चाइनिज कलमको धोको

जेठो बाठो यमनाथ, सुरिलो, खिरिलो शरीरका थिए।आफ्नो जन्मस्थानबाट करिब पाँच घण्टाको पैदलदूरीमा त्यस भेगकै नामि स्कुल अमरज्योतिमा उनका बाआमाले यमनाथको शिक्षादिक्षाको व्यवस्था मिलाएका थिए।उनी छात्राबासमा बसेर त्यस स्कुलमा  पढ्दथे।
होचो कदको भरत यामनाथको सापेक्षतामा सानो उमेरको थियो।यिनीहरूका बीचको उमेरमा त्यस्तै आठ-दश वर्षको फरक छ भने दुईजना अध्ययनरत कक्षाहरूका  बीचमा  भने जम्मा चार कक्षाको फरक!मतलब यमनाथ नौ कक्षामा पढ्दथे भने भरत पाँच कक्षामा भर्ना भै एउटै विध्यालयमा अध्ययनरत थिए।
शनिबारको छुट्टिमा बेलाबखत यमनाथ आफ्नो घर गोरखा सिरान्चोकको उत्तरपाटोको फेदी बेंसीमा आउने गर्थे भने भरत पनि छुट्टीका बेला आफ्नो घर लाङ्दी आराम गाउँ जाने थिए।एक दिन यी दुबै दाजुभाइको घरबाट स्कुल फर्कने सिलसिलामा चिप्लेटीमा भेट भएछ। र दुबैजना गफिंदै सँगसँगै स्कुलतिर फर्कंदै थिए।
स्कुल धेरै कडा थियो। विद्यार्थीले पाएको गृहकार्य समयमै गरेर बुझाउनु पर्ने !अन्यथा कडा कारवाही हुने थियो।समय अनुशासन  पालनामा पनि स्कुल त्यस्तै पारखी थियो।
स्कुलको त्यो कडा अनुशासनको परिदृश्यलाई मनमस्तिष्कमा कैद गर्दै  दुबै भाइ चिलाउने, थालाजु, थामडाँडा, खमारे, हर्मी हुँदै आँपिपलतिर सोझिए।
बाटो बेला- बेलामा तेर्सो छ, अनि फेरि उकालो छ। सुरुमा उकालो, अनि तेर्सो, ठाउँ -ठाउँमा छो-छोटा ओराला -उकाला , करीब बीचमा भने एउटा ठूलै ओरालो र त्यस्तै उकालो  फेरि तर्पेउँ तर्पेउँ तेर्सो र पुग्ने बेलामा यी दुबै भाइका बास बस्ने ठाउँ फरक- फरक थियो । अङ्ग्रेजी वाई आकारमा यिनीहरूका गन्तव्य भएकाले समग्रमा बाटोको यस प्रवृत्तिको
 चित्र दुबै भाइको मस्तिष्कमा कोरिएकै हुनुपर्छ ।
बाटोको दायाँ उत्तरतर्फ सर्प गुडुल्किए झैं बगिरहेको चेपे नदीले दुबै भाइको मन बेलाबखत खिचेको छ।त्यस्तै उत्तरतर्फको हिमशृङ्खला र त्यसले फालेको चिसो स्वच्छ हावाले उनीहरूका शरीर र सोचमा नवीन अनौठो तर राम्रो ऊर्जा भरेको छ। दुबै भाइको गफ गराइ, हिडाइ र विचारको आदानप्रदानबाट यो  बुझ्न सकिन्थ्यो।
यी भाइहरूले आफ्नो गन्तब्यतर्फको दूरी यस्तै भौतिक र मानसिक परिवेशमा छोट्याउँदै गए, करिब तीन घण्टाको पैदल दूरी पार गरिसके।
दुबै जनाले आ-आफ्ना हातमा एक-एक वटा पोका झुण्ड्याएका छन्।ढाकिएका, छोपिएका पोका खाजाकै हुनुपर्छ भन्ने लख एकार्काले काटे तापनि एकले अर्कालाई सिधै भने भनेका छैनन्।
उमेर र समय अनुसारको कुरा र धोको हुनु स्वभाविक नै हो।आर्थिक परिवन्दले फेरि  मानिसका चाहना पूर्तिमा लगाम लगाउँछ नै। त्यस समय भरतले चाइनिज कलमले लेख्ने ठूलो  शोख राख्दै आएका थिए।
