अख्तियारले गर्दा झण्डै गएन मेरो ज्यान

०४६ सालयता अध्यागमन विभागको महानिर्देशक बनेका तीन दर्जनमध्ये धेरैको त फोटोमात्र झुण्डिए । तीमध्ये स्मरणयोग्य काम गर्ने कर्मचारीका रुपमा चिनिन्छन् शरदचन्द्र पौडेल । अध्यागमनमा जे जति सुधार भएका छन्, त्यसको अधिकांश जस, उनैलाई जान्छ । चार दशकअघि शाखा अधिकृतबाट सेवा प्रवेश गरेका उनले अधिकांश समय गृह मन्त्रालय र यसअन्तर्गत काम गरे । हुम्ला, रुकुम, तेह्रथुम, इलाम, काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहे । निर्वाचन आयोग, योजना आयोगसहित यातायात व्यवस्था विभागको महानिर्देशक र अध्यागमन विभागको २२ औं डिजीका रुपमा १ बर्ष बढी सेवा गरे । इमान्दार, लगनशील र निर्णय क्षमतामा अब्बल भएकै कारण तत्कालीन मुख्यसचिव लीलामणि पौडेल र भोजराज पोखरेलजस्ता उम्दा प्रशासकहरुको मन जित्न सफल उनको जागिरे जीवनको उत्तरार्ध भने सुखद रहेन । मुद्दा लगाउने ठाउँमा लोकमानसिंह कार्की र दीप बस्नेतहरु थिए । अध्यागमनको डिजी हुँदा पर्यटन बोर्डको पदेन सदस्य भएकै नाताले सुवास निरौला लगायतमाथि अख्तियारले मुद्धा चलाउँदा उनी पनि मुछिए । झण्डै २ वर्षसम्म निलम्बनमा परेका उनले अदालतबाट सफाई पाएपछि वन सचिवको रुपमा २ बर्ष काम गरेका थिए ।

बिज्ञापन

० मानव तस्करीमा जोडिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई अध्यागमनका कर्मचारीहरुले केरकारसमेत नगरी छोड्न मिल्थ्यो ?

बिज्ञापन

– अध्यागमन प्रशासनको मुख्य काम विदेशीको आगमनलाई रेगुलेट र स्वदेशीलाई विदेश जान फ्यासिलेट गर्ने हो । अध्यागमन ऐन संसारका कडा कानुनमध्ये पर्दछ । एयरपोर्टबाट खराब मान्छे जान दिन भएन, बाहिरबाट खराब मान्छे आउनबाट रोकिनुपर्‍यो । नेपाली एयरपोर्टमा झरेको वा टीका माला लगाएर एयरपोर्ट पुगेको मान्छेलाई फिर्ता गर्ने असीमित अधिकार छ, अध्यागमनसँग, जहाँ अहिले सबै किसिमका कर्मचारी पुगेका छन् । इमिग्रेसनको मान्छेलाई सरुवा गरेर जिल्ला प्रशासन कार्यालय बझाङ्ग पुर्‍याइन्छ अनि दार्चुलाबाट टिपेर कसैलाई एयरपोर्टमा पठाइन्छ । छुट्टै सेवा समूह पनि छैन । गृह मन्त्रालयले विशेषज्ञसहितको यस्तो सेवालाई धेरै चलाउनु, हुँडल्लु हुँदैन भन्ने मान्यता नै बोकेन । अर्थ मन्त्रालयका कर्मचारीदेखि शिक्षकलाई समेत त्यहाँ खटाएपछि प्रतिफलको के आशा गर्नु ? अध्यागमनको डेस्कमा बस्नेले एक दुई मीनेटभित्रै डिसिजन दिइसक्नुपर्ने हुन्छ कागज र अनुहार हेरेको भरमा । मानव तस्करी प्रकरणमा जोडिएर गत हप्ता जापानबाट फर्काइएका तीन जनालाई इमिग्रेसनले आफ्नो नियन्त्रणमा लिने, मन्त्रीलाई चाहिँ छाड्ने कुरा मिलेन । उही पासपोर्ट र उस्तै भीसा भएको मान्छे कोही समातिने, कोही छुट्ने हुन्छ ? एक हदसम्म समान अनुसन्धान त हुनुपर्ने हो नि ! संसारभर कहीँ कतै पनि पद हेरेर कारवाही गरिन्न ।

० उपसभामुख इन्दिरा राना मगरपछि कोशी प्रदेशको मन्त्रीसहित एकपछि अर्काे भीआइपी किन मानव तस्करीमा मुछिएका होलान् ?

