‘बजार अनुगमनले व्यवसायी र उपभोक्तालाई सजक गराउँछ’

हिन्दुहरुको महान पर्व दशैं र तिहार नजिकिएसँगै सरकारको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिब्रता दिएका छ । गुणस्तरहीन र अखाद्य बस्तुको विक्री वितरण हुने र कालोबजारी मौलाउने भएकाले विभागले दैनिक अनुगनमन गर्ने फर्म र उद्योगको संख्या बढाएको छ । बुधबार मात्र विभागले १८ फर्म र उद्योगमा अनुगमन गरेको छ । वास्तवमा चाडपर्व लक्षित अनुगमन गर्नुको कारणबारे नेपाल न्यूज बैंकले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवम सूचना अधिकारी डिक बहादुर कार्कीसँग कुराकानी गरेको छ ।

बिज्ञापन

दशैँ तिहार लक्षित बजार अनुगमन गरिरहनुभएको छ । कस्ता कस्ता केसहरुले भेटिने गरेका छन् ?
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको मुख्य काम भनेको बजार अनुगमन नै हो । अनुगमन चाडवाडमा मात्र होइन नियमित रुपमा गरिने कार्य हो । नियमित अनुगमनका अतिरिक्त चाडपर्वलक्षित कार्ययोजना समेत बनाएका छौं । जसमा दैनिक सात आठवटा टोली बजार अनुगमन गर्नका लागि पठाउने गरेका छौं । त्यस्तै सार्वजनिक विदाको दिन समेत टोली परिचालन गरिरहेका छौं । अनुगमनका क्रममा चाडपर्वमा बढी मात्रामा वस्तु र सेवाको विक्री वितरण हुने गरेका कारणले मिसावट, मानव स्वास्थ्यलाई असर गर्ने वस्तुको विक्री वितरण, मूल्यवृद्धि, कृतिम अभाव जस्ता समस्या पर्ने गरेका छन् । विभागले मध्यनजर राख्दै तीनै कुराहरुलाई रोक्नको लागि अनुगमनलाई तिव्रता दिइरहेको छ । अनुगमनका क्रममा खासगरि वस्तु तथा सेवाको लेबल नलगाएको, म्याद गुज्रिने समय नलेखेको, उत्पादकको ठेगाना नलेखेको लगायतको विषयहरु, गुणस्तर र एमआरपीभन्दा बाहिर गएर लिएको जस्ता कुराहरुलाई आधार मानेर अनुगमन गरिरहेका छौं । केही स्थानमा अस्वाभाविक मूल्य वृद्धि गरेर बेचिरहेको, लेबलिङ नटासिएको भेटेका छौं । केहीलाई आवश्यक निर्देशन दिने र केहीलाई जरिवाना तिराउने, सचेत गराउने कामहरु गरिरहेका छौं ।

बिज्ञापन

चाडवाडका बेला मात्रै विभागले बजार अनुगमनमा सक्रियता देखाउने, अरुबेला बजार अनुगमन नगर्नुको कारण के हो ?
त्यस्तो होइन । प्रत्येक दिन अनुगमन गर्दै आइरहेका छौं । तर, चाडपर्वमा चाँही विषेश कार्ययोजना बनाएर काम गरिरहेका छौं । जसमा संयुक्त अनुगमन टोली बनाएर सार्वजनिक विदामा समेत हामीले अनगुमन गरिरहेका छौं । चाडवाडलाई लक्षित गरेर विभाग अलि बढी सक्रिय भएको हो । तर अनुगमन त विभागले नियमित रुपमै गर्दै आइरहेको छ ।
बजारमा उपभोक्तालाई ठग्ने मनसायले एमआरपीभन्दा बढी मूल्यमा सामान विक्री भइरहेका हुन्छन् । तर सबै ठाउँमा विभागको आँखा पुग्दैन । पुगेको ठाउँमा समेत आवश्यक निर्देशन र सचेत मात्र गराउँदा कार्यान्वयन भएको पाइँदैन नि ।
यो कुरामा मेरो असहमति छ । दैनिक रुपमा गर्ने अनुगमनको प्रतिवेदन हेर्नुभयो भने ३० देखि ४० फर्म व्यवसायहरुको अनुगमन गरेका हुन्छौं । त्यसमा जरिवाना गरिएको संख्या पनि बढी नै छ । त्यस्तै उनीहरुलाई सचेत गराइएको संख्या पनि बढी नै छ । जरिवाना नगर्ने भन्ने त होइन तर हाम्रो उद्देश्य के हो त भन्दा जरिवाना गरेर राजस्व संकलन गर्ने भन्दापनि उपभोक्तालाई सचेत गराउने र व्यवसायीहरुलाई गुणस्तरीय सामानहरु बेच्न उत्प्रेरित गर्ने हो । उपभोक्तालाई जागरुक र विवेकशील बनाउने नै हाम्रो लक्ष्य हो ।