‘उमेर र कक्षा बुद्धीबाट प्राप्त हुनसक्ने त्यस्तो सुबिधा कहिले पाइएला! निकै  राम्रा आकर्षक कलम र त्यसमा पनि त्यतिखेरको हकमा चाइनिज कलम मैले कहिले पाउँला,  हेर्दै राम्रो!अझ लेख्दा कस्तो होला त्यो चाइनिज कलम! र त्यतो कलम मलाई मेरा आमाबाबाले कहिले देलान्?’भरत आफ्ना बालमनका सपनालाई बाल मस्तिष्कले यसरी गमिरहन्थे।
सानो फुच्चे भरत पछाडि-पछाडि छन्  भने सुकिलोमुकिलो, सुरिलो र तुलनात्मक रूपमा छिप्पिएको यमनाथ  भने अगाडि -अगाडि हुँदै आफ्नो जाने ठाउँतर्फको दूरी घटाइरहेकै थिए।
भरतले आफ्नो सपनाले कल्पिएको त्यो चाइनिज पेन यमनाथको कमिजको गोजीमा सिउरिएको देखिसकेका छन् र यसलाई उनले सुरुदेखि नै खुब ख्याल गरिरहेका थिए।
भरतको आँखा पटक- पटक त्यस कमिजको त्यस गोजीमा, अझ त्यस पेनमाथि ठोक्किए। र, मनमनै सोचे-‘ अँ, मेरो सपनाको कलम त्यही हो।मेरा आमाबाबाले मलाई यस्तो कलम कहिले किनिदिन्छन् होला?’
चाइनिज कलम प्राप्त गर्ने तीब्र  ईच्छाले भरत  धेरै अधैर्य भैरहेका हुन्छ्न्। त्यसमा पनि चाइनिज कलम सिउरेकै मानिससँग यति लामो समयसम्म सँगै हिड्दा यो प्राप्तिका  लागि उनी थप भोकाउँछन्, थप खंगारिन्छन्। उनलाई लाग्छ-‘ यमनाथ दाइ कति ठूला!कति भाग्यमानी !यत्रो पेन भिर्न सक्ने!’
आफ्नो शोख यमनाथले पूरा गरेकोमा भरतभित्रको अन्तर्जलनले भरतलाई पटक-पटक पोल्दछ र फल्स्वरूप भरतमा बेलाबखत मानसिक छट्पटीले सीमारेखा नाघ्छ। उनीमा स्वनियन्त्रण रेखाहरू उलङ्घित हुँदै शारीरिक छट्पटीको उत्पत्ति समेत क्रमशः स-शक्त रूपमा हुनथाल्दछ।
यमनाथको फड्को लामो छ। छोटा कदका भरत त्यही रितमा हिड्न सक्दैनन् जुन रितमा यमनाथ हिड्छन्। यमनाथकै गतिमा हिड्न त्यसैले भरतले धेरै फड्को मार्नु पर्छ, मानौँ  यमनाथले एक फड्को मार्दा भरतले ढेड- दुई फड्को नै मार्नु पर्ने स्थिति छ।
 मन-मस्तिष्क धेरै चलाइरहने भरतले अहिले शरीर पनि छिटो चलाउनु परेको छ, उनको खुट्टालाई असाधारण गति कायम गर्नु परेको छ, यसले चल्नु परेको छ, निकै खट्नु परेको छ।
यसरी यमनाथ र भरत अघि-पछि गरि हिंड्दा उनीहरू पुग्ने ठाउँको दूरी घटाइरहेछन्। यसै क्रममा दुबै भाइले पछाडि ढाडमा एक-एक वटा झोला भिरेका पनि हुन्छन्। त्यस बाहेक तिनीहरूका हातले एक-एक वटा पोका झुण्ड्याएका छन्, जुन खाजाको भएको अनुमानसम्म लगाइएता पनि सिधै एक अर्कालाई यसबारे भनिएको भने हुँदैन।
यसैबेला यमनाथको कमिजको गोजीमा सिउरिएको चाइनिज कलम अकस्मात भुइँमा खस्छ, कलम खसेको कलमका धनी यमनाथलाई पछिसम्म पनि पत्तो हुँदैन।
आफूले जान्ने बुझ्ने भएपछि धेरै कल्पेको कलमलाई आफ्नै आँखा अगाडि भुइँमा खसेको देख्दा भरत विश्मयबोध गर्छन् । त्यसपछि उनी अब के गर्ने हो भनी मानसिक तवरले छटपट गर्न थाल्दछन्। पछि देखजायगा भन्ने उक्तिलाई शिरोधार गर्दै त्यस कलमलाई उनी तत्काल आफ्नो हातले टिप्छन्।
अब उनी तुरुन्तै सोच्छन्-‘ लामो समयसम्म यसलाई हातमा राख्न पनि हुन्न। न त यसलाई मैले आफ्नो कमिजको गोजीमा नै सिउरिन मिल्दछ। यमनाथले पछाडि फर्कनासाथ यो कलमलाई देख्छन्।रामराम! कसरी बचाउने हो त यो मुस्किलले भेटेको कलमलाई! मेरो सपनाको कल्पनालाई!’
यमनाथले पछाडि फर्कनासाथ देख्न सक्ने भएकाले उक्त चाइनिज कलमलाई सुरक्षित गर्न तत्काल भरतको दिमागले धेरै कुरा पक्कै सोच्यो।त्यसमध्ये उनलाई ठिक लागेको एउटा उपायलाई कार्यान्वयन गर्न उनी उन्मुख भए।
यत्तिकैमा ‘ मलाई त दिशा लाग्यो, झाडितिर जान्छु है?’ भरतले यमनाथसँग सहमतिका लागि अनुरोध गरे।
‘ हुन्छ, हुन्छ। बिहान के खाएको थिस् र? पेट पनि दुखेको छ कि क्या हो?’ यमनाथले  झाडितिर जाने सन्दर्भमा  सहमत हुँदै वार्तालापलाई अगाडि बढाए।
‘ होइन, के भयो!के भयो! बिहानको खाना त त्यही त हो नि!तीन डल्ला ढिंडो र दुई पनिउ जाउलो! हो दाजु, पेट पनि केही दुखेको छ।’ भरत अधैर्य हुँदै आफ्ना कुरा हडबडाउँदै थप्न पुग्छन्।
भरत आफ्नो पछाडि भिरेको झोला र हातको पोको दुईटै लिएर झाडिमा गए।उनलाई खासमा दिशा लागेको भने हुँदैन।उनको उद्देश्य भनेकै तत्काल त्यो चाइनिज पेनलाई जोगाउनु छ।झाडिमा धेरै समय लगाउँदा यमनाथ त्यहीँ आइपुग्ने र कलम देख्ने पो  हो कि भन्ने डर पनि उनलाई छ।
भरतले तत्काल यस्तो जुक्ति निकाले। जस अनुसार उनले हतपत त्यो खाजाको पोको खोले। टपरीमा चाम्रे राखेर उनकी आमाले त्यो खाजा उनका लागि बनाइदिएकी थिइन्।त्यही चाम्रेको पिँधमा याने  टपरीको माथिल्लोपटीको सतहमा छि-छिटो गरेर चानिज कलमलाई उनले  राखे र कलम कतैबाट पनि नदेखिने गरि पुनः त्यसलाई उनले साबिकको झैँ पोको पारे। त्यसपछि उनी  पहिला जस्तै  गरि पछाडि झोला र हातमा खाजाको पोको झुण्ड्याउँदै यमनाथले उनलाई कुरिरहे स्थानमा पुगे।
 यमनाथले उनलाई छोडेर गएको भए पनि हुने भनी भरतले कामना गरे तापनि सज्जन यमनाथले त्यसो गर्ने कुरै भएन, उनले  भरतलाई मजैले कुरिरहेका थिए।
‘ पेट बिग्रेको छ कि क्या हो बाबु! समय लगाइस् त!’ यमनाथले केही आश्चर्य प्रकट गर्दै भरतलाई देख्नासाथ सोधे।
‘ हो, पेट अलिअलि दुखिरहेको छ दाइ मेरो!’ भरतले आफ्नो हातले आफ्नै पेट यसो मुसार्दै भने।
‘ ए! पानीले पनि पेट गडबड हुन्सक्छ है बाबु! पानी खाँदा ख्याल गरेर सफा पानी मात्रै खानू नि।’ यसो भन्दै यमनाथले रोकिएको यात्रालाई आफू अघि-अघि र भरत पछि-पछिको क्रममा पुन: सुरु गरे।
