- तोमनाथ उप्रेती
नैतिक आचरण, सकारात्मक सोच र मानवीय मूल्यहरू कुनै समाजको मूल आधार हुन्। यी तत्त्वहरूले व्यक्ति र समाजलाई सह-अस्तित्व, सहिष्णुता र आदर्श जीवनशैलीको मार्गमा अग्रसर गराउँछन्। नैतिक आचरण भन्नाले सत्य, ईमानदारी, कर्तव्यनिष्ठा, करुणा, सहानुभूति र परोपकारजस्ता सद्गुणहरूको अभ्यास हो। यस्तो आचरणले व्यक्तिगत चरित्र निर्माण मात्र होइन, सामाजिक विश्वासको जग पनि बलियो बनाउँछ।
बिज्ञापन
सकारात्मक सोच आत्मबल र आत्मविश्वासको स्रोत हो। यसले समस्याहरूप्रति आशावादी दृष्टिकोण दिन्छ र कठिनाइलाई अवसरमा बदल्ने क्षमता प्रदान गर्छ। नकारात्मक विचार र व्यवहारले मानिसलाई आत्महीनता, रिस, ईर्ष्या र द्वन्द्वतर्फ डोर्याउँछ, भने सकारात्मक सोचले प्रेम, शान्ति र प्रगतिको बाटो खोल्छ।
बिज्ञापन
मानवीय मूल्यहरू—जस्तै करुणा, सहिष्णुता, समानता, स्वतन्त्रता, र न्याय—सामाजिक समरसताको मेरुदण्ड हुन्। यी मूल्यहरूको अभ्यासले व्यक्ति र समाज दुवैमा स्थायित्व र विकास ल्याउँछ।
नैतिकता, सकारात्मक चिन्तन र मानवीय मूल्यहरूबीचको समन्वयले व्यक्तिलाई विवेकशील, उत्तरदायी र सदाचारी बनाउँछ। यस्तो समन्वयले नै सशक्त समाज, दीर्घकालीन शान्ति र समुन्नत राष्ट्रको आधार निर्माण गर्छ। जीवनको सच्चा सफलता नै यिनै तत्त्वहरूको सन्तुलित अभ्यासमा निहित छ।
बिज्ञापन
सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो, जसले व्यक्तिको व्यवहार र कार्यकलापलाई निर्देश गर्छ। प्रशासकीय आचरण भनेको नीति, नियम, मूल्य र मान्यताहरूको संयोजन हो, जसले सरकारी कार्यलाई प्रभावकारी बनाउँछ। सदाचार र सुशासन एक–अर्काका परिपूरक हुन्—सदाचारबिना सुशासन सम्भव छैन, र सुशासनबिना सदाचार मर्न थाल्छ। दुराचार फैलिँदा राष्ट्रको गरिमा, मानव सम्बन्ध र सामाजिक संस्कार खस्कन्छ।
सदाचार व्यक्तिको विवेकमा आधारित शक्ति हो, जसले उसलाई लोभ, स्वार्थ र आग्रहसँग सम्झौता नगरी सही मार्गमा अघि बढ्न प्रेरित गर्छ। नेतृत्व, नीति, र संस्थागत आचरणका माध्यमबाट सदाचार र सुशासनको स्थापना हुन्छ। नेतृत्वमा निष्ठा र नीति पालन हुने हो भने संस्थाहरू बलिया बन्छन् र सुशासन स्थायी हुन्छ। पदाधिकारीहरूको नैतिकता, पारदर्शिता र सेवाभावले राज्यको विश्वसनीयता बढाउँछ।
सदाचार केवल राम्रो व्यवहार होइन, यो जीवनलाई दिशा दिने मूल्य हो। महात्मा गान्धीले भनेझैं, चरित्रविनाको ज्ञान पाप हो। नागरिकमा सदाचारको विकास भएमा सुशासन सहज हुन्छ, र सुशासन भएको राष्ट्र समृद्ध र सुखी बन्छ। वैधानिकता, निष्पक्षता, इमानदारी, सेवाभाव आदि सदाचारका मूल तत्व हुन्, जसले समाजमा जवाफदेहिता र सभ्यता ल्याउँछन्।
आज नीति र निष्ठाको कमी, आचार–संहिताको लोप, र स्वार्थप्रेरित आचरणले सार्वजनिक संस्थाहरू कमजोर बन्दै गएका छन्। व्यक्ति जन्मजात खराब हुँदैन—उ उसको कर्म, परिवेश, मूल्य र संस्कारले बनाउँछ। विवेक, आत्मिक शक्ति र मानसिक चेतनाले मानिसलाई नैतिक बनाउँछ। स–साना त्रुटिबाट सिक्दै सुधार गर्नु नै सदाचारको अभ्यास हो।
सदाचारको संस्कार नहुँदा पद, पैसा, प्रतिष्ठा र प्रेमप्रति लोलुपता देखिन्छ। तर अनुशासन, इमानदारी र सदाचार मिलेर असल नेतृत्व र कर्मठ कर्मचारी तयार पार्दछन्, जसले राष्ट्रको प्रभावकारिता विस्तार गर्छ। आजको समाजलाई यिनै सदाचार, सुशासन र व्यावसायिकताको अत्यावश्यकता छ, जसको जिम्मेवारी राज्य संयन्त्रले बहन गर्नैपर्छ।
सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन् । सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै । त्यति मात्र पर्याप्त हुँदैन । उ, नैतिक, इमानदार र सदाचार रुपमा योग्य हुनुपर्छ । जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनुपर्छ । उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ । संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ ।लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधारभूमि सदाचार हो । सामाजिक–आर्थिक एवं राजनीतिक क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो । लोकतन्त्र विनाको सुशासन र सुशासन विनाको लोकतन्त्र फस्टाउन सक्दैन । देशको शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल हुन सार्वजनिक प्रशासनमा नैतिकता, समर्पणभाव, पारदर्शिता, अधिकार प्रत्यायोजन, उत्तरदायित्व, स्वच्छता, जवाफदेही र आर्थिक सदाचार रहनुपर्छ ।राम्रो आचरण, असल चालचलन र सकारात्मक व्यवहार सदाचार हो । सुशासनको एक महत्वपूर्ण खम्बा भनेको सदाचारलाई लिन सकिन्छ । सदाचार भनेको नीति, नियम र व्यवहारप्रति उच्च सतर्क रही कार्य गर्ने सुविचार, उत्तम आचरण, स्वच्छता, निष्पक्षता एवं इमानदारी हो। सदाचार सैद्धान्तिक विषय नभएर यो आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान र अन्तरवोध गर्ने विषय हो ।
नैतिकतो सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो। नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन । नीति, नियम र व्यवहारप्रति उच्चसतर्क रही गरिने उदाहरणीय चरित्र नैतिकता हो । नीति मार्ग अवलम्बन गरी लाभकारी हुनु नैतिकता हो ।
कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ ।प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ । नैतिक आचरण नै जीवनको महत्वपूर्ण पक्ष हो । नैतिकताले नै मानिसलाई उच्च मूल्यांकन हुने अवसरको सिर्जना गर्दछ । त्यसको लागि मनबाट उब्जने प्रशन्नताले ल्याउने अनुभूतिलाई सकारात्मक चिन्तनतर्फ ध्यान आकृष्ट गर्ने प्रवृत्तिको विकास गर्ने अभ्यास गरिरहनु पर्छ । मनले इच्छाएको कर्मलाई मनको पवित्रतासँगै उजागर हुने नैतिक आचरण र कर्ममा विश्वास बढाउनु पर्छ ।यसको लागि जस्तोसुकै कठिन परिस्थिति पर्दा पनि धैर्य र सहनशील भई मनलाई स्थिर राखी मनमा आउनसक्ने कलुषित विचारलाई हटाउनेतर्फ सधैँ सचेत रहनु पर्छ । मन नपरेको र गर्न नहुने कर्मतर्फ मनलाई जबर्जस्ती स्वीकार्ने वातावरण बनाउनु हुँदैन । खुशी बाँड्न सके धेरै उत्तम हुन्छ । यदि खुशी बाँड्न सकिएन भने पनि आफूभित्रको पवित्र मन सधैँ खुशी र उमंग राख्न नैतिक आचरण र चरित्रलाई एकाकार गरी वाह्य आवरणमा देखाउने अभ्यास गरिरहनु पर्छ ।
नैतिकता मानवलाई उसको आचरणको मूल्यांकन गर्ने बलियो आधार पनि हो ।हामी कसैलाई प्रेम गर्छौँ र अझ बढी त्यसप्रति आशक्ति जगाउँछौँ भने त्यसले कहिल्यै तृप्ति दिँदैन । किनकि मानव चाहना एकपछि अर्को गर्दै बढिरहेको हुन्छ । यही तृप्तिको चाहनाभित्र रुमलिँदै जाने हो भने मानिस सधैँ अपवित्रतातर्फ उन्मुख भइरहने अवस्था सिर्जना हुन पुग्छ । इच्छासँगै प्राप्तिको अभिलाषा बढ्नु भनेको सत्यबाट विचलित भई असत्यतर्फ आकृष्ट हुनु हो ।मनमा लागेको गर्ने मानवीय स्वभाव तथा आफूभित्र जागृत इच्छा प्राप्ति गर्नु कुनै अव्यावहारिक पक्ष होइन । इच्छा प्राप्ति सबैको चाहना पनि हो । तर पनि चाहना हुँदैमा सामाजिक मर्यादा र आफ्नो जिम्मेवारीलाई स्वार्थपरक चिन्तनतर्फ प्रवाह हुने गरी आचरण र व्यवहारलाई कहिल्यै प्रदर्शन गर्नु हुँदैन । यसले नैतिकतामा प्रश्न उठाउन सक्छ । तसर्थ, यसको लागि सकारात्मक भाव जागृत हुने र समाजमा नयाँ परिस्थिति ल्याउने सोच र चिन्तनलाई आफ्नो इच्छा र चाहनाको सेरोफेरोमा कुशलतापूर्वक प्रदर्शन गर्नसक्ने मानवीय चरित्र हुनुपर्छ ।
