सामान्य भाषामा औसत आयु भन्नाले निर्धारित समयमा जन्म भएको व्यक्तिको औसत बाँच्ने अवधिलाई जनाउँदछ । यसको अवधारणा जन्मदर, मृत्युदर लगायत महत्वपूर्ण व्यक्तिगत घटना सम्वन्धी जनसाँख्यिक अध्ययनको सिलसिलामा विकसित भएको पाइन्छ । १७ औँ शताब्दीको अन्त्यमा एडमण्ड हेलीले विभिन्न उमेर समूहका औसत आयु गणना गर्न मृत्युदर तथ्याङ्कमा आधारित जीवन तालिका निर्माण गरेका थिए । औसत आयु जनसंख्याको स्वास्थ्य र कल्याणको मूल्याङ्कन गर्नको लागि व्यापक रुपमा प्रयोग गरिएको सूचक हो । त्यसैले यसलाई समृद्घिको सूचक समेत भनिन्छ । सम्पूर्ण राष्ट्रको विकासका लागि चौतर्फी विकास हुनु अपरिहार्य रहेको अवस्थामा विकासको केन्द्र विन्दुमा मानव विकास रहेकोले सोको मापन गर्न समेत औसत आयु अति नै महत्वपूर्ण सूचकको रुपमा रहेको हुन्छ र यसलाई स्वास्थ्य तथा आरोग्यता, शिक्षा, पोषण, सरसफाई, रोजगारी, लगायत विविध भौगोलिक, आर्थिक, सामाजिक, वातावरणीय तथा अन्य विविध पक्षहरुले प्रत्येक्ष प्रभाव पारेको हुन्छ ।
बिज्ञापन
हालै राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्याङ्कको विश्लेषण गरी नेपालीको जन्मदाको औसत आयु ७१.३ वर्ष पुगेको विवरण सार्वजनिक गरेको छ र यसले नेपालको औसत आयुले सुखद फड्को मारेको देखिन्छ । वि.सं. २०१८ सालमा नेपालीको औसत आयु २८ वर्ष मात्रै थियो । वि.संं. २०४८ मा नेपालीको औसत आयु ५४.३ वर्ष र वि.सं. २०६८ मा नेपालीको औसत आयु ६६.६ वर्ष रहेको थियो । यसरी राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क प्रयोग गरी नेपालीको जन्मदाको औसत आयुको विवरण सार्वजनिक गरेसँगै कर्णाली बासीको सरदर आयु राष्ट्रिय औसत भन्दा बढि ७२.५ वर्ष भएको जानकारीमा आएपछि सर्वसाधारण र सरोकारबालाले तथ्याङ्कको विश्वसनीयतामा शङ्का गरेको देखिन्छ किनकी कर्णाली प्रदेशको मानव विकास सूचकांक ०.५३८ मात्रै रहेको छ, जुन राष्ट्रिय मानव विकास सूचकांक ०.६०२ भन्दा निकै कम रहेको छ । तर औसत आयु निकाल्न शिशु मृत्युदर सहित उमेर अनुसारको मृत्युको सँख्या र उक्त उमेरमा जनगणनाको समयमा जिवित रहेको व्यक्तिको जनसंख्या आवश्यक पर्दछ । यस पटकको जनगणना कोभिडको असर रहेकै समयमा भएको र उक्त समयमा भारतमा काम गर्ने कर्णाली बासि अन्य प्रदेशको तुलनामा वढि अनुपातमा आफ्नो घरमा बसोबास गरेको हुन सक्छ । त्यस्तो अवस्थामा कर्णाली प्रदेशमा उमेर अनुसारको मृत्यु दर कम हुन गई जन्मदाको उमेरको सरदर आयु बढी निस्कनु स्वभावतः ठिकै हो । अर्को कुरा माथि भनिए जस्तै औसत आयु निकाल्न उमेर अनुसारको मृत्यु सख्या आवश्यक पर्ने र मृत्यु सम्वन्धी विवरण कर्णाली प्रदेशमा अन्य प्रदेशमा भन्दा कोभिड को समयमा उत्तरदाताले न्यून वताएको अवस्थामा समेत मृत्युको गणना कम भइ सरदर आयु बढी निस्केको हुन सक्छ । प्रदेश मध्ये सवैभन्दा कम औसत आयु लुम्बिनी प्रदेशको जम्मा ६९.५ वर्ष मात्र रहेको तथ्याङ्कले देखाउँछ, जसले विविध आयामहरुमा समिक्षा गर्न बाध्य पारेको छ । लुम्बिनी प्रदेशको औसत आयु कम हुनुमा देहायका सूचकहरुले खेलेको भूमिका नियालेर हेर्नुपर्ने हुन्छ ।
