च्यांखे भन्नाले जूवाको एक पात्रलाई बुझाउछ जून मुख्य खेलाडी भित्र पर्दैन तर अड्कलको भरमा जूवाको मनोरन्जन लिई रहेको हुन्छ, कहिले जित्छ कहिले हार्छ तर यो शर्त मूल खेलाडीहरूमा पनि लागू हुन्छ जसले समेत कहिले हार्छन कहिले जित्छन्। नेपालको हिमाली भेकमा जूवाको रूपमा एउटा खेल खेलिन्छ त्यो हो पारा, जसमा तीन जना खेलाडी हुन्छन् र च्यांखे थाप्ने कति हुन्छन् भन्न सकिदैन तर हुन्छन्। त्यसै गरी नेपालको राजनीतिक क्षेत्रमा पनि जूवा खेल्ने तीन वटा खेलाडी छन् र च्यांखे थाप्ने धैरै भए पनि एकजना चर्चित छन् ती हुन् नागेन्द्र नामका खेलाडी! यी खेलाडीको नाममा ईन्द्र जोडिएको भए पनि यिनी कुटील खेलाडी भित्र पर्छन् किन कि यिनले पनि खेलमा जित्नै पर्ने मान्यता राख्छन्।
बिज्ञापन
हाम्रा राजनीतिक नेताहरू पनि खेलको मज्जा लिन खप्पिस छन् र यिनीहरूले खाल छोड्नै मान्दैनन्। खेलको उद्देश्य केवल खेलाडीको मनोरन्जनमा सीमित हुने गरेको छ, ती खेलाडीले दर्शक, च्यांखे थाप्ने कसैको पनि वास्ता गर्दैनन्, त्यसो हुदा ती खेलाडी बाहेक अरूको चित्त बुझेको छैन। यिनीहरूको यही हठका कारण दर्शकहरूले बैकल्पिक खेलाडी खोजे तर नागेन्द्र नामका ती च्यांखे खेलाडीले आफूलाई निर्विकल्प ठानेर भरखरै होक्का… पनि गर्दैछन्।
बिज्ञापन
नेपालको राजनीतिका पुराना खेलाडीलाई आफ्नो मात्र जित कसरी गर्ने भन्ने थाहा भएर नै होला अहिले तीन मध्ये दुईबटा सम्पन्नहरूले गठवन्धन समेत गरेका छन्। यो गठवन्धन गर्ने समयमा त यिनीहरूले दर्शकहरू समेतलाई खुसी बनाउने, जूवाको खाल आकर्षक बनाउने, जूवाको विधि विधान समसामयिक बनाउने जस्ता लिखत पनि गरेको सुनियो तर यी सबै कुरा लोकप्रियताका लागि रहेछन् र मुख्य कुरा आफ्नो लागि रहेछ भन्ने कुरा यिनीहरूको आधा वर्षे भन्दा बढीको कार्यकालले स्पष्ट गरि सक्यो। यिनीहरूको यस्तै गतिविधिलाई देखेर होला नागेन्द्रजीले पूनः डूक्राउने धृष्टता गरेका छन्। हुन त यसरी अन्य पात्रहरू डूक्राउने वातावरणको निर्माण अरू कसैले नगरेर केवल यिनै साविकका तीन खेलाडीले गरेका हुन्।
दर्शकले नयां खेलाडी खोजेको पक्कै हो तर नयां भनेको नयां नै हो, यसको अर्थ पुरानोलाई पुनर्स्वागत गर्न चाहेको कदापि हैन। यो कुरा दर्शकले विगत र वर्तमानमा भोगेका पात्रले नबुझे झै गरेर टेण्डर हालेको पाईन्छ। यी पुराना खेलाडीको टीममा केही गर्छु भन्ने पात्रहरू नभएका पनि हैनन् र यी पात्रहरूलाई दर्शकले चिनेर पनि तिनीहरूलाई प्रतिस्पर्धामा पनि पठाए तर तिनीहरू समेत पुरानै आहालमा डुबुल्की मार्न पुगे। यसैले दर्शकको दृष्टिकोणमा सतहमा देखिएका खेलाडी वा च्यांखे थाप्नेहरूबाट कुनै भलो हुने छांटकांट नदेखेर नै नयां पात्रको खोजीमा दर्शकहरू छन्।
बिज्ञापन
विश्वको राजनीति हेर्दा अधिकांश देशको राजनीतिमा कन्जर्भेटिभ सोच भएको राजनीतिक नेत्तृत्त्व सत्तामा आएको देखिन्छ। हाम्रो दक्षिणको छिमेकी र अर्को गोलार्धको मित्र राष्ट्र अमेरिका मात्र हैन कतिपय यूरोपियन राष्ट्रहरूमा समेत कन्जर्भेटिभ सरकार आई रहेको सन्दर्भ र विश्वका शक्ति राष्ट्रहरू बीच देखिएको शक्ति समन्वयको अशर नेपालको राजनीतिमा पर्न सक्ने सम्भावना तथा नेपालमा विद्यमान सरकारको असफल कार्य शैली बीच तादम्य नमिल्ला भन्न सकिन्न। यसैले नेपालमा राजनीतिक परिवर्तन अवसम्भाब्य देखिदैछ।
विश्व र नेपालमा आएको यो परिवर्तनलाई सम्बोधन गर्न सक्ने किसिमको राजनीतिक नेत्तृत्त्वको खोजी आजको आवश्यकता हो। यस्तो नेताको आपूर्ति हामीले विगतमा प्रयोग गरेका नेता र यिनको समर्थकबाट समेत हुन नसक्ने कुरा तीतो सत्य हो। फेरि यसरी आउने पात्र यस्तो पनि हुनु जरूरी छ कि जो बाह्य शक्तिको प्रभाब वा उनीहरूलाई कम्फर्टेवल हुने किसिमको नहोस्। हामीले थाहा पाएको कुरा हो कि विगतमा बनेका सरकारहरू नेपाल र नेपालीको सहजतालाई भन्दा अरूको सहजताका लागि बनेका रहेछन्।नेपाल र नेपालीलाई मात्र सहज हुने यस्तो पात्र नेपाल भित्र जन्मी सकेको छ तर सतहमा देखिएको छैन र लाग्छ ऊ आफैलाई पनि त्यस्तो लागेको छैन होला।
सनातनीहरूले मान्ने गरेको यस वर्षको स्वस्थानी व्रत सकिएको धेरै भएको छैन। यो कथामा नमराजलाई हात्तीले राजाको रूपमा छानेको घटना सो कथा सुन्ने सुनाउनेले सम्झेकै होलान्। त्यसरी नै नेपालमा यस्ता नेताको छनौट हात्ती रूपी जनताले गरे भने अनौठो नमाने हुन्छ।
मुलुकमा सरकार रहेको छनक कसैले अनुभूति गरेको छैन तर सरकारमा बसेकाहरूमा Emperor’s New Clothes को राजा भएकोमा पत्तै छैन। यस्तो अबस्था हुदा समेत आफ्नो काम गराइमा कुनै परिवर्तन ल्याउने सोच वर्तमान सरकारले गरेको पाईदैन। सरकारको सोच यो छ कि उसले जे गरेको छ ठीकै गरेको छ र उसका हरेक गतिविधिमा कुनै प्रश्न उठाउन पाईदैन। यदि सरकारको विरूद्धमा कसैले सामाजिक सन्जाल मार्फत बोल्ने वा लेख्ने काम गरेमा उसलाई साईवर कानून बमोजिम कारवाही गरिने छ। एक किसिमले हेर्दा सरकारले प्रजातान्त्रिक आवरणमा तानाशाही चलाउदै छ। यस्तो परिवेशमा सरकारका विकल्पहरूका रूपमा विभिन्न मोडेलहरू अगाडि देखा पर्नु स्वभाविकै हो जसलाई राजनीतिक च्याखे पनि भन्न सकिन्छ।