बुद्धधर्मले सम्पत्ति र शक्तिको सञ्चयबाट जीवन सफल नहुनेतर्फ संकेत गर्दै नैतिकतालाई शान्ति र सुख प्राप्तिको मूल भनेको छ । नैतिकता वा आचरण (मोरल) भनेको ठिक वा बेठिक, असल वा खराब चालचलन बताउने सिद्धान्त वा व्यवहार हो । यस प्रकार सदाचार(इथिक्स) र आचरण(मोरल) मा केही भिन्नता हुने भए तापनि व्यवहारमा यिनीहरूलाई प्रायः एक अर्काको सट्टामा समेत प्रयोग गर्ने गरेको पाइन्छ । यहाँ पनि त्यस्तै रूपमा राखिएको देखिएकोले सदाचार, आचरण वा नैतिकतालाई एकैरुपमा चर्चा गरिएको छ ।कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ । नैतिकता मानवीय मूल्यहरुको त्यस्तो व्यवस्था हो जसले हाम्रो व्यवहार सुधार्छ र जीवनमा खुशी ल्याउँछ। नैतिकताका कारण हामी इमान्दारीको जीवन जीउँछौं। यसबाट हाम्रो अरुसँगको सम्बन्धमा विश्वास र मित्रताको वातावरण बन्छ। नैतिकता खुशीको साँचो हो।
बुद्धधर्म अनुसार नैतिकताको जग विवेकपूर्ण सचेतना हो। हामी आफ्नो विवेकको प्रयोग गरेर कुन कुराले स्थायी खालको खुशी ल्याउँछ र कुन कुराले बारम्बारको दुःखतर्फ धकेल्छ भन्ने कुराको निर्क्यौल गर्छौं। नैतिकताको अर्थ अन्धाधुन्द कुनै निश्चित नियमहरुको सूची पालना गर्नु होइन। यसको अर्थ नीतिपूर्ण मार्ग अवलम्बन गर्नु लाभकारी हुन्छ भन्ने कुराप्रति विश्वस्त हुनु हो।हामी कस्तो व्यवहार गर्छौं भन्ने कुराप्रति सचेत हुनुपर्छ, यसको निर्णय बुद्धिमानीपूर्वक गर्नुपर्छ। सबैजना खुशी हुन चाहन्छन्। सबैजना खुशीको हकदार छन्। त्यसमा हामी आफैं पनि पर्छौं। हीनभावनाले ग्रस्त हुँदा हामी नैतिकताको परवाह नगरी व्यवहार गर्न सक्छौं। त्यसका विपरीत आत्मविश्वास छ भने आफूप्रतिको सम्मान पनि उच्च हुन्छ। आत्मसम्मान उच्च हुँदा हामी आफूप्रति गौरव गर्न सक्छौं। हामीलाई अनैतिक व्यवहार गर्नु स्वतः बेठीक लाग्छ र त्यसो गर्नबाट हच्किन्छौं।
सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको कार्यजिम्मेवारीको स्पष्ट परिभाषा, कार्यसम्पादन सूचक, सेवा बडापत्र, प्रोत्साहन प्रणाली, मूल्यांकन र नागरिक दबाबजस्ता संयन्त्र अपनाइन्छ। नागरिक चेतना, लोकतान्त्रिक विकास र प्रविधिको प्रसारले सार्वजनिक प्रशासनलाई नैतिक र व्यावसायिक बनाउन टेवा दिएका छन्।सार्वजनिक सेवा वितरण नै नागरिकको मुख्य सरोकार हो, जसमा स्पष्ट मान्यता र सिद्धान्त अपनाएर सेवा दिने संस्थाहरूले नागरिकको विश्वास जित्न सक्छन्। सदाचारयुक्त नेतृत्वले कर्मचारीमा आत्म-नियन्त्रण र स्व-प्रेरणा बढाउँछ, जसले ढिलासुस्ती, भ्रष्टाचार र दुरुपयोग घटाउन सहयोग पुर्याउँछ।
नैतिक नेतृत्वले सार्वजनिक सेवा छिटो, पारदर्शी र प्रभावकारी बनाउँछ। गोपनीयता र सरकारी अभिलेखको संरक्षणमा समेत यिनको योगदान महत्वपूर्ण हुन्छ। यसैगरी, विकास निर्माण र सेवा सुविधामा जनविश्वास बढाउने र सुशासन कायम राख्न नैतिक आचरण र सदाचारी नेतृत्व अपरिहार्य हुन्छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)