प्रधानमन्त्री र मन्त्रीको बाझाबाझ सचिवले मिलाउने हो र ?

देशका ११ उपमहानगरपालिकामध्येको एक बाराको जीतपुर सिमराका मेयर हुन् राजन पौडेल । उपमेयरसहित बहुमत सदस्य एमालेतिर हुँदा माओवादीबाट निर्वाचित उनलाई नगरसभामा विपक्षीले दिनुसम्म दुःख दिएकै थिए । अहिले भने सिंहदरबार नै आफ्नो नगरलाई असफल बनाउन लागिपरेको आरोप छ,उनको । हुन पनि यसवीच तीन महिनामै प्रमुख प्रशासकीय अधिकृत फालिदिएकोदेखि,मेयरप्रति उत्तरदायी भएको आरोपमा यहाँकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिदिएको छ,सरकारले । वर्तमान संघीय सरकार एमाले‑काँग्रेस इतर मेयर र अध्यक्ष रहेका पालिकालाई असफल बनाउन लागिपरेको आरोप लगाउँछन् पौडेल । माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका उनी ०३५ सालमा धादिङमा जन्मिएर ०४४ सालदेखि सिमराको वासिन्दा बनेका हुन् । ग्रामीण विकास र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका पौडेलले ०५६ सालदेखि तत्कालिन नेकपा ९माओवादी० को विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० र ०५७ सालदेखि माओवादीको पूर्णकालिन कार्यकर्ताका रुपमा बिताए। वीचमा राज्यले पटक पटक गिरफ्तार गरेर डिल्लीबजारस्थित सदरखोर,वीरगञ्ज कारागार, भद्रगोल जेल,सर्लाही र सुन्दरीजल जेलमा थुनेको तीतो विगत कहिल्यै बिर्सन सक्दैनन् । ०६३ जेष्ठ १० गते लामो जेल जीवनबाट मुक्त भएका उनी त्यसयता बाराको राजनीतिमा सक्रिय छन् ।

