काठमाडौँ । नेपालको राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन सरकारले कडाइका साथ कानुनी व्यवस्था कार्यान्वयन गरिरहेको जनाएको छ। गृह मन्त्रालयले “राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९” अनुसार राष्ट्रिय झण्डाको आकार, प्रयोग विधि, फहराउने तरिका तथा निषेधित कार्यहरू स्पष्ट रूपमा तोकिएको स्मरण गराउँदै यसको उल्लङ्घन भए कानुनी कारबाही हुने चेतावनी दिएको छ।
बिज्ञापन
कार्यविधि अनुसार राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न वा गराउन नपाइने, झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न नहुने, च्यात्ने, जलाउने, फ्याँक्ने, सामान पोको पार्न प्रयोग गर्ने, व्यापारिक विज्ञापनका लागि दुरुपयोग गर्ने जस्ता कार्य पूर्ण रूपमा निषेध गरिएको छ। त्यस्तै, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र प्रयोग गर्न नपाइने, चन्द्रमा तल पर्ने गरी लगाउन नहुने र छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री वा बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक वा चित्र राख्न नपाइने व्यवस्था गरिएको छ।
गृह मन्त्रालयका अनुसार प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यक्षेत्रभित्र राष्ट्रिय झण्डाको प्रयोग कार्यविधि बमोजिम भए नभएको नियमित अनुगमन गर्ने जिम्मेवारी समेत तोकिएको छ।
यसैबीच, निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) अनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने भए पनि निर्वाचन प्रचार–प्रसारका अन्य गतिविधिमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। उक्त व्यवस्था उल्लङ्घन गरे कानुनी कारबाही हुने स्पष्ट प्रावधान रहेको मन्त्रालयले जनाएको छ।
बिज्ञापन
त्यसैगरी, मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झण्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। सो प्रावधानको उल्लङ्घन भएमा सजायको व्यवस्था समेत गरिएको छ।
अन्त्यमा, गृह मन्त्रालयले राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुन बमोजिम मात्र प्रयोग गर्न सबैमा हार्दिक अनुरोध गर्दै, दुरुपयोग भएको पाइएमा कानून अनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ।


























