नेपाल निजामती कर्मचारी युनियनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनमत र बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
युनियनका अध्यक्ष उत्तम कुमार कटुवालद्वारा जारी विज्ञप्तिमा फागुन २१ गते सम्पन्न निर्वाचनपछि बनेको सरकारको सफल कार्यकालको कामना गरिएको छ। युनियनले नयाँ सरकारका नीति, योजना र कार्यक्रमहरूलाई सफल बनाउन निजामती प्रशासनले पूर्ण निष्ठा र सक्रियताका साथ सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।
विज्ञप्तिका मुख्य बुँदाहरू:
निजामती सेवा ऐनको आवश्यकता: देश संघीयतामा गएको लामो समय बितिसक्दा पनि संघीय निजामती सेवा ऐन जारी नहुँदा प्रशासनिक अन्योलता सिर्जना भएको भन्दै युनियनले यथाशीघ्र ऐन ल्याउन माग गरेको छ।
वृत्ति विकास र सरुवा प्रणाली: एउटै पदमा २० वर्षसम्म काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै फराकिलो वृत्ति विकास, आवधिक बढुवा र चक्रीय एवं पूर्वानुमानयोग्य सरुवा प्रणाली लागू गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
तलब पुनरावलोकन: बढ्दो महँगी र अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राख्दै कर्मचारीहरूको न्यून तलब र सेवा सुविधाहरूको न्यायोचित पुनरावलोकन गर्न युनियनले आग्रह गरेको छ।
राजनीतिक तटस्थता: कर्मचारीहरू राजनीतिक रूपमा तटस्थ रहँदै सरकारका नीति र कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध रहने र जनतालाई सरकारको उपस्थिति महसुस गराउने अभियानमा साथ दिने बताइएको छ।
विज्ञप्तिमा भनिएको छ, “कुनै पनि देशको कर्मचारीतन्त्र भन्दा त्यहाँको सरकार राम्रो हुन सक्दैन” भन्ने मान्यतालाई आत्मसात गर्दै राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन सरकारले विशेष कदम चाल्ने अपेक्षा लिएका छौँ।
युनियनले नागरिकमैत्री प्रशासन, सूचना प्रविधिको प्रयोग र ‘क्षतिपूर्तिसहितको नागरिक सेवा’ लाई प्रभावकारी बनाउन सरकारलाई रचनात्मक सुझाव दिने कार्यमा आफूहरू सदैव तत्पर रहने समेत उल्लेख गरेको छ।
बिज्ञापन



