विभागले बजार अनुगमन गर्ने मापदण्डहरु के हुन् ? उजुरी अथवा गुनासो आएपछि मात्रै जाने हो कि, के हो ?
विभागले बजार अनुगमन गर्दैगर्दा अनुगमन कार्ययोजना बनाउँछौं । त्यही कार्ययोजनालाई टेकेर एक हप्ताको योजना बनाउँछौं । अनुगमन टोलीका सदस्यहरुलाई यो ठाउँमा जाने, यो पसलमा अनुगमन गर्ने भने पूर्ववतः जानकारी गरेका हँुदैनौं । अनुगमन टोलीका सदस्यहरुले चाँही अनुगमनमा जानुभन्दा पाँच मिनेट अगाडि यो ठाउँमा जाने भनेर उनीहरुलाई सम्बन्धित शाखाको प्रमुख अथवा अधिकार प्राप्त व्यक्तिले भनेको हुन्छ । व्यवसाय वा फर्ममा अनुगमन गर्ने भन्ने कुरा थाहा हुँदैन । त्यसमा पनि अनुगमन टोली नियमित रुपमा अनुगमनमा जाने त भइरहन्छन् । त्यसका अतिरिक्त हेलो सरकारबाट उजुरी प्राप्त हुन्छ । विभागको वेबसाइटमार्फत पनि उजुरी प्राप्त हुन्छ । १०३७ हाम्रो हटलाइनमा समेत कल गरेर उजुरी दिन पाइन्छ । त्यसरी आएका उजुरीका आधारमा र उपभोक्ता अधिकारकर्मीहरुमा प्राप्त उजुरीलाई नै प्रमुख आधारमा मानेर बजार अनुगमन गर्छौं । यसका अतिरिक्त छड्के अनुगमन पनि उपत्याकाका विभिन्न ठाउँहरुमा पनि गर्दै आइरहेका छौं ।

बिज्ञापन

विभागले काठमाडौं उपत्यका बाहिरका ठाउँमा कसरी अनुगमन गरिरहेको छ ?
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग राज्यको एक महत्वपूर्ण निकाय हो । अनुगमन गर्ने निकाय र अंगहरु चाँही स्थानीय निकायहरुसँग पनि छ । प्रदेश सरकारबाट समेत अनुगमन भइरहेको हुन्छ । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखको संयोजकत्वमा अनुगमन टोली नै गठन गरिएको हुन्छ । उहाँहरुले आफ्नो क्षेत्रमा अनुगमन पनि गरिरहेको हुन्छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत समेत अनुगमन भइ नै रहेको हुन्छ । विभाग अन्तर्गत मात्रै पनि चार पाँचवटा अन्य कार्यालय र शाखाहरु छन् ति शाखाहरुबाट समेत अनुगमन भइरहेको हुन्छ । त्यसैले उपत्यकता बाहिर हाम्रो उपस्थिति कम जस्तो देखिएपनि सरकारका अन्य निकायहरुले चाडवाड लक्षित अनुगमनहरु गरि नै रहेका हुन्छन् ।