बिज्ञापन
सूचकहरुको विश्लेषण
बिज्ञापन
१. कोरा जन्मदर (प्रति १०००) : नेपालको कोरा जन्मदर १४.२१ छ भने लुम्बिनी प्रदेशको १४.९४ रहेको छ । कोरा जन्मदरले कुनै निश्चित अवधिमा ( १ वर्ष ) प्रति हजार जनसंख्यामा जिउँदै जन्मेका शिशुहरुको जनसंख्यालाई जनाउँदछ ।
२. कुल प्रजनन दर : नेपालको कुल प्रजनन दर १.९४ रहेकोमा लुम्बिनी प्रदेशको १.८४ मात्रै रहेको छ । र यसले १५ वर्ष देखि ४९ वर्ष सम्मको १ जना महिलाले प्रजनन अवधिभर जन्माउने जिवित जन्मको जम्मा बच्चा संख्यालाई जनाउँछ ।
३. कोरा मृत्युदर : नेपालको कोरा मृत्युदर ६.८१ रहेको छ भने लुम्बिनी प्रदेशको ७.०८ रहेको छ । यो सूचकले कुनै निश्चित ठाउँको १ वर्ष भरिमा प्रतिहजार जनसंख्यामा मृत्यु हुने व्यक्तिहरुको संख्यालाई जनाउँदछ जुन यस लुम्बिनी प्रदेशको कोरा मृत्युदर नेपालको औसत भन्दा बढी देखिएको छ ।
४. शिशु मृत्युदर : शिशु मृत्युदरले प्रतिहजार जिवित जन्मेका शिशुहरुमध्ये १ वर्षको उमेर नपुग्दै ( शिशु उमेरमा ) मृत्यु हुने शिशुहरुको संख्यालाई जनाउँदछ । नेपालको शिशु मृत्युदर १७ रहेको छ भने लुम्बिनी प्रदेशको २० रहेको छ, जुन मधेश प्रदेश पछि दोस्रो स्थानमा बढी शिशु मृत्युदर रहेको छ ।
५. बाल मृत्युदर : यसले १ वर्ष देखि ५ वर्ष मुनिका ( १–४ वर्ष ं) प्रति हजार बालबालिका मध्ये कुनै १ वर्ष भित्र मृत्यु हुने बालबालिकाको संख्यालाई देखाउँछ । र नेपालको बाल मृत्युदर ६.१ रहेकोमा लुम्बिनी प्रदेशको ६.७ रहेको छ जुन प्रदेशहरुमै सबैभन्दा उच्च रहेको तथ्याङ्कले देखाउँछ ।
६. मातृ–मृत्यु अनुपात : यो अनुपातले प्रति एक लाख बच्चाको जन्ममा महिला गर्भवति भएदेखि वा बच्चा जन्माउने क्रममा वा सुत्केरी भएको ४२ दिनसम्म प्रसूतिको कारणले मृत्यु भएका आमाको संख्याको अनुपातलाई जनाउँदछ । नेपालको मातृ–मृत्यु अनुपात १५१ छ भने लुम्बिनी प्रदेशको २०७ छ, जुन प्रदेशहरुमै सबैभन्दा उच्च रहेको छ ।
७. खुद बसाइँसराइ दर : यो दरले कुनै एक वर्षमा कुनै देशमा बसाइँ सरेर अन्य देशबाट आउने जनसंख्याबाट सोही अवधिमा सोही देशबाट बसाइँ सरेर अन्य देशमा जाने जनसंख्याको अन्तर र सो स्थानको मध्यवर्षको जनसंख्याको अनुपातलाई १००००० ले गुणन गरी आउने दर हो । यो दर निकाल्दा पछिल्ला पाँच वर्षमा बसाइँसरेका व्यक्तिहरुलाई समावेश गरिएको छ । नेपालको खुद बसाइँसराइ दर (–३७५२ ) रहेको छ, भने लुम्बिनी प्रदेशको ( –४११८ ) रहेको छ ।
८. प्रवासन दर : नेपालको प्रवासन दर ४५६२ रहेकोमा लुम्बिनी प्रदेशको ५१०८ रहेको छ । यसले मानिसहरुको स्थानान्तरणलाई देखाउछ, जुन विविध कारणहरुले बसाइँसराइ गर्दछन् जसमा रोजगारीको अवसर बढाउन वा जीवनको गुणस्तरमा सुधार ल्याउन ।
९. साक्षरता दर : नेपालको कुल साक्षर ७६.२५ रहेको छ, भने लुम्बिनी प्रदेशको ७८.०८ रहेको छ । यस प्रदेशको साक्षरता दर नेपालको औसत साक्षरता दर भन्दा बढी देखिएको छ । यो दर निकाल्न ५ वर्ष वा सो भन्दा माथिका उमेर भएका पढ्न लेख्न जान्ने व्यक्तिलाई सोही उमेरका कुल जनसंख्याले भाग गरी आएको प्रतिफललाई १०० ले गुणन गर्दा प्राप्त हुने नतिजा हो ।
१०. वृद्घ–वृद्घाको जनसंख्या : नेपालको ६५ वर्ष वा सो भन्दा माथिको वृद्घ–वृद्घाको जनसंख्या ६.०९ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ भने, लुम्बिनी प्रदेशको ५.६८ प्रतिशत रहेको छ ।
११. जम्मा श्रमशक्ति मध्ये अक्सर रोजगार जनसंख्याको प्रतिशत : यसले १० वर्ष वा सो भन्दा माथि उमेरका अक्सर रोजगारमा रहेका जनसंख्या र सोही उमेर समूहका अक्सर आर्थिक रुपले सक्रिय जनसंख्याको समानुपात प्रतिशतलाई मापन गर्दछ । नेपालको ४२.९७ प्रतिशत रहेको छ भने, लुम्बिनी प्रदेशको ४१.२३ प्रतिशत रहेको छ ।
१२. गरिवीसँग सम्बन्धित सूचक : नेपाल जीवनस्तर सर्वेक्षण २०७९÷८० अनुसार नेपालको गरिवीको अवस्था :– गरिवीको दर २०.२७, गरिवीको विषमता ४.५२ र गरिवीको गहनता १.४८ रहेको छ भने लुम्बिनी प्रदेशको गरिवीको अवस्था :– गरिवीको दर २४.३५, गरिवीको विषमता ५.८ र गरिवीको गहनता १.९९ रहेको छ । त्यस्तै, आर्थिक सर्वेक्षण २०७९÷८० ले नेपालको बहुआयामिक गरिवी १७.४ प्रतिशत देखाएको छ भने लुम्बिनी प्रदेशको बहुआयामिक गरिवी १८.२ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । यी सर्वेक्षणहरुले समेत लुम्बिनी प्रदेशको गरिवीको अवस्था राष्ट्रिय औसतको गरिवी भन्दा कमजोर रहेको देखाउँदछ ।
निष्कर्ष
विकासको केन्द्रविन्दुमा मानव रहेकोले औसत आयुलाई मानव विकास केन्द्रीत सूचकको रुपमा लिन सकिन्छ जुन स्वास्थ्य–उपचार, शिक्षा, पोषण, सरसफाई, गुणस्तरीय जीवनशैली, स्वच्छ वातावरण, मर्यादीत काम लगायतका विविध पक्षहरुसंग प्रत्येक्ष सम्बन्ध राखेको हुन्छ । राज्यले परिकल्पना गरेको समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न वा दिगो विकासका लक्ष्यहरु हसिल गर्न वा वि.सं. २१०० सम्ममा नेपालको दीर्घकालीन सोचको समृद्घ नेपाल, सुखी नेपालीको अवस्थामा पुग्न मानवीय पक्षका सबै क्षेत्रमा सार्थक उपस्थिति जनाउनु अपरिहार्य हुन्छ ।
(लेखक विपिन कुमार पंजियार राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक हुनुहुन्छ। )