वर्तमानमा बसेर विगत सम्झनु पर्छ, कुरा गरी साध्य छैन अचम्मै लाग्छ। हाम्रो पुस्ताले वाल्यकालमा देखे भोगेका कुराहरू वर्तमान पुस्तालाई विश्वास नलाग्न पनि सक्छ तर यथार्थ भनेको यथार्थ नै हो। समय अनुसार परिवर्तन हुदै जादा विगतका भोगाइहरू क्रमशः ईतिहास बन्दै जान्छन् यो प्राकृतिक नियम हो। यसै प्रसंगमा हाम्रो पालाको दशैंको रौनक उल्लेख गर्ने जमर्को गरेको छु तर यो प्रसंग पनि स्थान विशेषमा फरक हुन सक्छ। हाम्रो पालामा दशैंको शुरूवात सरसफाईबाट हुन्थ्यो। बाटो घाटो, कुवा, पोखरी सफाईको अभियानै चल्दथ्यो। हरेक घरबाट अनिवार्य उपस्थित हुनु पर्थ्यो, सरसफाईका लागि आवश्यक पर्ने गैटी, कोदालो, कोराहा, बेल्चा, हसिया लिएर जानु पर्थ्यो। कहां कहां सफाई गर्नु पर्ने हो भन्ने कुरा गांउका पाकाहरूबाट निर्णय गरिन्थ्यो।
बिज्ञापन
यस्तो काममा सरकारको मुख हेर्ने चलन थिएन र यी काम गाऊले आफैले गर्ने चलन थियो। बाटो घाटोको सरसफाई पछि घर सफाई र लिपपोतको पालो आउथ्यो। यसको निम्ति रातो, पहेंलो र सेतो(कमेरो) माटो लिन टाढा टाढा जानु पर्थ्यो। यस क्रममा कति जना त माटोको ढिस्कोमा पुरिन पनि सक्थे। घर लिपपोतको काम महिलाहरूको जिम्मामा पर्थ्यो। यसरी ल्याएको माटो भिन्दा भिन्दै ताउलोमा भिजाएर कुचोले भित्ता भित्तामा पोतिन्थ्यो। हरेक घर नयां लुगा लगाईएका महिला जस्ता देखिन्थे। क्रमशः रातो, पहेंलो र सेतो रंगले सजिदा घरहरू सफा सुग्घर देखिन्थे। झ्याल, ढोकामा टर्च लाईटमा प्रयोग गरेर सकिएका ब्याट्रीको कालो लगाएर आखामा गाजल लगाएको जस्तो देखिने गरी झ्याल ढोका पोतिन्थ्यो। यही प्रयोजनको लागि सकिएका ब्याट्री संकलन गरिन्थ्यो। दशैमा लगाईने नयां कपडाको रौनक नै बेग्लै हुन्थ्यो। त्यति खेर अहिले जस्तो रेडिमेड कपडाको चलन थिएन।थानबाटै कपडा किनेर सिलाउन दिने चलन थियो। त्यति खेर कपडा सिलाउने टेलरलाई सूचीकार भनिन्थ्यो। सूचिकारको घरमा विष्ट ( कपडाका धनी)को भिड लाग्थ्यो।
बिज्ञापन
सूचिकारहरूले सिलाउने घरलाई बाली घरे भनिन्थ्यो। किनभने कपडा सिलाए बापत बाली दिनु पर्थ्यो।बाली भन्नाले कपडा सिलाएको ज्याला नै हो तर यो नगदमा नभएर धान, कोदो, मकै जस्ता बालीमा भुक्तानी दिईन्थ्यो। केटाकेटी बेलामा हामीहरू सूचिकारकोमा आफ्ना कपडा कुरेर बस्दा औधी रमाईलो हुन्थ्यो। त्यति बेलाको दशैको अर्को रौनक भनेको लिंगे पिंग थियो। हरेक घरबाट बाबियो( लामो घांस विशेष) उठाएर एउटा घरमा जम्मा गरिन्थ्यो र दिन भरको काम सकेर खाना खाईवरी रातीमा लठ्ठो बाटिन्थ्यो र यसलाई ४ वटा लिंगोमा टांगेर पिंग बनाईन्थ्यो र रातभर खेलिन्थ्यो। पिंगको प्रसंग आउदा यस बेला बनाईने रोटे पिंगको छुट्टै महत्व थियो। अधिकांश यो ४ पिर्के हुन्थ्यो र काहीं काहीं ८ पिर्के पनि बनाईन्थ्यो। यसरी पिंग खेल्ने क्रममा गाऊका यूवा यूवती जम्मा भएर दोहोरी गाउने चलनले पनि दशैको वातावरणलाई थप रमाईलो बनाउथ्यो। दशैको अर्को र महत्वपूर्ण पाटो भनेको खसी वा मासु हो। दशैको अष्टमीका दिन खसी काट्ने काम हुन्थ्यो ।
यति खेर सिंगो खसी एउटै घरमा राख्ने चलन त्यति थिएन। गांउलेहरू बीच बांडेर खाईन्थ्यो। मासु भाग भाग लगाएर बाडिन्थ्यो। यति बेला मासु आजभोली जस्तो किलोमा नभएर धार्नीमा जोख्ने चलन थियो। एक धार्नीमा करीव साढे दुई किलो हुन्थ्यो। धार्नीको सानो ईकाईलाई सेर भनिन्थ्यो। १ धार्नीमा ८ सेर हुन्थ्यो। भाग लगाईएको मासु केराको सुप्लोमा राखेर घर लगिन्थ्यो। बडा नवमीका दिन कोटमा मेला लाग्थ्यो । कोट भनेको बाईसे चौबीसे राजाको दरवार भएको ठाऊ जुन शत्रूबाट जोगिने अग्लो ठांऊमा हुन्छ। त्यही समय देखिको चलन आज पर्यन्त रही आएको पाईन्छ। दशैको अवधिमा दुर्गाको महिमाका लागि घर घरमा चण्डी पाठ त गरिन्थ्यो नै, त्यसको अतिरिक्त स्थानीय गायकहरूले घर घर मा कर्खा गाएर स्वस्ती शान्तिको कामना गर्दथे र पूर्णिमा भित्र दशैको प्रसाद घर घर बाट उठाउने गर्दथे।
बिज्ञापन
दशैको मुख्य दिन टीकाको दिन हो। सो दिन मान्यजनको हातबाट टीका जमारा थापिन्छ, सेल रोटी खाईन्छ, पिंग खेलेर रमाईलो गरिन्छ। टीकाको अर्को रमाईलो टीका जमरा लगाएर दिईने दक्षिणा हो। हाम्रो चलन अनुसार छोरा मान्छेलाई टीका लगाएर दक्षिणा दिने चलन छैन र दक्षिणा छोरी मान्छेलाई मात्र दिईन्छ। तर दक्षिणा छोरा मान्छेलाई पनि प्यारो हुन्छ त्यसैले घरमा टीको लगाएर हतार हतार मामा घर तिर लागिन्थ्यो। दशै पर्वको अवसरमा घट स्थापना देखि पूर्णिमा सम्म स्कूल विदा हुने हुदा झनै रमाईलो हुन्थ्यो। यस्तो अर्गानिक दशै आजभोली खोजेर कहां पाईन्छ र!