संघीय मन्त्रालय र बजार अनुगमन गर्ने सरकारी निकायहरुले उपत्यका बाहिर गर्ने अनुगमन भत्तासँग जोडिएको कारण प्रभावकारी नभएको र नामको मात्रै अनुगमन भयो भन्ने आरोप पनि छ नि, के भन्नुहुन्छ ?
सरकारले अनुगमनमा जाने टोलीका सदस्यहरुको लागि त्यस्तो व्यवस्था गरेको छैन । तर, जो व्यक्ति अनुगमनमा गइरहेको हुन्छ उसलाई खाजा भने पाँच सय रुपैयाँ दिइरहेको हुन्छ । अन्य भत्ताको व्यवस्था गरिएको हुँदैन । त्यसकारण यो आरोप सत्यताको नजिक नहुन सक्छ कि । खाजा खर्च बाहेक अनुगमन टोलीका सदस्यहरुलाई अन्य भत्ताहरु दिएको मलाई थाहा छैन ।

तर, विभागले मौसमी अनुगमन मात्र गर्दा प्रभावकारी भएन भनिन्छ । अनि विभागले अनुगमनका क्रममा दिएका निर्देशनहरु कति कार्यान्वयन गरिए नगरिएको ‘फलो अप’ गर्छ कि गर्दैन ?
सर्वप्रथम त यो अनुगमन मौसमी नभएको म सबैमा स्पष्ट पार्न चाहन्छु । किन कि विभागले सदाबहार अनुगमन गर्ने गरेको छ । तर, अनुगमनमा प्रभावकारिता नआएको हुनसक्छ । त्यसमा विभिन्न समस्याहरु हुन्छन् । अनुगमनका क्रममा कुनै कैफियत देखिएमा उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्थाहरु, कानूनहरुको पालन नभएमा फर्म व्यवसायीहरुलाई व्यवस्था अनुसार सजाय हुन्छ । अथवा सामान्य गल्ती वा ठुलो गल्ची छैन भने सचेत गराउने र गल्ती नदोहोर्याउने भने सामान्य निर्देशन समेत दिने गरेका छौं । तर, गम्भीर त्रुटी छ भने ऐन कानूनमा तोकिए बमोजिमको सजाय हुन्छ । गम्भीर त्रुटीलाई पनि बारम्बार दोहोर्याउन त्यो व्यवसायलाई बन्द गर्ने अथवा सिल गर्ने लगायतका जरिवाना समेत गरिएका हुन्छन् । त्यस कारण अपराधको कसुरअनुसार सजायहरु हुन्छ । यो सधैं गरिने भएपनि अनुगमनलाई चाडपर्वमा अझ योजना बनाएर तिव्रताका साथ गरिँदै आएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रत्येक आर्थिक वर्षमा बजार अनुगमनसँग सम्बन्धित कार्य योजना नै बनाएको हुन्छ । त्यो कार्ययोजनामा राखिएका बजार अनुगमनका लक्ष्यहरु पुरा हुन्छन् ?
बजार अनुगमनको जुन वार्षिक लक्ष्य छ त्योभन्दा बढी नै अनुगमन गरेका छौं । गतवर्ष पनि लक्ष्यभन्दा १९ प्रतिशत बढी गरेका थियौं । यसवर्ष पनि लक्ष्यभन्दा बढी नै हुनेगरी अनुगमनमा उत्रिएका छौं । यसले व्यवसायी र उपभोक्तालाई सजग गराउन भूमिका खेल्छ । जुन अनुगमनको लक्ष्य र प्रगति छ त्यसले चाँही लक्ष्यपूर्ति गर्नेभन्दा पनि प्राविधिक विषय ठान्नुपर्छ । जबसम्म तीनै तहका सरकारहरुको संयुक्त रुपमा अनुगमन हँुदैन, तीनै तहको सरकारले बजार अनुगमनका काममा समन्वय र सहकार्य गर्दैनन जबसम्म फर्म व्यवसायीहरु इमानदार हुँदैनन्, उनीहरुले कर्पोरेट उत्तरदायित्व राख्दैनन् । जबसम्म सेवा उपभोग गर्ने उपभोक्ताहरु जागरुक र विवेकशील हुदैनन् तबसम्म बजार अनुगमनको प्रयत्न पूरा नहुन सक्छ । त्यसकारण सबैभन्दा पहिले उपभोक्ता नै सजग हुनुपर्दछ, इमानदार हुनुपर्दछ । उपभोक्ता ठगिएमा तुरुन्तै हेलो सरकारमार्फत र विभागको हटलाइनमा कल गरेमा र भौतिक उपस्थितिमै उजुरी गरेमा विभागले कारबाही गर्नेछ ।

