प्रशान्त भट्टराई
बिज्ञापन
लेखक परिचय
वि.सं. २०१२ साल जेठ २१ गते तनहुँको सुरम्य भूमिमा अवस्थित मैबल मैदान्थरमा उदाएका थिए एक ज्योति-श्री ज्ञानहरि पौडेल। प्रकृतिको काखमा जन्मिएर मानवताका काखमा अर्पित हुनुभएका उहाँ नेपाली शिक्षाक्षेत्रका एक दीप्तिमान नक्षत्र, एक ज्वलन्त दीपशिखा हुनुहुन्छ।अर्थशास्त्रमा स्नातक र नेपाली शिक्षाशास्त्रमा एम.एड. गरेर ज्ञानको रसमा नुहाउनुभएका पौडेलले आफ्नो जीवनको पाँच दशक शिक्षासेवा, साहित्यिक साधना र सामाजिक संस्कारमा समर्पित गर्नुभयो । शब्दमा भन्दा आत्मामा अनुभूत गर्नुपर्ने एक यज्ञस्वरूप समर्पण।उहाँको जीवन यात्राको अधिकांश समय प्रधानाध्यापकको जिम्मेवारीमा वित्दै गयो, जहाँ उहाँ केवल शिक्षक मात्र होइन, अनुकरणीय नेतृत्वकर्ता र ज्ञानको प्रेरक दीप बन्नुभयो। ‘युनिक नेपाली व्याकरण तथा अभिव्यक्ति’ जस्ता सृजनात्मक कृतिहरूमार्फत हजारौं छात्रछात्रामा ज्ञानको ज्योति बाल्नु भयो, जसरी बिहानको घामले कुहिरो चिर्छ र उज्यालो ल्याउँछ।सेवानिवृत्तिपछि पनि विश्राम होइन, उहाँको बाटोमा अझ एक नयाँ यात्रा प्रारम्भ भयो, विज्ञान माध्यमिक विद्यालयको संरक्षकका रूपमा उहाँ अझै पनि शिक्षाको उज्यालो मशाल बोकेर अघि बढिरहनुभएको छ। यस्ता व्यक्तित्वहरू शब्दले सीमित गर्न नसकिने जीवित प्रेरणास्रोत हुन् समाजका लागि एक दीर्घदीप्त स्मृति, जसको उज्यालो सधैंभरि सजीव रहन्छ।
तर, श्री पौडेलको व्यक्तित्व केवल कक्षाकोठाभित्र सीमित छैन। उहाँको कलम शिक्षाको प्राण तन्तुमा बगेको रस हो —२०८० मा प्रकाशित ‘खूरभूमि ज्ञानचक्षु’ ले शिक्षक, विद्यार्थी र अभिभावकका मन जित्न सफल भई, उहाँलाई साहित्यिक–शैक्षिक ख्यातिमा उचालेको छ। त्यसको उत्तरार्धमा २०८१ मा ‘ज्ञानचक्षु सज्जन विज्ञान’ सार्वजनिक गर्दै उहाँले शैक्षिक साहित्यलाई नयाँ उचाइमा पुर्याउनुभएको छ। यो पुस्तक २०४ पृष्ठमा संरचित छ भने ४२ विभिन्न शीर्षकमा आधारित लेखहरु संग्रहित छ । उहाँका कृतिहरूमा गहिरो अनुभवको स्वाद, सहज भाषाशैली र समय सान्दर्भिक सन्देशको समन्वय पाइन्छ। शिक्षा र साहित्यको संगमस्थलमा उहाँको अमूल्य योगदान सधैं उच्च सम्मान र प्रेरणाको प्रतीक रहनेछ।
बिज्ञापन
कृतिप्रति विद्वानहरुको धारणा
कृतिको प्रारम्भमा प्रा. डा. विद्यानाथ कोइरालाको ‘किताबले उब्जाएको प्रश्नपेटिका’ शीर्षकको समीक्षात्मक दृष्टिकोणले ज्ञानहरि पौडेलको कृतिको सारगर्भित पक्षलाई अत्यन्तै संवेदनशील ढंगले उजागर गरेको छ। उनले देखाएका प्रश्नहरू केवल शैक्षिक व्यवस्थाका कमजोरी मात्र होइनन्, ती समग्र सामाजिक संरचना र संस्कारसँग गाँसिएका जटिल प्रश्नहरू हुन् ,जहाँ परम्परा र प्रविधिको द्वन्द्व, शिक्षाको निजीकरण, राज्यको निष्क्रियता र शिक्षक-विद्यार्थी-अभिभावकको आपसी उत्तरदायित्वबारे गहिरो मन्थन आवश्यक देखिन्छ। पौडेलको कृतिले शिक्षा प्रणालीको खोक्रोपनमाथि मात्र औंला ठड्याएका छैनन्, आत्मचिन्तनको आवश्यकताको ढोका खोलिदिन्छ।
