निजामती सेवामा १३,७९१ दिन

करिव ३८ वर्ष (१३७९१ दिन) निजामती सेवामा रहेर जीवनका सबै उर्जाशील समयहरु लाखौं सेवाग्राही नागरिकहरुलाई सेवा दिएर बिताइयो । यस अवधिमा सेवाग्राहीहरुलाई सेवा दिए बापत राज्यले खातामा जम्मा गरिदिने तलब बाहेक अरु केही अपेक्षा गरिएन । सेवाग्राहीहरुलाई सेवा दिए बापत कोही पनि सेवाग्राहीसँग १ कप चिया पनि खाइएन न त यसरी सेवा दिए बापत राज्यसँग कहिल्यै निजामती पुरस्कार, मान, पदवी, अलंकार, विभूषण, वैदेशिक भ्रमण, तालिमको अपेक्षा नै गरियो न त राज्यले नै देखे ! कहिल्यै मालदार अड्डा भनेर चिनिने अतिरिक्त कमाई हुने भनिएका कार्यालयहरुमा छड्के आँखाले पनि हेरिएन र पनि निजामती सेवाबाट सन्तुष्ट हुने थोरै कर्मचारीमध्ये म पनि पर्छु भन्ने मेरो दाबी छ किनकि मसँग सेवा लिन आउने सबै सेवाग्राहीहरु (एकाध खराब नियत राखेर आउने बाहेक)लाई मैले समयमै उचित सेवा दिन सकेको छु भन्ने मेरो पूर्ण दाबी छ ।

बिज्ञापन

लोकसेवा आयोगको परीक्षामा वरियता क्रममा अग्रस्थानमै पास गरी काभ्रेपलान्चोकको अति विकट तत्कालीन गोकूले चाकल गाउँ पञ्चायतबाट २०४३-०८-०४मा गाउँ पञ्चायत सचिवको जिम्मेवारीबाट शुरु गरेको सरकारी जागिर अवधिमा राजाको प्रत्यक्ष शासन सहितको पञ्चायती व्यवस्था, बहुदलीय प्रजातान्त्रिक व्यवस्था हुँदै गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा गोकूले चाकल गाउँ पञ्चायत, नयागाउँ गाउँ पञ्चायत, उग्रचण्डी नाला गाउँपञ्चायत/गाविस, सापिङ गाविस, ज्याम्दी मण्डन गाविस, अनैकोट गाविस, रविओपी गाविस, शारदाबतासे गाविसहरुमा २७ वर्ष सेवाग्राही नागरिकहरुसँग प्रत्यक्ष सम्पर्कमा रही आवश्यकता अनुसार घरदैलो सेवा समेत दिइयो । यस अवधिमा गाउँको विकास निर्माणमा समेत प्राप्त अनुदान रकमको अत्याधिक सदुपयोग गरियो । गाविस सचिवले खर्च गर्न पाउने, सुविधा लिन पाउने चालू खर्च समेत नलिएर/जोगाएर २०६९ सालमा हरेक खालका शारीरिक श्रम समेत गरेर करिव २० लाख पर्ने गाविस भवन बनाइयो । प्रशासनिक, विकास निर्माण, सामाजिक सचेतना लगायतमा श्रमजन्य अधिकांश काम समेत गर्न कुनै कसर बाँकी राखिँन भलै त्यो समय उल्लिखित कार्यालयहरुको म कार्यालय प्रमुख नै थिएँ । जनप्रतिनिधि विहिन अवधिमा समेत म कार्यरत रहेको गाउँका नागरिकहरुलाई जनप्रतिनिधिहरुको अभाव महशुस हुन दिइएन बापतमा मैले ती स्थानीय निकायहरुबाट कुनै अनधिकृत आर्थिक लाभ लिईंन र पनि राज्यले दिने तलबले नै मैले आफ्नो खर्च व्यवस्थापन गरेँ ।

बिज्ञापन

कर्मचारी समायोजनपछि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय प्यूठान, जिल्ला प्रशासन कार्यालय लमजुङ , जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय काभ्रे, इलाका प्रशासन कार्यालय जस्पुर अनि पछिल्लो अवस्थामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा केहि समय रही यहिँबाटै राजिनामा गरेर निजामती सेवानिवृत्त जीवन रोजेको छु त्यसको पत्र आज पाएँ ।

धेरै कर्मचारीहरुको चाहना सिंहदरबार अनि सुविधा सम्पन्न कार्यालयहरुमा रहेर काम गर्ने हुन्छ मैले त्यसो गर्न सिकिँन । २७ वर्ष स्थानीय निकायहरुमा काम गरेर समायोजनले सिंहदरबार पुर्याउँदा पनि सिंहदरबारको सेवा सुविधा अवसर लिन जानिँन, मन्त्रालयमै बस्ने सुविधा हुँदाहुँदै आफैले रोजेर भूईमान्छेहरुलाई सेवा दिने ठाउँहरु जिल्ला प्रशासन कार्यालय प्यूठान, लमजुङ, धनकुटा, काभ्रेपलान्चोकलाई कर्मक्षेत्र बनाएँ । भूईमान्छेहरु अनि भूगोलसँग खुब रमाएँ । राज्यले दिने निजामती पुरस्कार, मान, पदवी, अलंकार, विभूषणभन्दा आफूले समयमै सही सेवा दिए बापत सेवाग्राहीले दिने एकथान धन्यवाद मेरा लागि सधै अब्बल रह्यो । काभ्रेपलान्चोकमा रहँदा कार्यक्षेत्रका सेवाग्राही, जनप्रतिनिधिहरुसँग सहकार्य गर्न जाने क्रममा धुलिखेल खावामा सडक दुर्घटनामा परेर हातको कुम भाँचिएपछि नियतिले पुन: सिंहदरबार छिरायो । म भूईमान्छेहरुसँग रमाउने मान्छेलाई सिंहदरबार भित्रका दिनहरु कटाउन सहज भएन । सिंहदरबार भित्र म हुनु र नहुनुले केही फरक त होला तर तात्विक अन्तर हुन्न ।

बिज्ञापन

 

सिंहदरबारसम्म छिर्न सक्ने मान्छेहरु सिंहदरबारको सेवा लिनसक्ने हैसियतका हुन्छन् । पछिल्लो सिंहदरबार भित्रको कार्यकाल सेवा प्रवाहका हिसावले मलाई फिटिक्कै सन्तुष्टि मिलेन कयौं दिनहरु हाजिर गरेर, खाजा खाएर, साथीहरुसँग गफ गरेर बिते । कासमू भर्दा सम्पादन गरेका काम लेख्ने कोलमहरु गर्वका साथ भर्न सकिएन/सक्ने ठाउँ पाइएन । अनि निर्णय गरेँ अब निजामती सेवाबाट बिदा लिनुपर्छ, राजिनामा लेखेँ धेरै साथीहरुले सदासयताका साथ राजिनामा नदिन भने र पनि मेरो मनले स्वीकारेन । “कम्तिमा दशैं खर्च खाएर त जानू, पर्यटन मन्त्रालयमा कर्मचारीहरु हिमाल चढ्न तँछाडमछाड गरी आउँछन बापतमा केही लाख ह्वाइट मनि पाउँछन् त्यो समयसम्म त पर्खनु ! पाएको जागिर अन्तिम दिनसम्म खानुपर्छ !” अधिकांश साथीहरुको सल्लाह यस्तै यस्तै हुन्थ्यो ! मलाई लाग्यो मैले मन्त्रालयमा रहेर सेवाप्रवाह गरेर सुविधा लिने हो मलाई सुविधा लिन पर्नेगरी केही जिम्मेवारी त आएको/दिएको हुनपर्यो मैले बहन गरेको हुनपर्यो । तर यसरी काम गर्ने अवसर त मैले पाएको छैन अनि काज, सेवा सुविधामै मुख मिठ्याएर किन समय कुर्न पर्यो ? पैसा भनेको जति भएपनि पुग्दैन नियमसंगत जति आउँछ त्यसैले सबै खर्च व्यवस्थापन गर्ने हो, गर्नुपर्छ म यसो गर्न सक्छु गर्छु अरुले लिएको नियमसंगत वा बेनियमले लिएका कुनै पनि रकमकलममा मेरो कहिल्यै आँखा लागेन मलाई आफ्नै पसिनाको गन्ध नै मीठो लाग्छ !

मैले निजामती सेवाको यो लामो अवधिमा कुनै पनि सेवाग्राहीहरुको चित्त दुखाएको छैन सेवा प्रवाह बापत कुनै रिसवत लिएको छैन त्यसैले काम गरिसकेका सबै कार्यक्षेत्रमा छाती फूलाएर जान सक्छु गइराखेको छु । साविकका सेवाग्राहीहरुसँग दुख सुख साटासाट गर्न कयौं पटक पुगेको छु अब त झन फूर्सद हुने भयो शरिरले साथ दिउञ्जेल जान्छु । जिल्ला प्रशासन कार्यालयहरुमा रहँदा जीवनको उत्तरार्धमा पुगिसकेर पनि नागरिकता पाउन नसकेका, तीनपुस्ते भित्र कोही जिउँदो नरहेका, सासू बुहारीको झगडाले नागरिकता पाउन नसकेका, श्रीमान् श्रीमतीको झगडाले बुढेसकालसम्म नागरिकता पाउन नसकेका महिला, सम्पत्तिको लोभले बुहारीको नागरिकता बनाउन बाधक भएका, अपांग भई जिल्ला प्रशासन कार्यालयमा आउन/ल्याउन नसकेका कयौंलाई नागरिकता जारी गरेको छु यस्मा मैले कुनै गलत काम नगरेको तर सेवाग्राहीका लागि केही लचक भएको अनि बाधकहरुका लागि जोखिम मोलेरै कडा भएको चाहिँ पक्कै हो ।

मेरो निजामती सेवालाई यहाँसम्म पुर्‍याउन साथ दिने जीवनसाथी नारायणी, छोरा अठोट, छोरी आर्जनी धन्यवादका विशेष पात्रहरु हुन । अनि सम्पूर्ण सेवाग्राहीहरु, जनप्रतिनिधिहरु, मेरो निस्वार्थ कर्मलाई सहयोग, सल्लाह, सुझाव दिने सबै तहका कर्मचारी मित्रहरु शुभचिन्तकहरु सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु । निजामती सेवाको अवधिमा मैले जति पनि जाने बुझे सिकेका सबै काम कुराहरुमा तपाईंहरुको पनि हक लाग्छ । निजामती सेवानिवृत्त भइसकेपछि पनि तपाईंहरुले मसँग हरेक माध्यमबाट मैले जाने बुझेका विषयहरुमा सहयोग/सहकार्यका लागि भन्न सक्नु हुनेछ “म सेवानिवृत्त भएँ !” “थाहा छैन !” भनेर कहिल्यै भन्दिन जसरी अहिले पनि मेरो पूर्व कार्यक्षेत्रका सेवाग्राहीहरु, जनप्रतिनिधिहरु, कर्मचारी साथीहरु मसँग मैले जानेका कुरामा सहयोग माग्नुहुन्छ म दिइनै रहेको छु दिई नै रहने छु ! अनि अर्को कुरा म देश डुलुवा मान्छे कमाईको केही हिस्सा आन्तरिक पर्यटनमा खर्च गर्नुपर्छ भन्छु यहि क्रममा देशको ७७रै जिल्लाहरुका असंख्य भूगोलसँग मितेरी साइनो गाँसेको छु श्रीमती सहित, सार्वजनिक बिदा अनि आफ्नो संचिति बिदाको प्रयोग गरेर सरकारी काज खर्च नलिएर अनि सकभर सरकारी आवास र सरकारी खाना नास्ता छलेर । किनकी देश डुल्न हिँडेपछि खर्च पनि डुल्नेकै पकेटबाट हुनुपर्छ । अबका दिनहरुमा पनि यो अभियानले झन निरन्तरता पाउनेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।