तपाइँहरुको अनुगमनका क्रममा उपभोक्ताहरु कत्तिको सचेत पाइरहनुभएको छ ?
विभागमा उजुरीहरुको संख्यामा वृद्धि हुनुले निश्चय पनि उपभोक्ताहरु सचेत हुँदै जानुभएको पुष्टि हुन्छ । विगतका वर्षहरुभन्दा उजुरीहरुमा वृद्धि हुँदै जानुले पनि उपभोक्ता सचेत हुँदै गइरहेको पाएका छौं । उपभोक्ता सचेत हुँदै गइरहेका छन् ।
साना पसलहरुमा मात्रै अनुगमन गर्ने ठुला व्यवसायीक फर्महरुमा अनुगमन नगर्ने आरोप पनि लाग्ने गरेको छ नि ।
हो, हामीलाई यही आरोप लाग्ने गरेको छ । हामीलाई चाँही साना व्यवसायी र साना फर्महरु बढी अनुगमन भयो । ठूला फर्महरुमा कम भयो आरोप लागिरहेको छ । साना ठुला भन्दापनि उजुरीको अवस्था अनुसार अनुगमन गर्छौं । अनुगमनको स्थलअनुसार सानाठुला जुनसुकै किसिमका व्यवसायहरु जसले उपभोक्ता संरक्षण ऐन अनुसार अपराध गरेका हुन्छन् तिनीहरुलाई कारबाही गर्दै आइरहेका छौं । त्यसैगरी जनचेतनामुलक कार्यक्रहरु समेत सञ्चालन गर्दै आइरहेका हुन्छौं ।

दशैंमा यात्रा गर्ने यात्रुहरु बढीभन्दा बढी खानामा ठगिने गरेका हुन्छन् । यसमा तपाईको अनुगमन हुन्छ कि हँुदैन ?
दशैं तिहारका लागि गाउँ फर्किने उपभोक्ताहरु राजमार्गका होटलहरुमा ठगिने गरेका छन् । अखाद्य वस्तुहरु समेत बेच्न राखेका हुन्छन् । यसरी मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्याउने गतिविधि हुनसक्ने भएकाले राजमार्ग केन्द्रित अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विभाग र गृह मन्त्रालयले अनुरोध गरिरहेको छ । अनुगमन हुन्छ ।

चालु आर्थिक वर्षमा कति फर्म र व्यवसायीलाई कारबाही गरेर कति राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ?
चालु आर्थिक वर्षमा ३५०० फर्म र व्यवसायको अनुगमन गर्ने लक्ष्य राखेका छौं । अनगुमनलाई सकेजति बढाउने नै भन्ने हो तर यति नै राजश्व उठाउने भन्ने हँुदैन । हाम्रो कार्य नै राजश्व उठाउने नभइ उपभोक्तालाई जागरुक बनाउने हो । तीनै तहको सरकारसँग समन्वय गरेर अनुगमन प्रभावकारी बनाउने नै लक्ष्य हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष