब्धीका बारेमा स्पष्ट हुनुपर्ने ।
  • बैठकबाट हुनुपर्ने सम्भावित निर्णयहरुको मस्यौदा तयार गर्नुपर्ने ।
  • बैठकको समयमा पालना गर्नुपर्ने विषयहरु
  • आयोजक तोकिएको समयभन्दा अगाडी नै बैठक हुने स्थानमा पुग्नुपर्ने ।
  • प्रस्तुतिकरण गर्नुपर्ने विषयहरू भएमा कम्प्यूटर, डिस्प्ले बोर्ड आदिलाइ बैठक शुरू हुन अगाडि नै परीक्षण गरी तयारी अवस्थामा राख्नुपर्ने ।
  • बैठकका सदस्य एवम् सहभागीहरुसँग आयोजकले शिष्टाचार निर्वाह गर्नुपर्ने ।
  • तोकिएकै समयमा बैठक संचालन गर्नुपर्ने ।
  • अध्यक्षता गर्ने व्यक्तिले शुरुमा बैठकमा स्वागत, बैठकको उद्देश्य, प्रकृया, अपेक्षित उपलब्धी र समयको बारेमा स्पष्ट पार्नुपर्ने । बैठकको प्रकृया र समयका बारेमा विशिष्ट रूपमा जानकारी गराउनु पर्ने ।
  • अध्यक्षता गर्ने व्यक्तिले बैठकको एजेण्डा प्रस्तुत गर्ने ।
  • हरेक एजेण्डा प्रस्तुत गरिसकेपछि सहभागीहरुलाई छोटकरीमा आफ्नो मत राख्न अनुरोध गर्ने ।
  • बैठकका सहभागीले बोलेको समयमा हतार छ भनेर निजलाइ रोक्नु भन्दा सहजीकरण गर्नुपर्ने ।
  • बैठकको क्रममा बीचमा आइस ब्रेकर राख्ने, जसबाट बैठक स्मुथ रूपमा अगाडि बढ्न सकोस । अध्यक्षले संक्षिप्तमा आफ्ना कुरा राख्ने र अन्य सहभागिहरूलाइ पनि सोहि अनुसार गर्न उत्प्रेरित गर्ने । सहजिकरणको क्रममा सहभागीहरूलाइ एजेण्डामा केन्द्रित हुन अनुरोध गर्नुका साथै एजेण्डामा ल्याउने ।
  • बैठकको निर्णयको मस्यौदा अध्यक्षले एक आपसमा सल्लाह गरी तय गरेर सचिवालय वा निर्णय तयार गर्ने समूहलाई जिम्मा दिने । यसलाइ सँगै बसेको सचिवालय समूहका कम्प्यूटरमा तयार गर्न सके अझ राम्रो ।
  • समयको बारेमा सबैलाइ समय समयमा जानकारी दिने ।
  • अन्तमा बैठकको निर्णय तयार गरी सदस्यहरुलाई अध्ययन एवम् पृष्ठपोषणका लागि दिने । सम्भव भएसम्म सोहि दिनमा नै माइन्यूट तयार गरेर हस्ताक्षर गराउने । सोही बैठकमा निर्णय तयार गर्न नसक्ने अवस्था भएमा सैद्धान्तिक रुपमा सहमती जनाउने वातावरण तयार गरेर मात्र पृष्ठपोषणका लागि पठाउने । पृष्ठपोषण प्रदान गर्नका लागि समय तोक्ने र उक्त सुझाव पश्चात निर्णय प्रमाणिकरण गरी सबैलाइ पठाउने ।
  • बैठकको अन्तमा अध्यक्षले संक्षिप्तमा निर्णयको सारांश सुनाई धन्यवाद सहित बैठकको समापन गर्ने ।
  • बैठक पश्चात
  • प्रमाणित निर्णय अभिलेखमा राख्ने ।
  • निर्णयको वस्तुस्थिति हेरी सार्वजनिक जानकारीमा ल्याउने ।
  • निर्णय कार्यान्वयनका लागि लेखि पठाउने ।
  • निर्णय कार्यान्वयन गर्नका लागि आवश्यकता अनुसार कार्ययोजन बनाइ सोको निरन्तर फलोअप गर्ने व्यवस्था मिलाउने ।