बिज्ञापन

– केही मुलुक नेपालीहरुका लागि अति आकर्षण गन्तव्यमा पर्दछ । त्यहाँ जानका लागि जति पनि खर्च गर्न तयार रहन्छ । अमेरिका, जापान जान त्यति सहज छैन । यसर्थ शरणार्थी बनेर जान तयार छन् मान्छेहरु । मौका परे छिरौंला नभए थुनिउँला भन्ने रिस्क लिएर जान्छन् । नक्कली कागजपत्र बनाउने, सोर्स फोर्स लगाउनेदेखि इन्दिरा रानामगरजस्ता उच्चपदस्थ र ओहदामा भएका मान्छेलाई दूतावासमा सिफारिस गर्न लगाउँछन् । तर, एम्बेसीका मान्छेलाई त्यो सिफारिससँग कुनै मतलब छैन । परराष्ट्र मन्त्रालयमार्फत सिफारिस भए न एम्बेसीले सुन्ने हो । यस्ता प्रकरणमा भलाद्मी देखिएको मान्छे नै इन्भल्भ भइरहेको हुनसक्छ । मानव तस्करी भनेको संसारभरकै आकर्षक पैसा कमाउने माध्यम लागूऔषधपछि दोस्रो हो ।

० हिजो इन्दिरा राना मगरलाई यही प्रकरणमा कारवाही गरिएको हुन्थ्यो भने आज लीलावल्लभहरु यस्तो कर्म गर्नमा हौसिन्नथे कि !

– कानुन भनेकै एउटालाई कारवाही गरेको देखाएर अरुलाई तर्साउने हो । लीलावल्लभलाई जापानबाट डिपोर्ट नगरिएको भए यो मामिला त्यत्तिकै गुपचुप हुने थियो । थुने थुन्छ भन्नेसँग तपाईंको के लाग्छ ? म त्रिवि विमानस्थलमै प्रमुख भएर रहँदा मुम्बईको प्रहरीले नेपाल आर्मीको मेजर तहका मान्छेले फर्जी पासपोर्ट बनाएको भेटी उनीसहित चार जनालाई समाएर नेपाल पठायो । फर्जी काम गर्नेलाई थुन्नुपर्ने हो । आर्मीले कोर्टमार्शलका नाममा लफडा निकाल्ला भनेर गृह मन्त्रालयलाई खबर गर्‍यौं । तत्काल प्रहरी परिचालन गरेर एयरपोर्टबाट समातियो पनि । नेपाली हो, यहाँ नआएर कहाँ जान्छ ? इन्क्वायरी गर्दा थाहा पायौं, आफ्नो परिवारको पासपोर्टको फोटो चेञ्ज गरेर श्रीमती र तीन जना छोराछोरी नै नक्कली बनाएर हरेकसँग २०÷२० लाखका दरले उठाएको रहेछ । उसलाई कोर्टमार्शल गर्छौं भनेर सेनाले हामीबाट थुतेर लग्यो । यदि सेनाले कारवाही गरेको भए इमान रहन्थ्यो । त्यसो नहुँदा अब यो प्रकरणमा नेपाली सेनाभित्रकै उच्च तहका मान्छे पनि जोडिएका छन् भनेर किन नबुझ्ने ?

० सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरीलाई इमिग्रेसनको डाटामा किन एक्सेस नदिएको ?

– सशस्त्रमात्र होइन नेपाल प्रहरीको पनि एक्सेस छैन । यसमा सशस्त्र र प्रहरीमात्र होइन विदेशीहरुको समेत इन्टे«स्ट छ । इमिग्रेसनसँग राजादेखि रंकसम्मको डाटा हुन्छ । त्यसको आफ्नै संवेदनशीलता हुन्छ । यो कारणले मलाई डाटा चाहियो नभन्दासम्म अरु देशमा पनि उपलव्ध गराउँदैन, गराउनु पनि हुँदैन । भोलि त्यसैको आधारमा प्रहरीले ट्रेसआउट गरेर तपार्इंलाई दुःख दियो भने के गर्नुहुन्छ ? तँ त अमेरिका/क्यानाडा, बेलायतमा यति समय बसेर आएको रहेछस्, यति पैसा दे भन्दै थर्काउन आएको खण्डमा के गर्ने ? नियत सबैको सधैं सफा हुन्छ भन्ने छ र ?

० नेपालको बोर्डर खुला हुँदा कालो दाग लागेकाहरु दिल्लीको एयरपोर्ट प्रयोग गरेर विदेश जाने गरेको देखिन्छ । जसरी जिवी राईहरु भागे । यो हिसाबले बोर्डर टाइट गर्नुपर्ने हो वा होइन ?

– यो चाहिँ हाम्रो विडम्वना नै हो । अहिले सबैको ध्यान एयरपोर्टमा मात्र गइरहेको देख्छु । तर, नेपाल र भारतबीचको १६ सय किमी बोर्डर खुला छ । त्यहाँबाट आउ–जाउ गर्न केही चाहिँदैन । इण्डियनहरुलाई त अझैं केही पनि चाहिँदैन । १६ सय किमी दूरी रहेको बोर्डरबाट को इण्डियन छिर्‍यो कसैलाई मतलव छैन । भोलि शरणार्थीहरु बस चढेर नेपाल भित्रिए के हुन्छ हालत ? यता बोर्डर खुला छ तर दोष पाउँछ इमिग्रेसनले ।

० हाम्रो सुरक्षा संवेदनशीलता किन मजाकको बिषय भयो ?

– इण्डियासँगको खुला बोर्डर नै प्रमुख समस्या हो । चीनतिर पनि बोर्डर खुला छ तर त्यहाँ २ किमीभित्रका मान्छेलाई मात्र आउन जान फ्रि छ । तर, इण्डियामा नाम्चेबजारदेखि गोलबजारसम्मको मान्छे सहजै आउजाउ गर्न पाइन्छ । राष्ट्रियस्तरबाटै यी समस्या इण्डियालाई बताउन सक्नुपर्दछ । भोलि त्यही खुला सीमा भएर पाकिस्तानीहरु आउलान् र अवाञ्छित गतिविधि गर्लान् भनेर कन्भिन्स गर्न सकिन्छ ।

० एयरपोर्टमा ३३ वटा निकाय छन् । ती बीच कत्तिको समन्वय भएको पाउनुहुन्छ ?

– मलाई छुच्चो भएर भन्न लगाउनुहुन्छ भने त्यहाँ जाने सबै एजेन्सीको उद्देश्य राम्रो काम गरेर देखाउनेभन्दा कुस्त कमाउने नै हो । कुनै प्रहरी वा कर्मचारीलाई माया गरेर त्यहाँ पठाइएको त पक्कै होइन । पैसा झारेर खाओस् भनेरै खटाइने हो । कुनै न कुनै लिंक भएकैहरु त्यहाँ पुग्ने हुन् । कारवाही भएको बेला मात्र बदनामहरु त्यहाँ जान मान्दैनन् । अरु समयमा त प्रधानमन्त्रीदेखि मन्त्रीकै पावर लगाएर जाने गर्दछन् । मन्त्रीलाई कस्तो बाध्यता परेर होला शिक्षकलाई इमिग्रेसनमा पठाउँछ ? त्यहाँ कोअर्डिनेसन र चेक एण्ड व्यालेन्स राम्रो छैन । धेरै एजेन्सी हुँदा नोबडी रेस्पोन्सको अवस्था छ । डिपार्चरमा सेक्युरिटी चेक नेपाल प्रहरीले गर्दछ । अराइभलमा सशस्त्रले गर्न थालेको छ । बाहिर आर्मीले हेर्छ । त्यो आफैंमा ठीक होइन । एपिएफले रवि लामिछानेको भयानक चाकरी गरेर त्यहाँ अहिले जिम्मेवारी पाएको छ । त्यसरी सशस्त्रलाई अध्यागमनमा खटाउन हुन्छ ? जतिखेर सूर्यनाथ उपाध्याय अख्तियारको प्रमुख हुनुहुन्थ्यो उहाँले आफ्नो टोली एयरपोर्टमा खटाउन खोज्नुभएको थियो । अख्तियारलाई भुत्ते बनाउन मन छ भने पठाउनुहोस् भनेपछि बल्ल उहाँ रोकिनुभएको हो ।