बिज्ञापन

वडा अध्यक्ष कुटाकुट,कोरम नपुर्याई नगर अधिवेशनजस्ता क्रियाकलापविरुद्ध अदालतमा मुद्धा मामिला चलिरहेकै थियो । अब प्रमुख प्रशासकीय अधिकृतकै बिषयमा सरकारसङ्ग लफडा चलिरहेको अवस्था छ । कसरी आयो यस्तो दिन ?
(सरकारले महानगर र उपमहानगरका निम्ति सहसचिवको दरबन्दी तोकेको छ । प्रमुख प्रशासकीय अधिकृत पद संघीय सरकारको मुख्य सचिव वा सचिवजस्तै हो जसलाई सरकारले नै खटाउँछ तर हेटौंडाबाहेक अधिकांश उपमहानगरमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत छैनन् । संघ सरकारको आँखाबाट हेर्दा प्रमुख प्रशासकीय अधिकृत सामान्य देखिएला तर यस्ता अधिकृत नहुँदा सबै काम कुरा रोकिने अवस्था छ । स्थानीय तहसँग सहकार्य,समन्वयभन्दा पनि हस्तक्षेप गर्ने र आफू इतर मेयरहरुलाई कन्ट्रोल गर्ने कोसिस यसवीच सिंहदरवारबाट भइरहेको छ । दूरदराजका गाउँपालिकाहरुको स्थिति त अझै नाजुक छ ।
कोरम नपुर्याई गराउनुभएको नगरसभाविरुद्ध अदालतमै मुद्धा मामिला पुगेको थियो नि,होइन ?
– १० असारभित्र नगरसभा डाकेर बजेट पास गरी प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने संवैधानिक र कानुनी ब्यवस्था भएबमोजिम असार ६ गतेदेखि १० गतेसम्म ३ पटक नगरसभा डाकिएको थियो । विपक्षीको विरोध र तोडफोडका वीच ऐनको व्यवस्थाअनुसार २५ प्रतिशत सदस्यको गणपूरक संख्या पुर्याएर नगर अधिवेशन सम्पन्न भयो । पहिलो बैठकमा ५० प्रतिशत भएपछि कोरम पुग्थ्यो,बहुमत साथीहरू उपस्थित हुनुभएन, बहिष्कार गर्नुभयो । ८ असारको दोश्रो बैठकमा ५० प्रतिशत नै कोरम चाहिन्थ्यो,त्यसमा पनि उहाँहरू आउनुभएन । १० गते तेस्रो बैठक बोलाएँ, त्यो दिनसम्म अनिवार्य बजेट प्रस्तुत गरिसक्नुपर्ने थियो । २५ प्रतिशत उपस्थितिले पुग्ने व्यवस्थालाई असफल पार्न सदस्यहरूलाई रोक्ने,धम्काउने सबै खाले काम उहाँहरूले गर्नुभयो । सभा शुरु भएपछि पनि माइक,क्यामेराहरू तोडिए । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू असार २३ गते उच्च अदालत पुग्दा २८ गते नगर अधिवेशन बदरको आदेश आएन । सोही समयमा सरकार परिवर्तन भयो । उपप्रमुखसहितका बहुमत साथीहरु,जो नगरसभामा अनुपस्थित हुनुहुुन्थ्यो,प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेर बजेट रोक्ने खेलोमा लाग्नुभयो जबकि उहाँले मेयरलाई सहयोग गरेकै कारण नगरसभा सफल भएको हो ।प्रधानमन्त्री र मन्त्रीबीच झगडा हुँदा मुख्यसचिव वा सचिवले मिलाउने कुरा हो र ! मन्त्री र राज्यमन्त्रीबीचको लफडा सचिवले मिलाउँछ र ? अनि संसदमा माननीयहरुले काटमार गर्दा महासचिव वा कर्मचारीहरु छुट्याउन जान्छन् ! अरु केही प्रयास सफल नभएपछि २८ वैशाखदेखि काम गरिरहेको संघीय मन्त्रालयले साउन ३ गते फेरबदल गरिदियो र विगतमा यहीँ बसेर बदमासीमा मुछिएका शिक्षा समूहका उपसचिवलाई खटाउने काम भयो । सोविरुद्ध हाम्रो प्रमुख अधिकृत सर्वोच्च जानुभयो ।अदालतले अल्पकालीन आदेश दिएसँगै उहाँ काम गर्दै हुनुहुुन्थ्यो,मन्त्रालयले तैपनि पेल्न छाडेन ।
 उनको अमेरिका भ्रमण नै रध्द गरियो नि यसवीच,हैन ?
– स्थानीय तहको सवलीकरणसँग सम्बन्धित एउटा प्रोजेक्ट थियो त्यो । जसका लागि मधेश प्रदेशको ६ वटा स्थानीय तहका अधिकृतहरु जाने तय भएको थियो । सामान्य प्रशासन मन्त्रालयले साउन ६ गते उर्मिला काफ्लेलाई मनोनयन गर्यो । यही बीचमा सामान्यले उहाँलाई हटाएपछि सर्वोच्च जानुभयो । मन्त्रीको सचिवालयका कर्मचारीहरुले ‘मुद्धा फिर्ता लिनुहोस्,नभए भ्रमण रद्ध हुछ’ भनेर दवाव दिइरहेका थिए । नभन्दै १८ गते भीसा लागिसकेर अमेरिका जाने तयारीस्वरुप काठमाडौं पुग्दा भ्रमण रद्ध गरिदियो मन्त्रालयले । नगरको प्रमुख प्रशासकीय अधिकृत मन्त्रीको सचिवालयप्रति उत्तरदायी हुनुपर्ने भन्ने त कहीं कतै कानुनी व्यवस्था छैन । यो त तिमीहरु मेयरप्रति उत्तरदायी भएको खण्डमा पाउने अवसर पनि खोसिन सक्छ भनेर दिइएको धम्की नै भएन र !
काठमाडौंका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्माबीच जुहारी जारी छ । मेयर साहले रोजेर लगेका सहसचिव प्रदीप परियारलाई पनि आठ महिनामै सरुवामा गरिएको छ,उसै गरी जीतपुरबाट पनि तीन महिनामै फालिएको छ । यसरी संघीयता कसरी मजबुत होला र ?
-गाँउपालिकामा मन्त्रालयले सचिवस्तरीय निर्णयबाटै शाखा अधिकृत खटाउँछ । काठमाडौं पेलानमा परिरहेको महानगरपालिका भयो,जीतपुरमा पनि उस्तै हालत छ । यस्तै खालको गतिविधि थुप्रै गाउँपालिकामा देखिन्छ । नयाँ आर्थिक बर्ष शुरु भएसँगै व्यापक रूपमा कर्मचारी हेरफेर हुन्छन् । हालैमात्र फ्रेस १ सय शाखा अधिकृतलाई स्थानीय तहमा खटाइयो । यसरी नयाँलाई खटाउँदा कतिपय स्थानीय तहले लिन मान्दैनन्,कतिपय आफै जान मान्दैनन् । यसअघि पनि आधाभन्दा बढी कर्मचारी बीच बाटैबाट फिर्ता भएका थिए । फ्रेसलाई खटाउनुको अर्थ हो‑ निमित्तका रूपमा चलखेल गर्नु । सामान्य प्रशासनमा बस्नेहरु इमान्दार थिए भने भर्खरै पहिलो पोस्टिङ्ग भएका कर्मचारीलाई गाउँपालिकामा खटाउँदैनथे । २ बर्षको अनुभव भएकालाई मात्र जिम्मेवारी दिन्थे । नेपालका राष्ट्रिय राजनीतिक दलहरुले संघीयता के हो ? स्थानीय तहको कार्यक्षेत्र के के हो ? संवैधानिक र कानुनी अधिकार कस्ता छन् भनेर सर्वोच्च अदालतबाट स्थापित नजिरहरु हेर्नु जरुरी छ । पचौटा नगरपालिकाको डेडलक फुकाउने सन्दर्भमा संवैधानिक इजलाशबाट भएको फैसला नेताहरुले पढेको पाइएन ।