माथिका कामहरू गर्न सके बैठक अवश्य पनि प्रभावकारी बन्न सक्छन् । तर हाम्रा बैठक किन भइरहेका छैनन त ॽ कतै हामी यो सानो काम त हो नि भन्ठानेर आवश्यक तयारी नै नगरिकन बैठक त बसिरहेका त छैनौ ॽ

स्टेभेन बार्टलेटले सन् २०२३ मा ‘द डायरी अफ अ सिइओ’ पुस्तक प्रकाशन गरे । यस पुस्तकमा व्यक्तित्व विकास, अन्य व्यक्तिसँगको सम्बन्ध, पेशागत विकासमा सहयोग पुग्ने खालका ३१ ओटा नियमहरु सुझाइएका छन् । उनले साना काम गर्न पनि सजिलो छ, नगर्न पनि सजिलो छ भनेका छन् । मलाई यो सानो काम गर्न र नगर्न उत्तिकै सजिलो छ भन्ने वाक्यले अत्यन्त छोयो । हरेक साना काम जसले गर्दै जान्छ उक्त काम जोडिएर ठूलो नतिजा बन्ने हो । साना काम नगर्दा तत्काल केही असर देखिंदैन । अवस्थामा तात्विक भिन्नता आउदैन तर जुन दिन थाहा हुन्छ अनि ढिलो हुन्छ । एकै दिनमा ह्वात्तै ठूलो काम हुने होइन ।

अनि मलाई लाग्यो हाम्रा बैठकहरु प्रभावकारी बन्न नसक्नुका पछाडी यहि साना काम नगरेर नै होला जस्तो लाग्छ । एउटा बैठक चलाउने त हो नि भन्ने प्रवृत्ती हामीमा छ । यस्ता कुरा थाहा छँदैछ भन्ने मान्यताले पनि काम गरेको हुन सक्छ । यस्ता कारणहरूले गर्दा बैठकहरु समयमा शुरु नहुने, एजेण्डामा फोकस नहुने, सहभागीले लामो लामो बोल्ने कार्यहरु भइरहेका छन् । आयोजकको राम्रो तयारीले यस्ता कार्यलाई सही बाटोमा डोर्‍याउन सहयोग पुग्दछ ।

यस्ता साना कार्यमा सुधार कसले गर्ने त ? बैठक जो जससँग सम्बन्धित छ, ती सबैले यस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ । आयोजकले पनि पूर्ण तयारी गर्नुपर्छ । बैठकमा सहभागी हुनेले पनि पर्यटकको शैलीमा जाने होइन । तहाँ पुगेपछि बुझिहालिन्छ नि भनेर पनि हुदैन् । तयारी गरेर जानुपर्छ । सहभागीले पनि बैठकमा जानुपूर्व नै बैठकका एजेण्डा के के हुन् भनि सोधखोज गरेर त्यसमा तयारी गरेर जानुपर्छ । कम बोलेर आफ्ना कुरा राख्नमा अभ्यास गर्नुपर्छ । जबसम्म यस्ता संस्कारमा परिवर्तन ल्याउन सकिदैन, सुधार सम्भव छैन् । यस्ता कार्यमा संस्कार विकास गर्न सकेमा बैठकमा सुधार ल्याउन सकिन्छ ।

(डा. हरिप्रसाद लम्साल, सचिव नेपाल सरकार । निज हाल सुदूरपश्चिम प्रदेश सरकारसँग सम्वद्ध हुनुहुन्छ । यसमा व्यक्त विचार लेखकका निजी मत हुन् ।)

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष