दाङ/बाँके । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी कानुनी कारबाहीको घेरामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बिज्ञापन
आयोगका अनुसार केसी बाँकेको मालपोत कार्यालयमा अधिकृत रहँदा सार्वजनिक जग्गा निजी स्वामित्वमा लैजान भूमिका खेलेको आरोप छ। सोही प्रकरणमा आयोगले केसीसँग २२ लाख ४२ हजार ७ सय २० रुपैयाँ बिगो दाबी गरेको छ।
उक्त मुद्दामा केसीसहित नौ जना प्रतिवादी बनाइएका छन्। प्रतिवादी सूचीमा तत्कालीन मालपोत अधिकृत अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल र कर्णबहादुर पुन, साबिक बेतहनी गाविसका सचिव मानबहादुर बोगटी, डुडुवा गाउँपालिका–२ का लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मी लगायत रहेका छन्।
आयोगले सरकारी सम्पत्तिको संरक्षणमा लापरवाही तथा अधिकारको दुरुपयोग गरी निजी लाभ लिइएको निष्कर्षसहित आजै मुद्दा दायर गरेको जनाएको छ। अदालतको निर्णयपछि दोषी ठहर भएमा कानुनअनुसार सजाय र बिगो असुलउपर हुने आयोगको भनाइ छ।


























