११ वर्षअघि पहिलो इन्टिग्रिटी आइडल घोषित खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपसचिव ज्ञानमणि नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दामा साक्षी बुझ्न आदेश गरेको छ ।
बिज्ञापन
सामाजिक र पेसागत क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै अकाउन्टिबिलिटी ल्याबनामक संस्थाले नेपाललाई सन् २०१४ मा इन्टिग्रिटी आइडल उपाधि हात पारेका नेपालसहितका नौ जनालाई प्रतिवादी बनाउँदै अख्तियार गत जेठ अन्तिम साता विशेष अदालतमा पुगेको थियो । सोही मुद्धाको सुनुवाई गर्दै विशेषका न्यायधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साक्षी बुझ्ने आदेश दिएको छ ।
खोटाङको दिप्रुङ चुइचुप्पा गाउँपालिका– ७ स्थित कृष्ण माविको चारकोठे भवन निर्माणमा २५ लाख ५० हजार रुपैयाँ निकासा दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अगाडि बढाएको हो । नेपाललाई प्रमुख प्रतिवादी कायम गरेको अख्तियारले शिक्षाकै तत्कालीन इन्जिनियर वृधन यादव, सबइन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठविरुद्ध साढे २५ लाख बिगो कायम गरेर मुद्दा चलाएको छ । विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष टीकाराम राई र भवन निर्माण गर्ने जयप्रसाद राईलाई जनही साढे २५ लाखको बिगो मागदावी सहित विशेष अदालतमा पुगेकोमा विशेषले साक्षी बुझ्न आदेश दिएको हो । अकाउन्टिबिलिटी ल्याव नामक संस्थाले सन् २०१४ मा नेपाललाई पहिलो ‘इन्टिग्रिटी आइडल अवार्ड’ हात पारेका तत्कालीन उपसचिव नेपालले विद्यालय भवन निर्माणमा २५ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ।
गुणस्तरहीन काम भनी प्राविधिक प्रतिवेदनमा उल्लेख भए पनि नेपालले सुधार नगरी बजेट अतिआवश्यक रहेको देखाएर झुटा बिल–भर्पाईका आधारमा रकम निकासाका लागि जिल्ला शिक्षा कार्यालयबाट सदर गरेको आरोप छ । विद्यालयको चारकोठे आरसिसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ गरी कुल ४५ लाख १० हजार ८९२ रुपैयाँमा काम गर्ने गरी सम्झौता भएको थियो । तर, न्यून गुणस्तरको भवन बनाएको र प्रयोगमै ल्याउन नमिल्ने अवस्थाको भएको अख्तियारको दाबी छ ।
बिज्ञापन
सोही मुद्धामा विशेष अदालतले साक्षी बुझ्ने आदेश गरेको हो ।


























