नेपाली साहित्य र होमियोप्याथिक चिकित्साको क्षेत्रमा डा. लेखनाथ न्यौपाने नाम नौलो होइन । इलाम जिल्लाको तत्कालीन लुम्दे गाविसमा वि.सं. २०२९ भाद्र ९ गते जन्मिएका उनी मुम्बईबाट बी.एच.एम.एस. (ब्याचलर अफ होमियोप्याथिक मेडिसिन एन्ड सर्जरी) पूरा गरी होमियोप्याथिक चिकित्साको क्षेत्रमा दशकौंदेखि सक्रिय छन् । झापाको दमकमा सञ्चालित ‘रीता होमियो क्लिनिक सेन्टर’ मार्फत हजारौं बिरामीको सेवा गर्दै आएका उनले चिकित्सा मात्र होइन, साहित्यिक यात्रामा पनि आफ्नो छाप छोडेका छन् । ‘छोरा’ उपन्यास, ‘हराएका अनुहार’ कथासङ्ग्रह, ‘स्वस्थ कसरी रहने’ लेखसङ्ग्रहजस्ता कृतिहरू उनको बहुआयामिक व्यक्तित्वका प्रमाण हुन् । यसै क्रममा प्रकाशित उनको पछिल्लो कृति ‘स्वस्थ जीवन (होमियोप्याथिक चिकित्सा)’हो ।
बिज्ञापन
यस पुस्तकमा होमियोप्याथिक चिकित्साको परिचय र प्रभाववारे रोचक व्याख्या गरिएको छ । यो पुस्तक होमियोप्याथिक चिकित्साको अनेकौं आयामलाई लेखकले सामान्य पाठकका जानकारी हुनेगरि सरल, स्पष्टता भाषामा बुझाएका छन् । लेखकले प्रकृतिको नियमलाई आधार बनाएर मानव शरीरमा रोग उत्पत्ति, उपचार र रोकथामको व्याख्या गरेका छन् । रोगहरूको निवारण होमियोप्याथिक चिकित्साले कसरी भूमिका खेल्छ बुझाएका छन् ।
पुस्तकमा मधुमेह, उच्च रक्तचाप, पेटसम्बन्धी समस्या, छालारोग, श्वासप्रश्वासका समस्या जस्ता आम रोगहरूको होमियोप्याथिक दृष्टिकोणबाट उपचार कसरी सम्भव छ भन्ने कुरा उदाहरणसहित प्रस्तुत गरिएको छ । विशेष गरी, “अरूलाई होइन, आफूलाई सुधार्न सकिन्छ” भन्ने लेखकको सन्देश रहेकोे छ । पुस्तकको सुरुआत के हो होमियोप्याथिक चिकित्सा? भन्ने प्रश्नबाट भइ आँखाको समस्यामा होमियोप्याथिक भन्ने शिर्षकमा गएर टुङगिएको छ । होमियोप्याथिक चिकित्सा १८ औं शताब्दीमा जर्मनीका डा. सामुएल हानेम्यानले सुरु गरेको मानिन्छ । डा. सामुएलको बिधीदेखि डाक्टर न्यौपानेको किताबसम्म आइपुग्दा यो क्षेत्रमा थुप्रै परिवर्तन देखापरेका छन ।
डा. लेखनाथ न्यौपानेको यो पुस्तक होमियोप्याथिक चिकित्साको क्षेत्रमा एक व्यावहारिक किताब हो। होमियोप्याथीका सिद्धान्त, औषधिहरूको प्रयोग, सामान्य रोगहरूको पहिचान तथा सरल उपचार विधिलाई सरल नेपाली भाषामा प्रस्तुत गरिएको छ। लेखकको दशकौँको अनुभवले भरिएको यो किताबले विज्ञान र परम्परालाई जोडेर आममानिसलाई रोगसँग लड्ने आत्मविश्वास दिन्छ । पुस्तकलाई बागबजारमा रहेको भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।


























