दशक अगाडि हामी त्यही भूगोलमा किन भटिएनौँ ? समयको यो कठिन दिनमा हामी कतै गफ गरिरहेका छौँ ।
बिज्ञापन
माथि लेकतिर चुत्रो पाक्न थालेको छ । कालिकास्थानतिर लालीगुराँस राताम्मे भएर फुलेका छन् । उनको गाउँबाट देखिन्छ त्रिशुली र फलाखु दुवै नदीलाई । दुवै निलो भएर बगेका छन् । सलाखु खोलो पनि नजिकैका फाँटहरूलाई सिञ्चित गर्दै बगेको छ । मलाई उनी नदीझैँ अविरल बगिरहेको एक स्वच्छ मान्छे लाग्छ । जिन्दगीका अप्ठ्याराहरूप्रति उनलाई खासै गुनासो छैन । नेपाली साहित्यमा स्नातक उनी खासै साहित्य त लेख्दिनन् तर स्वयम् उनी मलाई कालजयी उपन्यासको कुनै सानदार अध्यायजस्तो लाग्छ । शीतल बतासले छोएको वसन्तऋतु जस्तो उनी । मखमली, सयपत्री अनि बेली फूलहरूमा फुलिरहने शरद यामझैँ उनी । घामझैँ उनी, फूलझैँ उनी अनि अन्धकारलाई चिरेर झलमल्ल उदाएको चकमन्न प्रहरको जूनझैँ उनी । यो युगकै सुन्दर प्रेमपत्रको सानदार हरफ हुन् उनी ।
बिज्ञापन
म उनलाई के भनेर सम्बोधन गरौँ ! उनी सम्बोधनभन्दा माथि लाग्छ । कसरी सम्बोधन गरौँ खोइ उनलाई । नदीको गहिराइजस्ता सम्बन्धहरूमा उनलाई पाउँछु । उनको व्यवहारका हरेक पलले मनमा चसक्क छुन्छ । हामी साथीहरूका कुरा गर्छौं । विद्यालयकालीन सुन्दर दिनहरूको सम्झनाले हुरुक्कै बनाउँछ । हामी एकै कक्षामा पढेको भए, उनका लागि कुनै प्रेमपत्र लेख्थेँ होला । यस्तै लाग्छ । जुन समयमा हामी भेटियौँ यो पनि एउटा मीठो पल हो ।
जीवन भनेको कुनै नाटक हो । सेक्सपियर सही छन्– हामी केवल नाटकका पात्र हौँ । हामी केवल नाटकका चरित्र हौँ ।
बिज्ञापन
उनले प्रेमपत्र लेख्ने त मानिस फरक छ । मैले लेख्नुपर्ने प्रेमपत्रको सम्बोधन पनि फरक पात्रलाई हुन्छ । यो सामाजिक व्यवस्थामा हाम्रो चरित्र निकै फरक छ । उनी राजेश हमालकालीन सिनेमाकी नायिकाजस्ती । म कुनै गाउँको किसानजस्तो ।
र पनि हामी भेटिएका छौँ । दूरीहरू कायम छ । दूरी यो युगको एक शक्ति हो ।
गाउँमा दौँतरीहरू छैनन् । गाउँ चौतारीमा भारी बिसाएर ग्रामीण सौन्दर्यलाई बोकी हिँडेका आदरणीय दिदीहरू छैनन् । एफएम रेडियोमा गीतहरू बजिरहेका छन् , सुनिदिने मनहरू छैनन् । गाउँका चिया पसलमा सँगै पढेका साथी भेटिँदैनन् । वसन्तलाई डाक्दै कोइलीहरू गाइरहेका छन्, खुसीले रमाउने मनहरू छैनन् ।
गाउँ कुनै अधबैँसे मानिसको प्रेमकथाजस्तो उदास छ । गाउँ कुनै लाहुरेझैँ यादको चौतारीमा बसी शीतल तापिरहेझैँ लाग्छ ।
उनी छिन्, गाउँ छ, एकान्त प्रहर छ । जिन्दगानीको यस पलमा मौनताहरू बोलिरहेका छन् । आँखाहरू बोलिरहेका छन् । मनको सुदूर तहमा उनी बसेकी छिन् ।
जेनी माक्र्स भन्छिन्– प्रेमले मानिसलाई उत्साहित बनाउँछ, क्रान्तिले स्पातिलो ।
उनी भन्छिन्– परिस्थितिले मानिसलाई जहाँ लगे पनि साथी हामी आत्मीय थियौँ, आत्मीय छौँ । आत्मीयतालाई साँच्दै बाँच्नेछौँ हामी । बाटोहरू फरक होलान् । हिँड्ने तरिका कहाँ फेरिन्छ र साथी ?
कति शक्तिशाली वाक्य ! उत्तर के दिनु !!
उनले जुठो हालेको चिया खाने रहर मनभरि जाग्छ ।
(उसो त चिया खाने बानी कम भएको छ ।)
….
एकपटक पुराना दिनहरूमा पुगौँ । दिदी जुलिया पौडेलसँग म पटकपटक थाक्लेको डाँडामा उक्लेको छु । चिलिमे हाइड्रोपावरको टावरमुनि हामीले कयौँ बालसुलभ खेलहरू खेलेका छौँ । पारि महबीर, केराघारी, गेर्खुका डाँडाहरूमा डढेलो हेर्दै हामी रमाएका छौँ । बदाम खाएका छौँ, मकै खाएका छौँ । उपल्लो पौवाको लप्सीको फेदमा बाल्यकालका कयौँ दिन बितेजस्तो लाग्छ अहिले पनि । पारि नुवाकोटका गाउँहरू हेरेका छौँ हामीले । थाक्लेको डाँडामा बसेर त्रिशुली नदीको गहिराइ नापेका छौँ ।
कुनै बर्खायाममा भुइँकुहिरोले उपल्लो पौवा, माझगाउँ अनि लहरेलाई छोप्थ्यो । त्यो दृश्य खुब लाग्थ्यो ।
जुलिया दिदी पढाइमा अब्बल थिइन् । वादविवाद प्रतियोगितामा उनले पटकपटक पुरस्कार जितिन् । म कविता र गजल लेख्थेँ । नाटक पनि लेख्थेँ । दसैँतिहारमा हुने सांस्कृतिक कार्यक्रममा हामीले कयौँपटक प्रस्तुति दिएका छौँ । इको क्लबले राख्ने वातावरण संरक्षणसम्बन्धी वादविवाद प्रतियोगितामा जुलिया प्रथम भएकी थिइन् । उनलाई पुरस्कार आएको किताब मैले पढेको थिएँ । जुलिया दिदी मिल्ने साथी थिइन् । एउटी अभिभावक पनि थिइन् ।
मभन्दा एक ब्याच जुनियर वसन्त घिमिरे सानै उमेरमा गीतसङ्गीतमा रमाउँथे । उपल्लोपौवामा साँझहरूमा उनी गुलाम अली, नारायणगोपाल र प्रेमध्वजहरूलाई सुनिरहेका हुन्थे । मभन्दा एक ब्याच सिनियर जुलिया दिदी पनि वसन्तजस्तै बेतिनी पढ्न आएकी थिइन् । सायद उपल्लो पौवामा तीन कक्षासम्म पढाइ हुन्थ्यो । वसन्तका बुबा ठाकुर घिमिरे लमकलमक हिँड्थे । ठाकुर सरसँग हिँड्न सक्ने जुलिया नै थिइन् किनकि उनी अग्ली थिइन् । वसन्तहरूलाई कुद्नु नै पथ्र्याे उनलाई भेटाउन । कहिलेकहीँ वसन्त गाउँथे– केही मिठो बात गर, रात त्यसै ढल्किँदैछ… । नारायणगोपालजस्तो कालजयी गायकको स्वरलाई उनी कनीकनी कपी गरिरहेका हुन्थे ।
लप्सी पाक्ने याममा जुलिया भन्थिन्– हाफ टाइममा भागौँ भाइ । उपल्लो पौवामा लप्सी पाकेको छ ।
म भन्थेँ– हुन्छ दिदी । गुहेलो पनि खानुपर्छ मूलनेरको ।
हामी स्कुलबाट भागेर उपल्लो पौवा पुग्थ्यौँ । उही लप्सीको बोटमुनि हाम्रा बाल्यकाल फुल्थ्यौँ उपल्लो पौवा स्कुलनेर फुलेको लालुपातेजस्तै । डर उही ठाकुर सरको थियो । बुढालाई कहिलेकहीँ बाटोमा काँडा राखेर पनि पनि तर्साउने गरिन्थ्यो । कहिलेकहीँ गुलेली पनि हानियो बुढालाई । यो रहस्य उनले पनि थाहा पाएनन् ।
सिमली बुटोमा लागेको आकाशबेलीको जरा खोज्दै समय बित्थ्यो । ४ः ३० बजेपछि हामी दिदीको घरमा पुग्थ्यौं । मेरा दुवै फुपूहरू खुसी हुन्थे । आँपको बोटको शीतलमा बसेर हामी पढ्थ्यौँ :
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली …
सानो छ खेत
सानो छ बारी
सानै छ जहान
आवाज निकालेर पढेपछि दिदीहरूलाई लाग्थ्यो– राम्रै पढेका छन् ।
ठाकुर सर सोझा थिए । हामी स्कुलबाट भागे पनि उनले केही भनेनन् ।
पछि मात्र उपल्लो पौवाबाट थुप्रै साथीहरू हामीसँग पढ्न थाले गीता घिमिरे, रूपा घिमिरे, वसन्त घिमिरेलगायत थुप्रै ।
उपल्लो पौवाको लप्सी त्यसपछि कति खाइयो ।
…
दुई दशकअगाडिका दिनहरू अब बितिसकेका छन् । सामाजिक संरचनामा ठूलो परिवर्तन आइसकेको छ् । ती पुराना दिनहरू अब गायब छन् ।
जस्तो –
गाउँमा सांस्कृतिक कार्यक्रमहरू हुँदैनन् । मानिसहरू टिकटक बनाइरहेका छन् ।
प्रेम सम्बन्धको विशालता हराएको छ । डिजिटल प्रेमहरू छुटिसकेका छन् ।
परदेश पुगेको साथी मेसेन्जरमा हाईसमेत भन्दैन ।
बच्चाहरू पब्जी खेलिरहेका छन् । भाँडाकुटीको युग अब इतिहास भो ।
दुःखको कुरा उपल्लो पौवाको लप्सीको बोट काटिएको छ, स्कुल पनि बन्द भएको छ । साथीहरूसँग आत्मीयता हराइसकेको जस्तो भएको छ ।
प्रिय साथी फेसबुकमा भए पनि हाई भन न ल ।