एकातिर राजनीति आगोलागी रहेको छ,अर्कोतिर हरियो वन,नेपालको धन भनिएको जंङ्गल आगोलागीले ध्वस्त हुँदैछ । पछिल्लो १५ बर्षमा मात्र ४४ हजार ५११ हेक्टर वन डढेलोले सखाप पारेको विवरण भेटिन्छ । जसरी नेपाली राजनीतिमा ‘अक्टोबर’महिनामै अनेकन खालका क्रान्ति (आगो लाग्ने) हुने गर्दछ,यही सिजन हो,आगोलागीका कारण वन जङ्गल खरानी हुने,जनधनको क्षती पुग्ने तर बनै डढेर सखाप हुँदा पनि यस्को नियन्त्रणमा राज्यको उदासिनता देखिन्छ ।
बिज्ञापन
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम प्राधिकरणका अनुसार, मंगलबार मध्यान्हसम्ममा देशभरका २१ ठाउँमा आगलागी भइरहेको छ । सुदूरपश्चिमका ६,कर्णाली ४,लुम्बिनीका २,गण्डकीका २,कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा आगोलागी भइरहेको छ । बीचमा पानी परेर मात्र आगोलागी कम भएको हो । अघिल्लो साता एकै पटक देशभरका ९९० स्थानमा डढेलो लागिरहेकोमा बर्षादीले केही राहत दिँदा आगोलागीलाई राहत दिएको हो । हरेक चैत्र–जेठ महिनासम्म आगोलागी राज्यका लागि चुनौतिपूर्ण देखिदैं छ । पछिल्ला एक सातामा मात्र आगोलागीका ४९० घटनामा परेर ९ जनाले ज्यान गुमाएका छन् । ३४ घाइते अबस्थामा छन् । झण्डै २१ करोड (अनुमानित) आर्थिक क्षती भएको,३५८ पूर्वाधारमा क्षती पुगेको र ३११ पशु चौपायामा क्षती पुगेको नेपाल प्रहरीले जनाएको छ । पछिल्लो एक आर्थिक बर्ष अर्थात १३ वैशाख २०८० देखि १३ वैशाख २०८१ सम्ममा ४ हजार १४० वटा आगलागीका घटना हुँदा आगलागी र वन डढेलोबाट १२२ जनाले ज्यान गुमाएका छन् । ५४४ जना घाइते, २६१ करोड बराबरको अनुमानित आर्थिक क्षति,१ हजार ३०६ पूर्वाधारमा क्षय र २ हजार ३४९ पशु चौपायाको क्षति भएका छन् ।
बिज्ञापन
आगोलागी कतिसम्म भयाभह हुँदैछ भने २०६५ सालमा १६६७ हेक्टर वन आगोलागीले खाएकोमा ६६ सालमा २१३७ हेक्टर वन डढायो । ०६७ सालमा २७९३ हेक्टर,६८ सालमा १६१३ हेक्टर जङ्गल खरानी बनायो । यस्तै ६९ सालमा ३३४६,०७० सालमा २१०८ हेक्टर वन डढेलोले खाँदा ७१ सालमा २२७९,७२ सालमा ६२३४ हेक्टर वन डढेलोले उजाड बनाएको आँकडा सरकारी कार्यालयमा भेटिन्छ । यस्तै ७३ सालमा ७०६ हेक्टर,७४ सालमा २२१८,०७५ सालमा २९९०,७६ सालमा २९५०,७७ सालमा १२११,७८ सालमा ६५३७,०७९ सालमा १५२८ र ८० सालमा ३१९४ हेक्टर वन डढेलोले खाएको विवरण भेटिन्छ । सरकारी अधिकारीहरुका अनुसार आगलागीका घटनामध्ये ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापर्वाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको छ । पछिल्लो एक दशकमा वन डढेलो तथा आगलागीका घटनामा ८५७ जनाले ज्यान गुमाएका छन् । आगोलागीबाट ३ हजार ९३ घाइते भएका छन् । पछिल्लो चार महिनामै मात्र आगोलागीमा परेर ८४ जनाले ज्यान गुमाएका छन् भने ३०८ घाइते छन । यसरी डढेलोका कारण एकातिर हरियो वन सखाप,अर्कोतिर मानवीय र धनजनको क्षती हुने क्रम बढेसँगै बल्ल सरकारी अधिकारीहरुलाई तातो लागेको छ ।
आगो नियन्त्रण गर्नका लागि दुईवटा हेलिकप्टर किन्न खोजेको छ,गृह मन्त्रालयले । सकेसम्म दाताको मुख ताक्ने नभए वन विकास कोषको रकमले दुई वटा हेलिकप्टर किन्ने तयारी हुँदैछ । वनको विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यबाट गठन गरिएको वन विकास कोषमा अहिलेसम्म ४ अर्ब १० करोडभन्दा बढी रकम जम्मा भएको छ । वन विभागका अनुसार वन क्षेत्र प्रयोग गरेबापत ३ किसिमबाट उठेको रकम वन विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था ऐनमा छ । कसैले वन क्षेत्र प्रयोग गरेबापत वनको सट्टा जग्गा दिनुपर्छ तर कारणवश जग्गाा दिन नसक्ने भए सोबापत सरकारलाई क्षतिपूर्तिसरह रकम दिनुपर्ने कानुनमा व्यवस्था छ ।
बिज्ञापन
ठूल्ठूला विकास आयोजनाबाट प्राप्त हुन आएको रकम हो त्यो । यसैगरी, वन क्षेत्रमा एउटा रुख काटेबापत एक बराबर १० वटा वृक्षरोपण गर्नुपर्छ तर, कुनै कारणवश वृक्षरोपण गर्न नसक्ने भएमा त्यसबापत क्षतिपूर्तिसरह सरकारको खातामा रकम जम्मा गर्नुपर्ने प्रावधान छ । त्यही अनुसार जम्मा भएको रकमलाई हेलिकप्टर किन्नमा प्रयोग गर्न खोजिएको हो । गृह मन्त्रालयले उक्त रकमले दुई वटा हेलिकप्टर किन्ने र सशस्त्रलाई दिने गरी प्रक्रिया अगाडि बढाइरहेको छ । यस प्रकारको हेलिकप्टरले जसरी आगोलागेको ठाउँमा दमकलले पानी छ्यापेर नियन्त्रण गर्दछ,उसैगरी हेलिकप्टरले पानी छ्यापेर आगोलागी नियन्त्रण गर्ने बताइएको छ ।