बिज्ञापन

कास्की,ललितपुर,भरतपुरलगायत तीन वटा महानगरपालिका चलाइसकेका वीरेन्द्रदेव भारतीलाई नै अहिले किन जीतपुर उपमहानगरमा खटाइएको होला ?
– म कहाँ अहिले खटाइएको वीरेन्द्रदेव भारती अनुभवी हुनुहुन्छ । गोदावरीमा भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा पर्नुभएको रहेछ । प्राकृतिक स्रोत दोहन र राजस्व हिनामिनामा अख्तियारले डामेपछि निलम्बनमा परेर क्लिन चिट पाउनुभएको रहेछ । महानगरपालिका चलाइसकेका यस्ता सहसचिवलाई अहिले कुन समयमा र कुन उध्देश्यले यहाँ पठाइयो शंका गर्ने ठाउँ छ ।
पर्सा जिल्लाकै राजकुमार गुप्ता सामान्य प्रशासनमन्त्री हुनुहुन्छ । तराईकै जिल्लालाई यति धेरै पेल्नुपर्ने कारण के होला?
-उहाँ एमालेबाट निर्वाचित र जीतपुरमा बहुमत साथी पनि एमालेकै । म माओवादीको । हाम्रो स्थानीय तह चाहे नगरसभा,गाउँसभा वा कार्यपालिका जुन होस् सबै अध्यक्षात्मक प्रणालीमा छ । आज संघीय सरकार,प्रदेश सरकार अस्थिर भएकैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउनुपर्दछ भन्ने लाइनमा बहस भइरहेको छ । ०७२ को संविधानमार्फत अध्यक्षतात्मक प्रणालीमा गएको स्थानीय तहले गरिरहेको यो अभ्यासलाई रोक्नका लागि प्रशासनिक हिसाबले अड्को थाप्ने काम भइरहेको छ ।
११ उपमहानगरपालिकामध्ये जीतपुरकै लिसाको नतिजामा अत्यन्त कमजोर देखियो नि ?
-लिसाको नतिजा डकुमेन्टेसन पनि जोडिएको हुन्छ । यद्यपि विगतमा भन्दा धेरै सुधार भएको छ । म निर्वाचित भएर आए यताको दुई बर्षमा समयमै बजेट ल्याउने र त्यसलाई कार्यन्वयन गर्ने काम भएको छ । १० गते नै नगरसभा गरिएको छ । बारा जिल्लाका १६ स्थानीय तहमध्ये सबैभन्दा पहिला खाता पाता खोल्ने र भुक्तानी गर्ने जीतपुर सिमरा नै हो । अघिल्लो वर्ष पनि नगरसभामा संघीय मामिला मन्त्रालयले असहयोग गरेका कारण सिम्रौनगढमा अप्रिय घटना घट्न पुगेको थियो । यसरी मान्छेको ज्यान जाने,तलब खान नपाउने स्थितिमा पालिकालाई पुर्याउन संघीय मामिला मन्त्रालय नै लागिरहेको छ ।
० यो दुई बर्षमा गर्नुभएका उल्लेख्य काम के के हुन्  ?
-स्थानीय पाठ्यपुस्तक लागू भएको छ । शिक्षक दरबन्दी मिलाइएको छ । म निर्वाचित भएर आउँदा प्रत्येक वडामा स्वास्थ्य चौकी थिएन । सामान्य स्वास्थ्य सेवा नपाउने स्थिति हटेको छ । विद्यालय तहका शिक्षालाई व्यवस्थित गरी परीक्षा प्रणाली सुधारिएको छ । सामुदायिक क्याम्पसहरूलाई विद्यालयको शैक्षिक सुधारमा समेत सहभागी गराइएको छ । पूर्व पश्चिम,उत्तर दक्षिण जोड्ने गरी सडकहरु निर्माण भइरहेको छ । पुराना सिँचाइ प्रणालीलाई मर्मतसम्भार गरी पुनर्ताजगी दिने काम भएको छ । १५ २० लाखको योजनालाई प्रतिष्प्रर्धात्मक तरिकाबाट दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष