राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तय भएको छ ।
बिज्ञापन
सो पार्टीका नेताहरुका अनुसार, शपथ ग्रहणमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल र ७ वटा शंखबाट शंखनाथ हुनेछ । सो अघि रास्वपा पार्टीले आज संसदीय दलको नेता चुन्दैछ । पार्टीको केन्द्रीय कार्यालयमा आज अपरान्ह बैठक बसेर मा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । आजको बैठकबाट संसदीय दलको नेता चयन भएपछि शुक्रबार बालेन प्रधानमन्त्री बन्नेछन् । उनको शपथको समय पनि तोकिसकिएको छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा बालेन शाहको शपथ ग्रहण कार्यक्रमको व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुख्य सचिवलाई पत्र लेखेर शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन भनेका हुन् ।
भोलि मध्यान्ह शितलनिवासमा शपथ ग्रहण सकिएपछि दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने कार्यक्रम तय भएको रास्वपा पार्टीका नेताहरुले जनाएका छन् ।


























