सदाचार र नैतिकता हरेक व्यक्तिको असल व्यवहार र आचरण हुन् जसले समाजको प्रगति र सुशासनको स्थापना गर्छ । सदाचार, नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको क्रियाकलाप र व्यवहारलाई मार्गदर्शन गर्छ । यसले प्रशासनमा प्रभावकारीता र दक्षता ल्याउँछ । सुशासन भनेको शासनको मार्गदर्शनमा नियम र सिद्धान्तहरूको पालना हो, जसले राष्ट्रको वैधानिकता र विश्वसनीयता बढाउँछ।सदाचार र सुशासन एक अर्कासँग गहिरो सम्बन्धित छन्। सदाचारी नागरिक बिना सुशासन सम्भव छैन । सुशासनको कमीले दुराचारलाई जन्म दिन्छ, जसले राष्ट्रको समृद्धि र मानवीय सम्बन्धमा गिरावट ल्याउँछ । सदाचारले व्यक्तिलाई सही मार्गमा चल्न र गलत कार्यबाट बच्न सचेत गराउँछ ।
नेपाली समाजमा सदाचार र सुशासनको विशेष महत्व छ, र सार्वजनिक संस्थाहरूका नेतृत्वले यी मूल्यहरूको पालन गर्दै समाजमा असल आचरण र संस्कारलाई प्रवर्धन गर्नुपर्छ। नेतृत्वको निष्ठा र उदाहरणीयता नै संस्थाहरूलाई बलियो बनाउँछ र सुशासनको आधार तयार पार्दछ।सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन । आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पु¥याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू हस भएका छन् ।सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन् । सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै । त्यति मात्र पर्याप्त हुँदैन । उ, नैतिक, इमानदार र सदाचार रुपमा योग्य हुनुपर्छ । जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनुपर्छ । उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ । संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ ।
लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधारभूमि सदाचार हो । सामाजिक–आर्थिक एवं राजनीतिक क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो । लोकतन्त्र विनाको सुशासन र सुशासन विनाको लोकतन्त्र फस्टाउन सक्दैन । देशको शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल हुन सार्वजनिक प्रशासनमा नैतिकता, समर्पणभाव, पारदर्शिता, अधिकार प्रत्यायोजन, उत्तरदायित्व, स्वच्छता, जवाफदेही र आर्थिक सदाचार रहनुपर्छ ।राम्रो आचरण, असल चालचलन र सकारात्मक व्यवहार सदाचार हो । सुशासनको एक महत्वपूर्ण खम्बा भनेको सदाचारलाई लिन सकिन्छ । सदाचार भनेको नीति, नियम र व्यवहारप्रति उच्च सतर्क रही कार्य गर्ने सुविचार, उत्तम आचरण, स्वच्छता, निष्पक्षता एवं इमानदारी हो। सदाचार सैद्धान्तिक विषय नभएर यो आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान र अन्तरवोध गर्ने विषय हो ।
नैतिकतो सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो। नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन । नीति, नियम र व्यवहारप्रति उच्चसतर्क रही गरिने उदाहरणीय चरित्र नैतिकता हो । नीति मार्ग अवलम्बन गरी लाभकारी हुनु नैतिकता हो ।
बुद्धधर्म अनुसार, जीवनको सफलता केवल सम्पत्ति र शक्तिको सञ्चयमा होइन, नैतिकता र शान्ति प्राप्तिमा आधारित हुन्छ । नैतिकता वा आचरण भनेको सही र गलत, असल र खराब चालचलनलाई निर्देशन दिने सिद्धान्त हो। यसले व्यक्तिको व्यवहार सुधारेर खुशी र विश्वासको वातावरण निर्माण गर्न मद्दत पुर्याउँछ। सदाचार (इथिक्स) र आचरण (मोरल) सँगै समाजको राम्रो व्यवस्थापनका लागि अनिवार्य छन्।प्रशासकीय कार्यको प्रभावकारिता र दक्षता पनि नैतिक आचरणमा आधारित हुन्छ। नैतिकता मानिसलाई सकारात्मक सोच र कार्य गर्ने प्रेरणा दिन्छ, जसले जीवनमा खुशी र शान्ति ल्याउँछ। समाजमा सकारात्मक परिस्थितिहरू सिर्जना गर्न र सामाजिक मर्यादा पालना गर्न नैतिक आचरण महत्त्वपूर्ण हुन्छ।सदाचारको अभावले मानिसलाई स्वार्थ, लोभ र लालसामा डुबाउँछ, जसले समाजलाई असल नतिजामा पुर्याउन सक्दैन। जब व्यक्ति नैतिक प्रक्रियामा लाग्छ, तब उसका कर्म सुधारिन्छ र समाजमा राम्रो प्रभाव पार्छ। एकै समयमा, सदाचारको पालनले राष्ट्रको सुशासन र प्रभावकारिता वृद्धि गर्छ।
समाजमा नैतिकता, इमानदारी, र अनुशासनको अभावले व्यक्ति दुराचारी बन्न सक्छ। यसकारण, राज्य र समाजमा सदाचार र नैतिकता सुनिश्चित गर्न व्यापक दबाब र प्रयास आवश्यक छ।सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको कार्यजिम्मेवारीको परिभाषा, कार्यसम्पदान सूचकको स्थापना, सेवा बडापत्र, नागरिक पृष्ठपोषण, प्रोत्साहन र मूल्यांकन प्रणाली र नागरिक दबाब जस्ता संयन्त्रहरू अपनाउने सामान्य प्रचलन छ। नागरिक चेतनाको स्तर, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले पनि सार्वजनिक प्रशासनलाई नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पु¥याएका छन्। सर्वसाधारणले सरोकार राख्ने विषय भनेको सार्वजनिक सेवा वितरण हो। सेवा वितरणका खास मान्यता र सिद्धान्त छन्, जसलाई अवलम्बन गरेरै सार्वजनिक संस्थाहरू नैतिक बन्न र सेवाग्राहीको विश्वास जित्न सक्छन् ।नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले कर्मचारीमा आत्म नियन्त्रण र स्व उत्प्रेरणा वृद्धि गर्दछ । यसले सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष बनाई सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्दछ ।सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्नमा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले महत्वपुर्ण भुमिका खेल्दछ ।त्यसैगरी नैतिक आचरण र सदाचारयुक्त नेतृत्वलेसरकारी काम, कारबाहीलाई छिटो, छरितो गराउन सघाउँछ ।महत्त्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम गर्ने तथा संरक्षण गराउँन नैतिकता, आचरण र सदाचारले अक्सिजनको काम गर्दछ । सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन कायम गरी जनविश्वास अभिबृद्धि गर्नमा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले महत्वपुर्ण भुमिका रहेको हुन्छ ।
नेपालको निजामती सेवामा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वको पक्ष निकै कमजोर रहेको पाइन्छ । यसो हुनुका प्रमुख कारणहरूमा राजनैतिक तथा प्रशासनिक नेतृत्व नैतिकवान तथा आदर्शवान् हुन नसकेको अवस्था विधमान रहेको,नेतृत्वको मनोबल तथा उत्प्रेरणाको स्तर कमजोर रहेको ,दण्ड, पुरस्कारको प्रभावकारी व्यवस्था हुन नसक्नु ,आचार संहिता कार्यान्वयनको अनुगमन, मूल्याङ्गन गर्ने निकायको व्यवस्था नगरिनु,बढ्दो दण्डहीनता र अराजकताको नियन्त्रण गर्न नसकिएको , कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाले गलत गर्ने कर्मचारीलाई सजाय दिन नसकिएको , नेतृत्वले आध्यात्मिक मूल्य, मान्यताहरुलाई व्यवहारमा आत्मसात गर्ने नगरिएको कारणले नैतिक प्रशासनको विकास गनृमा समस्याहरु देखिएका छन् ।
सरोकारवालाको सहभागितामा आचार संहिता निर्माण गरी प्रभावकारी किसिमले कार्यान्वन गर्ने ,आचार संहिता निर्माण गर्न धेरै आदर्शवादी कुरा राख्नुको सट्टा व्यवहारिक तथा कार्यान्वयन हुन सक्ने कुराहरू मात्र राख्ने ,आचार संहिता कार्यान्वयनको अनुगमन, मुल्यांकन गर्ने निकायको व्यवस्था गर्ने र पालना नगर्ने कर्मचारीलाई कडा दण्डको व्यवस्था गर्ने ,कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाको अन्त्य गर्ने ,कर्मचारीलाई अवकाश दिने किसीमको बाहेक अन्य सानातिना सजायमा पनि लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्थाको अन्त्य गर्ने ,नेतृत्व आदर्शवान् तथा नैतिकवान हुनुपर्ने ,विधालय तहको पाठ्यक्रममा नैतिक शिक्षा, सदाचार शिक्षामा जोड दिने,आध्यात्मिक मूल्य, मान्यताहरुलाई व्यवहारमा आत्मसात गर्ने,विभिन्न मौद्रिक तथा गैर मौद्रिक उपायको अवलम्बन गरी कर्मचारीको मनोबल तथा उत्प्रेरणाको स्तर बढाउने ,विभिन्न ऐन कानुनहरूमा तादात्म्यता कायम हुने गरी ऐन कानुनको निर्माण तथा परिमार्जन गर्ने ,ट्रेड युनियनको व्यवस्थाले राजनैतिक हस्तक्षेपलाई मलजल गरेकोले निजामती सेवा भित्र एकल ट्रेड युनियनको व्यवस्था गर्ने आदि कृयाकलापबाट नैतिक प्रशासनको विकास गर्न सकिन्छ ।
अन्त्यमा, शासकयि प्रकृयामा हाम्रा संस्कार, कार्यशैली , आचरण र व्यवहारमा रूपान्तरण गर्न नसक्दा आम जनतामा निराशा उत्पन्न भएको छ । फलस्वरूप आम जनताको प्रशासन संयन्त्रप्रति मात्र होइन सिङ्को शासन व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको देखिएकोले माथि उल्लेख गरिएका लगायतका सुझावहरूलाई ग्रहण गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, सदाचारयुक्त, नागरिकमैत्री, भ्रष्ट्राचारमुक्त र नैतिकवान बनाई सुशासन कायम गर्नु आजको टड्कारो आवश्यकता रहेको छ ।यसका लागि नैतिक आचरण र सदाचारयुक्त नेतृत्व मार्फत शासकीय व्यवस्थामा सुधारको अभियान अहिलेको आवश्यकता हो । (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रम ुख कोष नियन्त्रक हुन्।)
बिज्ञापन
बिज्ञापन