वर्तमान सरकारका गृहमन्त्री सुधन गुरुङले चैत १३ मा गृह मन्त्रालयको नेतृत्व सम्हाले । त्यस यता आक्रमक रुपमा पूर्व पूर्वप्रधानमन्त्री,पूर्व गृहमन्त्री,ओलीकै क्याविनेटका उर्जा मन्त्रीसहित पूर्व सभासद्सहित विचौलिया र व्यापारी गरी ९ जना हाइप्रोफाइल पक्राउ परे । यसरी पक्राउ परेकामध्ये ३ जना छुटिसकेकका छन् भने दुई जना आजै हाजिरी जमानीमा छुट्दैछन् ।
बिज्ञापन
बालेन शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री गुरुङले चैत १४ गते बिहान केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । पक्राउ परेको करिब ११ दिनपछि पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री हाजिरी जमानीमा छुट्न लागेका हुन । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई चैत २५ भन्दापछि थुनामा नराख्न आदेश गरेको छ ।
सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी ओली र लेखकलाई रिहा गर्ने तयारी भएको हो । यस अघि काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाल गृहमन्त्रीकै आदेशमा पक्राउ परे । चैत १७ मा पक्राउ परेका रिजाललाई प्रहरीले ‘हाजिर जमानी’मा छुटिसकेका छन् । चैत १३ गते मन्त्रिपरिषद्ले कार्की आयोगको सिफारिस कार्यान्वयन गर्नेबारे दुईथरी निर्णय गरेको थियो । पहिलो निर्णय थियो, ‘उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिस बमोजिम गर्ने ।’छवि तथा तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीको हकमा अध्ययन समिति गठन गरी समितिले पेश गरेको प्रतिवेदन अनुसार मात्र कारवाही प्रक्रिया अगाडि बढ्नेछ ।
चैत १५ मा पूर्वमन्त्री दीपक खड्का पक्राउ परे । उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । यस्तै,व्यवसायी दीपक भट्टलाई प्रहरीले चैत १९ गते नक्सालबाट पक्राउ गरेको थियो । भट्टमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । यस्तै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेर छुटेका छन् । चैत २० मा पक्राउ परेका अग्रवालसँग बयान लिएर छाडिएको छ ।
शंकरका पुत्र सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । शंकर ग्रुपका सञ्चालक सुलभ अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासमा छन् ।
यस्तै नेकपा एमालेका प्रदेश समिति सदस्य कर्ण बहादुर मल्ल चैत १४ गते नै पक्राउ परे । पूर्वसभासद् समेत रहेका मल्लविरुद्ध बलात्कार सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । मुगु घर भएका मल्लविरुद्ध एक जना युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी थिइन् । बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको ती युवतीको आरोप छ । मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुरले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
बिज्ञापन
यता,लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा चैत १६ गते पक्राउ परिन् । काठमाडौँ–४ स्थित धुम्बाराहीमा बस्ने शर्माविरुद्ध घरमा काम गर्ने बालिकालाई यातना दिएर बालबालिका सम्बन्धी कसुर गरेको आरोप थियो । यसअघि महान्यायाधिवक्ताको कार्यालयबाट २०८२ जेठ १६ मा उनीविरुद्ध मुद्दा नचल्ने निर्णय भएको थियो । सोही विषयमा शर्मालाई थुनामा राख्नु नपर्ने भन्दै चैत २२ मा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले उनलाई रिहा गर्न आदेश दिए । सो आदेश अनुसार प्रहरीले शर्मालाई हिरासत बाहिर राखेर अनुसन्धान गरिरहेको छ ।
