० नेपालको अध्यागमन थप सुधार्न के के गर्नुपर्ला ?

– म जानुअघि इमिग्रेसनबाट को आयो वा को गयो भन्ने डाटा हुँदैनथ्यो । अहिले तुरुन्त को मान्छे, कुन समयमा आयो वा गयो भन्न सकिन्छ । टेक्नोलोजीको कारणले डकुमेन्टको पहिचान गर्न सजिलो छ । तर को मान्छेको नियत खराब हो वा होइन भनेर जाँच्ने कसरी ? अहिले फोटो हुँदै थम्ब प्रिन्ट, आइरिस हेर्ने प्रविधि आइसक्यो । हामी पनि यी प्रविधिमा अभ्यस्त हुनु जरुरी छ । ऊ बेला पासपोर्टमा कागज टाँस्ने चलन थियो । एउटा कागज टाँस्दा झण्डै तीन लाग्थ्यो । म प्रमुख भएको बेला छाप हान्ने चलन चलाइयो ।

अहिले कुन विदेशी कहाँ आएर बसेको छ भन्ने कुरा ट्रेस गर्न सकिन्छ । एउटा अमेरिकन त्यहाँ अपराध गरेर नेपाल आई बस्दो रहेछ । मृत्यु भइसकेको व्यक्तिको नाममा पासपोर्ट बनाएर ऊ नेपाल आएको र पाँचपटक आवतजावत गरेको भेटियो । उसलाई त्यहाँको प्रहरीले समाउन सकेन । जहाँको इमिग्रेसन पनि चिप्लँदो रहेछ भन्ने उदाहरण हो यो । अमेरिकन एम्बेसीले उक्त नागरिकलाई फर्जी पासपोर्टको केसमा नेपाली इमिग्रेसनलाई खोज्न आग्रह गर्‍यो । हामीले ट्रेस गरेर हेर्दा पोखराको एउटा घरमा बस्दो रहेछ । प्रहरीले तत्काल समाएर ल्याएपछि अमेरिकनहरु पनि चित खाए । उनीहरुले गृह मन्त्रालयलाई पत्रै लेखे । त्यतिखेर माधव घिमिरे सचिव थिए । नेपाल प्रहरीले हेर्नेबित्तिकै को अपराधी हो भन्ने थाहा पाउँछ तर सशस्त्रले त्यो भेउ पाउँदैन । अनअराइभल भीसाको व्यापक दुरुपयोग भइरहेको छ । यसलाई परिमार्जन गर्नुपर्दछ । भीसाको तीस डलर तिर्न नसकेर नेपालमा पर्यटक नआउने भन्ने कुतर्क हो । नेपालमा काम गर्न स्टुडेन्ट भीसा, लेबर र बिजनेश भीसा बोकेर आउनेहरु पनि छन् । नेपालमा बिजनेश गर्न पहिला टुरिष्ट वा अनअराइभल भीसामा आउनुपर्दछ । आएपछि बल्ल बिजनेश भीसाका लागि निवेदन दिने हो । यो कुरा उसको ठाउँमै बनाउने व्यवस्था मिलाउन के ले रोकिरहेको छ ? कोही बिजनेश म्यान हो भनेर झर्नु र टुरिष्टको रुपमा आउनुमा कति फरक हुन्छ ? अहिले चिनियाँहरुले बिजनेश भीसालाई अत्यन्त दुरुपयोग गरिरहेका छन् । त्यस्ता गतिविधि रोकिनु जरुरी छ ।

० कतिपय प्रशासक अवकाशलगत्तै संवैधानिक निकायतिर नियुक्ति खान्छन्, तपाईंले चाहिँ चाकडी जान्नुभएन कि नियुक्ति खाने रहर जागेन ?

– यस प्रकारको राजनीतिक नियुक्तिमा विवेक प्रयोग गरेर राम्रो र योग्य मान्छे लैजानुपर्दछ । तर, त्यतातिर क्वालिटीका मान्छेहरु नलैजाँदा आज संवैधानिक निकायहरु पेण्डुलम बन्न पुगेका छन् । लोकमान सिंहजस्तालाई सर्वदलीय सहमति जुटाएर नियुक्ति गर्नेबाट के अपेक्षा गर्ने ? लोकमान खराब भनेर लोकलाई थाहा थियो भने तिनलाई नियुक्ति गर्नेलाई मात्रै थाहा थिएन होला र ?

० अख्तियारले हरेक दिनजसो कुनै न कुनै कर्मचारीलाई भ्रष्टाचार मुद्दा चलाइरहेको हुन्छ तर विशेषबाट झण्डै ९१ प्रतिशतले सफाई पाएको भेटिन्छ । कहाँ कुरा नमिलेर हो ?

– कुनै मान्छेलाई दोषी हो भन्नका लागि आधार र प्रमाण जुटाउने काम अख्तियारको हो तर अदालत त्यसमा सहमत छैन । म पनि कारवाहीमा परिसकेको कर्मचारी । अख्तियारले मुद्दा चलाउँदा भनेको थिएँ, तपाईंहरुले कारवाहीका लागि कारवाही गर्ने होइन । सरकारी निकायमा बस्नेहरुले निर्णय गर्ने, सही गर्ने र कार्यान्वयन गर्ने हो । यो निर्णय गर्दा पैसा खायो भनेर आरोपित गर्दै जाने हो भने भोलि यहाँ कोही कर्मचारी बच्छ ? सार्वजनिक जिम्मेवारीमा बस्दा उसको नियत सही थियो कि थिएन ? उक्त निर्णय गरेर व्यक्तिगत लाभ लियो वा लिएन ? सो कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ ।

० जागिरे जीवनको उत्तरार्धमा नखाएको बिष लाग्दा कस्तो अनुभूति रह्यो ?

– अवकाशको मुखैमा पुगेको व्यक्तिलाई नखाएको बिष लाग्दा दिमागले काम गरेन । आत्महत्या नै गर्ने हो कि भन्ने स्थिति आयो । अख्तियारले भ्रष्टाचार मुद्धा चलाएपछि हिजोसम्म ठीक देखिरहेको समाजले भोलिपल्टैदेखि अर्कै आँखाले हेर्दछन् । एक जना यातायातका कर्मचारी थिए, विवाह गरेको दुई बर्षमात्र भएको । अख्तियारले मुद्दा चलाएलगत्तै श्रीमतीले छाडेर हिँडिन् । म भ्रष्टाचार मुद्दा चलेको दुई–तीन दिन बाहिर निस्किन । पछि यो मान्छेलाई फसाइएको हो भनेर बुझ्नेहरु भए । कर्मचारीको कामै निर्णय गर्ने हो । निर्णय गर्दा खायो, सिध्यायो भन्ने हो भने मुलुक कहाँ पुग्छ ? अहिले हेर्ने हो भने निर्णय नगरी हात बाँधेर बस्नेको बढुवा हुने र तिनै माथि पुग्ने स्थिति छ । निर्णय गर्नेहरु भ्रष्टाचार मुद्दा लागेर निलम्बित हुँदैछन् । यस्तो स्थितिमा बढुवा भएर गएका कर्मचारीले के काम गर्दछन् र सुशासन हुन्छ ? सार्वजनिक ठाउँमा बस्नेहरुले सतप्रतिशत नीति नियम मिलाएर काम गर्दछु भन्ने हो भने उसले सिन्को पनि भाँच्न सक्दैन । सार्वजनिक हितका लागि अलिअलि नियम कानुन मिचिएको छ भने हेर्ने निकाय चुप लाग्नुपर्दछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष