नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्रीको सम्झौता

नेपाल र बंगलादेशबीच भोलि (बिहीबार) विद्युत् व्यापार सम्झौता हुने भएको छ। दुई देशबीचका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको छैटौं बैठकले सम्झौताको टुंगो लगाएको हो। काठमाडौंमा सम्पन्न नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको छठौं बैठकले विद्युत खरिद(बिक्रीको सम्झौता गर्ने निर्णय गरेको हो । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र बंगलादेशको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हविबुर रहमानको सहअध्यक्षतामा बैठक काठमाडौंमा बसेको थियो ।

बिज्ञापन

नेपाल-बंगलादेश बीच ४० मेगावाट विद्युत व्यापारको शुरुवातको भोलि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौता हुनेछ । सचीवस्तरीय बैठकमा नेपाल-बंगलादेश अन्तरदेशीय विद्युत प्रसारण लाइनहरुको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी-३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तर्देशीय विद्युत आयात/निर्यात गर्ने लगायतका विषयमा छलफल भई निम्नानुसारको सहमति भएको छः

बिज्ञापन

१. नेपालमा उत्पादित ४० मे.वा. विद्युत बंगलादेशमा निर्यात गर्नका लागि भोलि असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसि विद्युत व्यापार निगम, भारत बीच विद्युत विक्री सम्झौता (Power Sales Agreement) मा हस्ताक्षर गर्ने ।

२. सुनकोशी-३ जलविद्युत आयोजना नेपाल, बंगलादेश र भारत बीच सहकार्यपूर्ण सहभागीता आधारमा विकास गर्ने र उक्त आयोजना विकास गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौता (Joint Venture Agreement) मा अर्को बैठक अगाडि टुङ्गो लगाउने । साथै, सुनकोशी- ३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुऱ्याउने सुनिश्चितताको लागि भारत सरकारलाई अनुरोध गर्ने ।

बिज्ञापन

३. नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने ।

४. नेपालको जलविद्युत क्षेत्रमा लगानीको प्रवर्द्धन गर्नको लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरुको खोजी गर्ने ।

५. वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) र Sustainable and Renewable Energy Development Authority (SREDA), बंगलादेशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्र (MoU) लाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रुप दिने र हस्ताक्षर गर्ने ।

६. नेपाल, बंगलादेश र भारत बीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विद्युत क्षेत्रमा सहकार्य गर्नका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ- आफ्नोतर्फबाट पहल गर्ने ।

एक दशकको प्रयास

नेपाल र बंगलादेशबीच विद्युत् खरिद बिक्रीका लागि करिब एक दशकदेखि प्रयास भइरहेको थियो । बंगलादेशले सन् २०१६ मै बनाएको ऊर्जा प्रणाली गुरुयोजनामा नेपालबाट विद्युत् आयात गर्ने उल्लेख थियो । यो गुरुयोजनामा नेपाल र भारतको उत्तरपश्चिमबाट ८ हजार ५ सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिने उल्लेख थियो ।

तर, नेपालबाट विद्युत् निर्यात गर्न भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्छ । त्यसका लागि बहुदेशीय सम्झौता हुनुपर्ने पनि उल्लेख थियो । त्यसपछि २०१८ मा दुई देशबीच ऊर्जासम्बन्धी सहकार्य अघि बढाउन संयुक्त समिति बनेका थिए । २०१९ मा जीएमआरद्वारा माथिल्लो कर्णालीबाट उत्पादन गर्ने विद्युत् खरिद गर्न बंगलादेशले सैद्धान्तिक स्वीकृति दिएको थियो ।

उसले नेपालबाट ५ सय मेगावाट विद्युत् निर्यात गर्ने गरी बंगलादेशसँग सम्झौता गरेको छ । तर, यो परियोजना निर्माण नै सुरु नभएकाले त्यस मुद्दामा दुई देशका सरकारी अधिकारीले अहिले छलफल नै गरेका छैनन् ।गत वर्ष बंगलादेशमा भएको दुई देशबीचको ऊर्जासम्बन्धी संयुक्त स्टेयरिङ कमिटी बैठकमा ४० मेगावाट विद्युत् आयात निर्यात गर्ने सम्बन्धी सहमति भएको थियो । बंगलादेशले नेपालको विद्युत् परियोजनामा आफैं लगानी गर्न पनि रुचि देखाएको छ । दुई देशको सचिव स्तरीय स्टेयरिङ कमिटी बैठकमा नेपालको सुनकोशी–३ परियोजना दुई देशको संयुक्त लगानीमा बनाउने सहमति भएको थियो । रामेछाप र काभ्रे सिमानामा पर्ने आयोजना ६ सय ८३ मेगावाटको जलाशययुक्त हो ।

बंगलादेश पावर डेभलपमेन्ट बोर्डले २०२६ भित्र नेपालबाट ५ सय मेगावाट विद्युत् आयात गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।