भरत अझै अफ्ठ्यारो मै छन्। ‘यमानाथ दाइले खाजा खाने कुरा गरेभने के गर्ने होला, चाम्रे खाँदै जाँदा त्यो कलम देखीहाल्दछ, त्यस्तो अवस्थामा कलमलाई कसरी जोगाउने होला?’ यस्तै यस्तै सुर्ताले गर्दा भरत ढुक्कले हिंड्न सकिरहेका छैनन्।आफूले खाजा खाने कुरै नगर्ने र यमनाथले पनि नगरे हुन्थ्यो भनी भरतले भगवानसँग कामना गरिरहेछन् र यमनाथको पछिपछि फड्को मिलाउँदै हिड्छन्।
परन्तु, भरतको कामाना कामनामै रह्यो।यथार्थमा बदलिन सकेन। फल्स्वरूप ‘ ए भाइ!भोक लागेन?खाजा खाऔं अब।’ यमनाथले भने।
‘हुन्छ, खाऔं न त!’गाह्रो मान्दै भरतको प्रतिक्रिया आयो।
‘ ल बित्याँस पारे दाइले!कलम कसरी जोगाउने होला?’ रातोपिरो गाला बनाउँदै भरत मनमनै थप जुक्तिको रचनामा लागिरहेछन्।
नजिकै रहेको एक जोडि धाराबाट संगित गुन्जिए झैँ गरि खानेपानी  झरिरहेको थियो। पानीको धारालाई हेर्दा त्यो ऎनाजस्तो यस्तो कन्चन र साफा छ कि मानौँ त्यहाँ हेर्दा हामीले हाम्रो प्रतिबिम्ब देख्छौँ। यसलाई फेरि एकजोडी रूख, वरपिपलको क्यानोपिले ढपक्क गरि ढाकेको छ।
त्यस्तो ठाउँमा पुगेपछि ‘ल बाबु, यहीँ बसौं र खाजा खाऔँ ‘ यमनाथले भने।
दुबै दाजुभाइ त्यहीँ चौतारामा बसे।भरतले हतपत पोको खोले र केही खाएपछि ‘ चाम्रे चिसो भएछ दाइ! यस्तो खाएर त मेरो पेट झन् दुख्ला नि!’ यमनाथलाई सोधे।
‘ हो हो! चिसो नखाऊ!त्यस्तो खाए त पेट झन दुख्छ!’ भरतको जुक्तिमा थप मलजल गर्दै यमनाथले आफ्ना कुरा राखे।
‘ के निहुँ पाऊँ कनिका बुक्याऊँ’ भने झैँ भरतले चाम्रेलाई पहिलाजस्तै गरि पुनः पोको पारे।
‘ यो चिसो छैन।खट्टे खान्छस् त भाइ?’ यमनाथको यस्तो सोधनीमा भरतले वायुवेग गतिमा ‘ हुन्छ’ भने र यमनाथसँग खट्टे लिएर बुर्क्याए।
दुबै दाजुभाइ त्यहाँबाट उठे।भरतले चाइनिज कलम पनि लगभग जोगायो  र आफ्नो भोकाएको पेट पनि पूरा भर्यो। यसपछि दुबै भाइले अँजुलिको सोलि बनाएर धाराको पानी पिए, अनि अगाडि बढे।
दाजुभाइको फाट्ने ठाउँ आयो।भोलि भेटौँला नि भाइ भन्दै यमनाथ अमरज्योतिको छात्राबासतिर लागे भने भरत त्यसपछि यौटा बडेमा ढुङ्गोमाथि पलेटी कसेर बस्यो र चाम्रे हसुर्यो। ‘ उनी नौमा पढ्ने म पाँचमा, फेरि उनी  र म पढ्ने ब्लक पनि  फरक फरक छ। अझ उनी वरिपरि आइपुग्दा तर्केरसमेत हिडौंला नि! चाइनिज पेन भोलिदेखि कमिजको गोजीमा सिउरिएर नै हिड्ने हो ।’ यिनै मनोवादका साथ भरत आफ्नो मामाघर बुढिचहुरतिर उकालो चढ्यो।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क २० हजारले बढ्यो

श्रम मन्त्रालयको ‘हराएको’ सरकारी गाडी फेला: सत्ता संघर्ष र गम्भीर दुरुपयोगको पर्दाफास

नैतिकताको प्रश्नले जेलिएका तीन मन्त्री : न राजीनामा दिन्छन् न प्रधानमन्त्रीले हटाउने आँट गर्छन्

पढ्न आउछ माननीयज्यू ?

चाइनिज कलमको धोको

“बहिनी”लाई रिझाउन बाहिनीमा नाचघर

सेनाका १७ जर्नेलको एकैपटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

बिशेष