‘प्रश्नहरूको उत्तर खोज्ने कला’ भनेको केवल हल देखाउनु मात्र होइन, सोचाइको प्रवाहलाई नयाँ दिशा दिनु हो। ज्ञानहरि पौडेलको लेखनीले पाठ्यपुस्तकभन्दा बाहिरको जीवनमूल्य, सिप र सामाजिक चेतनाको महत्व दर्शाउँदै पाठकलाई शिक्षाको मूल उद्देश्यतर्फ फर्काउँछ। यस कृतिले शिक्षालाई केवल डिग्री होइन, संस्कारको कारखाना र समतामूलक समाज निर्माणको औजारको रूपमा हेर्न प्रेरित गर्छ। यदि शिक्षकले आत्मजागरण ल्याउन सक्दछन्, अभिभावकले सक्रिय सहभागिता जनाउन सक्छन्, विद्यार्थीले प्रश्न गर्न सिक्छन्, र राज्यले यसको पूर्वाधार तयार गर्न सक्दछ भने मात्र यी गहिरा प्रश्नहरूको उत्तर खोज्ने सम्भावना बाँच्छ। त्यसैले ‘खूरभूमि ज्ञानचक्षु’ र ‘ज्ञानचक्षु सज्जन विज्ञान’ नेपाली शिक्षाको वर्तमानसँग जुध्ने, भविष्यको बाटो देखाउने ऐना बनेका छन्।
त्यसै गरी दायित्व वाङ्मय प्रतिष्ठान, नेपालका अध्यक्ष रामप्रसाद पन्तद्वारा “ज्ञानचक्षु सज्जन विज्ञान ले दिएको ज्ञान” शीर्षकमा आधारित समालोचनामा पौडेलले उठाएका मुद्दाहरूले शिक्षा प्रणालीको विगत, वर्तमान र सम्भावित भविष्यलाई एकसाथ समेट्ने प्रयास गरेको विषयलाई सचेत रुपमा राखेका छन्—जहाँ शिक्षालाई सांस्कृतिक उत्तराधिकार, नैतिक बोध र राष्ट्रिय अस्मितासँग गासिएको देखिन्छ।गुरुकुलीय परम्पराको वैज्ञानिकता र संस्कारजन्य अनुशासनलाई पाश्चात्य शिक्षा प्रणालीले विस्थापित गरेको तथ्य, पन्तको लेखमा गहिरो पीडासाथ प्रस्तुत गरिएको छ। ‘मेकालेको नीति’ केवल एउटा ऐतिहासिक दस्तावेज होइन, नेपाली शिक्षाको आत्मा गुमाउने प्रारम्भिक चरणको प्रतीक बनेको छ।
यही सन्दर्भमा, ज्ञानहरि पौडेलको ‘ज्ञानचक्षु सज्जन विज्ञान’ उज्यालोको दियो बनेर उदाएको देखिन्छ जसले हामीलाई फेरि आफ्नै जरा, आफ्नै बोध, आफ्नै माटो फर्केर हेर्न प्रेरित गर्छ।
उहाँको लेखकीय यात्रा, विशेषतः “युनिक नेपाली व्याकरण तथा अभिव्यक्ति” र “खुरभूमि ज्ञानचक्षु” जस्ता पुस्तकहरू सफल भएपछि “ज्ञानचक्षु सज्जन विज्ञान” का माध्यमबाट शैक्षिक चिन्तनमा थप गहिराई ल्याउने प्रयास सराहनीय छ।लेखकको सामाजिक, पारिवारिक र बौद्धिक योगदानप्रति कृतज्ञता प्रकट गर्ने शैलीले उहाँको विनम्रता र सहकार्यप्रतिको सम्मान दर्शाउँछ।
लेखकले हामीमाझ पस्केका लेखहरुमध्ये केही अंशात्मक लेखहरु
नागरिक शिक्षाको आवश्यकता
आजको युगमा अभिव्यक्तिको स्वतन्त्रता र आलोचनात्मक चेतनाको विकास गर्न नागरिक शिक्षा अपरिहार्य छ। नेपाली समाजमा आलोचनाको संस्कृति रहे पनि यो प्रायः रचनात्मक भन्दा विनाशक बन्न पुगेको छ। यसलाई सुधार्न समाजका हरेक तहमा तार्किक विचार, विवेकशील छलफल र जिम्मेवार नागरिकताको भावना विकास गर्न आवश्यक छ। स्थानीय स्तरमा भ्रष्टाचार, कुशासन र अनियमिततालाई चुनौती दिन सक्षम बन्न, संविधान र कानूनको ज्ञान राख्न र लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन नागरिक शिक्षाले मार्ग प्रशस्त गर्दछ। यसले केवल सरकारी नीतिमात्र होइन, व्यक्तिगत कर्तव्यबोध, पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव कायम गर्न पनि सहयोग पुग्याउँछ।
अभिभावकको कारण बालबालिकाको भविष्य उज्ज्वल
समाजमा बढ्दो अनुशासनहीनता, पारिवारिक विघटन र नैतिक पतनको मूल कारण नागरिक दायित्वबोधको कमी हो। यसको समाधानका लागि घरदेखि राष्ट्रिय स्तरसम्म नागरिक शिक्षा र नैतिक चेतना अभियान सञ्चालन गर्नु जरुरी छ। शिक्षण संस्था, धार्मिक संस्था, सामाजिक संघसंस्था र राज्यले मिलेर जीवनोपयोगी शिक्षा, कर्तव्य र समस्यासमाधान गर्ने सीप दिने कार्यक्रम ल्याउनुपर्छ। यसरी मात्र अनुशासित र जिम्मेवार समाजको निर्माण सम्भव छ।शिक्षा भनेको केवल परीक्षा पास गर्ने माध्यम होइन, जीवन बुझाउने बाटो हो। हरेक बालकभित्र आफ्नै रुचि र प्रतिभा हुन्छ। त्यसैले अभिभावकले सन्तानको आवाज सुनेर मार्गदर्शक बन्नुपर्छ। बालकले चाहेको विषय पढ्न पाउनु उसको अधिकार हो। जीवनको उद्देश्य पहिल्याउने शिक्षाले मात्रै उज्यालो भविष्यको बाटो खोल्छ।
बालबालिकाको सुधारमा अभिभावकको निर्देशन
एसईईपछिको समय बालबालिकाका लागि सिर्जनशील क्षण हो। यदि यो समयमा सकारात्मक मार्गदर्शन नभए उनीहरू भुलभुलैयामा पर्न सक्छन्। अभिभावकले सन्तानलाई खेलकुद, संगीत, चित्रकला वा अन्य सीप सिकाउने अवसर दिनुपर्छ। गाली होइन, प्रेरणा र प्रेमले बालबालिकालाई असल बाटोमा लैजान सकिन्छ। अभिभावक पथप्रदर्शक बन्न सके समाज सुशासित र समृद्ध बन्नेछ।
संघीय अधिकार, प्रदेश र स्थानीय तहसम्म
शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने कुरा अब स्पष्ट भइसकेको छ। संघीय प्रणालीले स्थानीय तहलाई समेत शिक्षा नीति निर्माण र कार्यान्वयनको अधिकार दिएको भए पनि व्यवहारमा अझै पुराना नियम र असमर्थ नीति कायम छन्। गुणस्तरीय शिक्षा अभावका कारण युवा पुस्ता शिक्षित भए पनि सीपविहीन छन्। उनीहरूलाई सक्षम जनशक्ति बनाउने संयन्त्रको कमी छ, जसले रोजगारीको अवसर र राष्ट्रिय समृद्धिमा बाधा पुर्याइरहेको छ।शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्य, स्थानीय तह, अभिभावक र समुदायको साझा प्रयास आवश्यक छ। पाठ्यक्रम, शिक्षक नियुक्ति, विद्यालय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता स्थापना गर्नुपर्छ। महामारीपछि शिक्षा क्षेत्र थप चुनौतीमा परेको छ, विद्यार्थीको मानसिक स्वास्थ्य, सिकाइ निरन्तरता र व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने देखिन्छ। विद्यालयमैत्री वातावरण र बालमैत्री शिक्षण विधिले मात्र दीगो विकास सम्भव छ।
महिला, बालबालिका र युवाको भूमिकालाई सशक्त बनाउँदै शिक्षा प्रणालीलाई समावेशी बनाउन जरुरी छ। प्रारम्भिक शिक्षा जीवनोपयोगी सीप, चारित्रिक गुण र सिर्जनात्मक प्रतिभा विकासमा केन्द्रीत हुनु आवश्यक छ। देशमै रोजगारी र अवसर सिर्जना गरी जनशक्ति पलायन रोक्ने, शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप घटाउने र समाजलाई एकताबद्ध बनाउँदै समृद्धिको बाटोमा अघि बढ्न सबै तहको समन्वय अपरिहार्य छ।
शिक्षामा नयाँ पुस्ता आवश्यक
विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन बालबालिकाको शारीरिक-मानसिक स्वास्थ्य, विद्यार्थीमैत्री वातावरण, योग्य शिक्षक र आधारभूत सुविधा आवश्यक छ। शिक्षकहरूमा प्रतिस्पर्धा, नियुक्तिमा पारदर्शिता र पाठ्यक्रम राजनीतिकरणमुक्त हुनुपर्छ। सामुदायिक पुस्तकालय, इन्टरनेट जस्ता संसाधनले ज्ञानको पहुँच बढाउँछ। सरकारले निःशुल्क शिक्षा, परीक्षा सुधार र शिक्षक प्रशिक्षणलाई प्राथमिकता दिएमात्र नेपालको शिक्षा प्रणाली उन्नत हुनेछ।
शिक्षण पेशाको प्रतिष्ठा कसरी जोगाउने ?
शिक्षण पेशाको प्रतिष्ठा जोगाउनु भनेको केवल शिक्षकलाई सम्मान मात्र दिनु होइन, उनीहरूको समर्पण, लगनशीलता र जिम्मेवारीप्रति सरकार र समाजको गहिरो ध्यान दिनु हो। शिक्षकहरू हाम्रो छोराछोरी र राष्ट्रका भविष्यका निर्माता हुन् भन्ने मान्यता मात्र होइन, उनीहरूलाई उच्च सम्मान र समुचित सुविधा, सुरक्षा दिनु अनिवार्य छ।यद्यपि, शिक्षकहरूको जिम्मेवारीप्रति भएको संवेदनशीलता र गम्भीरतालाई पनि विचार गर्नु आवश्यक छ। किनभने कहिलेकाहीं सरकारी विद्यालयका शिक्षकहरू आफ्ना सन्तानलाई निजी विद्यालयमा पठाउने गरेको पाइन्छ, जसले सरकारी विद्यालयको गुणस्तरमा प्रश्न उठाउँछ। यस्तो अवस्था किन छ, सरकार र शिक्षक दुवैले यस विषयमा आत्मावलोकन गर्नुपर्छ। सरकारी विद्यालयहरूको नतिजा निजी विद्यालयको तुलनामा कमजोर हुनु शिक्षक पेशाको प्रतिष्ठाका लागि चुनौती हो। यसको समाधान खोज्न सरकारले शिक्षा नीति, शिक्षक व्यवस्थापन र विद्यालय व्यवस्थापनमा सुधार ल्याउनु पर्छ भने शिक्षकहरूले पनि आफ्नो पेसागत जिम्मेवारीलाई अझ गम्भीरतापूर्वक पूरा गर्नुपर्नेछ। यसरी मात्र शिक्षण पेशाको गरिमा कायम राख्न सकिन्छ र समृद्ध राष्ट्र निर्माणमा शिक्षाको भूमिका सुनिश्चित गर्न सकिन्छ।
जनशक्ति पलायन रोकेमा देश विकास सम्भव
नेपालमा बढ्दो जनशक्ति पलायनको मुख्य कारण राजनीतिक अस्थिरता, दीर्घकालीन नीति अभाव र रोजगारीको कमी हो। अघिल्लो पुस्तादेखि सुरु भएको वैदेशिक रोजगारीको परम्परा पछिल्ला दशकमा खाडी, कोरिया, मलेशिया, युरोप र अमेरिकासम्म फैलिएको छ। अवसरको खोजीमा लाखौं नेपाली युवा विदेश पलायन भइरहेका छन्, जसले देशमै दक्ष जनशक्ति अभाव सिर्जना गरेको छ।यसको असरस्वरूप देशमा श्रमशक्ति र बौद्धिक पूँजी कमी भइरहेको छ। विकास परियोजना र उद्योगमा दक्ष जनशक्ति नहुँदा दीगो प्रगति अवरुद्ध भएको छ। यद्यपि, रेमिटेन्सले अर्थतन्त्रलाई छोटो अवधिमा चलायमान राखेपनि दीर्घकालीन आर्थिक निर्भरता बढ्दै गएको छ। यसले स्वदेशमै उत्पादन र रोजगारीको अवसर कम गरिदिएको छ।
यो समस्याको दीर्घकालीन समाधानका लागि स्रोत साधनको सदुपयोग गर्दै स्वरोजगार, कृषि, पर्यटन, सूचना प्रविधि र निर्माण क्षेत्रमा लगानी बढाउनुपर्छ। प्रभावकारी नीति निर्माण र राज्यको संवेदनशीलता जरुरी छ। जनशक्तिलाई देशमै अवसर र सम्मान दिने वातावरण निर्माण नगरेसम्म दीगो समृद्धि सम्भव छैन भन्ने सन्देश दिन्छ।
बिज्ञापन
अन्ततः, लेखकको विश्वास छ कि यो कृतिले शिक्षाको वास्तविक उद्देश्यप्रति शिक्षक, विद्यार्थी, अभिभावक र नीतिनिर्माताहरूलाई सचेत गराउनेछ, पूर्णतः उचित र प्रेरणादायी बन्नेछ, जसले कृतिको अध्ययनप्रति पाठकको रुचि अझ बढाउनेछ। पौडेलको दृष्टिमा शिक्षा कुनै परिकल्पना मात्र होइन, व्यवहारको अभ्यास हो जहाँ प्रविधि र नैतिकता सँगसँगै हिंड्नुपर्छ, र जहाँ स्थानीय माटोको गन्ध लिएर पनि वैश्विक क्षितिजमा टेकेको देखिन्छ। पौडेलले यस कृतिलाई “सामाजिक आन्दोलनको घोषणापत्र” भन्नु एउटा गहिरो सत्यको उद्घोष हो। यो कृति आजको शिक्षालाई केवल परिवर्तन होइन, परिमार्जन, परिपक्वता र पुनर्जागरणको बाटो देखाउने आलोकस्तम्भ हो। ‘दास मानसिकता’ बाट ‘मालिक शिक्षण’ तर्फको यात्रा आज अत्यन्त जरुरी छ र यो यात्रा ज्ञानहरिको दृष्टिकोणले सम्भव छ भन्न सकिन्छ।
यसैकारण, दायित्व वाङ्मय प्रतिष्ठानले गरेको यो प्रकाशन कार्य केवल एउटा पुस्तक प्रकाशन नभई, सम्पूर्ण नेपाली शैक्षिक चेतनामा नयाँ अध्याय थप्ने कार्य हो। यस कृतिले शिक्षालाई पुनः चेतनशील बनाओस्, र अन्धकारमा घोत्लिएको समाजलाई ज्ञानको उज्यालोले पथप्रदर्शन गरिरहोस्।
कृति सम्बन्धी थप
कृति : ज्ञानचक्षु सज्जन विज्ञान
विधा : लेखसङ्ग्रह
लेखक : ज्ञानहरि पौडेल
प्रकाशक : दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल
प्रकाशन मिति : २०८१