सरकारी संयन्त्रकै अडिट निकायमा घुसको सञ्जाल : सरकारी कर्मचारीबाटै महालेखा र कोलेनिकालाई दिन्छन घुस

काठमाडौं । लामो समयदेखि घुस भनेको सेवाग्राहीले कर्मचारीलाई काम गराउन खुवाउने कुरा मात्र ठानिँदै आएको थियो । तर पछिल्लो समय सार्वजनिक भएको विवरणले त्यो धारणा नै उल्टाइदिएको छ । अब सरकारी कर्मचारी स्वयंले आफ्नो सरुवा, बढुवा, बेरुजु मिलान र गैरकानुनी फाइल पास गराउन अडिट गर्ने निकायलाई नै घुस खुवाउने गरेको गम्भीर आरोप सतहमा आएको छ ।

बिज्ञापन

सरकार र सरकारी कार्यालयको आय–व्यय परीक्षण गर्ने प्रमुख निकायहरू—महालेखापरीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)—माथि देशभर व्यापक घुस लेनदेनमा संलग्न भएको आरोप लागेको हो । ती कार्यालयमा कार्यरत करिब ५१४ जना अडिटरले प्रहरी, निजामती सेवा, नेपाली सेना र सशस्त्र प्रहरीसम्मका निकायबाट नगद कमिसनदेखि मदिरा, खसी र अन्य ‘उपहार’सम्म लिने गरेको दाबी सम्बन्धित सरकारी कर्मचारीहरूले नै गरेका छन् ।

बिज्ञापन

एक महालेखा कर्मचारीले परिचय गोप्य राख्ने सर्तमा दिएको जानकारीअनुसार नेपाली सेना र सशस्त्र प्रहरीका ब्यारेक तथा पृतनाको अडिट गर्दा प्रति इकाइ कम्तीमा २५ हजार रुपैयाँ असुली गरिन्छ । उक्त रकम बुझाएपछि भ्रष्टाचार र अनियमितता देखिएको हिसाबसमेत ‘मिलान’ गरी नक्कली आर्थिक प्रतिवेदन तयार गरिने गरेको उनको भनाइ छ ।

निजामती सेवाका अन्य कार्यालयहरूमा पनि यही अभ्यास दोहोरिएको आरोप छ । कोलेनिका र महालेखाले न्यूनतम २५ हजारदेखि ४० हजार रुपैयाँसम्म कमिसन लिएर बेरुजु नदेखाउने, बिल पास गरिदिने र फछ्र्यौट सहज बनाइदिने गरेको गुनासो व्यापक छ । स्थानीय तहहरू—महानगर, उपमहानगर, नगर र गाउँपालिकामा भने आम्दानी र खर्चको आकार हेरेर ५ लाखदेखि १ करोड रुपैयाँसम्म घुस लिइने गरेको आरोप उठेको छ ।

बिज्ञापन

नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतका निकायमा त मासिक ‘सेटिङ’ नै हुने गरेको बताइन्छ । त्यहाँ कोलेनिका र महालेखाका कर्मचारीले २५ हजारदेखि १ लाख रुपैयाँसम्म मासिक रकम माग्नुका साथै मदिरा, खसी वा अन्य सामग्री ‘बक्सिस’का रूपमा लिने गरेको जिम्मेवार व्यक्तिहरूको भनाइ छ ।

यी सबै विवरण सेवाग्राही होइन, स्वयं सरकारी कर्मचारीहरूले पटक–पटक उठाउँदै आएका गुनासो हुन् । उनीहरूका अनुसार घुस दिएको प्रमाण सुरक्षित राख्न अत्यन्तै कठिन हुन्छ, किनकि लिने पक्षले कुनै पनि लिखित वा प्राविधिक प्रमाण नरहने गरी रकम लिन रुचाउँछ । घुस नदिँदा फाइल ६ महिनासम्म थन्किने तर रकम बुझाएपछि ६ मिनेटमै काम सकिने अवस्थाले कर्मचारीहरूलाई ‘सेटिङ’को बाटो रोज्न बाध्य बनाएको उनीहरूको भनाइ छ ।

यही प्रवृत्तिको एउटा उदाहरण पोखरा महानगरपालिकाको उजुरी फछ्र्यौट तथा समन्वय शाखाका अधिकृत कपिल गिरी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी मिलाइदिने भन्दै २५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेका थिए । यो घटना कर्मचारीबाटै घुस खुवाएर मुद्दा मिलाउने सञ्जाल कति गहिरोसम्म फैलिएको छ भन्ने संकेत मानिन्छ ।

विरोधाभास के छ भने सरकारी कार्यालयदेखि मन्त्रालयसम्म ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेश लेखिएको पाइन्छ । तर त्यही दिव्योपदेश टाँसिएका कोठामै करोडौँ रुपैयाँको घुस कारोबार खुलेआम चलिरहेको आरोप लाग्दै आएको छ । आजको अवस्थामा घुस नदिने सेवाग्राही र घुस नखाने कर्मचारी भेट्टाउनु दुर्लभ बन्दै गएको टिप्पणी सर्वत्र सुनिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले हरेक दिन कर्मचारीलाई घुससहित पक्राउ गर्ने, मुद्दा दायर गर्ने क्रम बढ्दो छ । यसले भ्रष्टाचार व्यक्तिगत घटना नभई प्रणालीगत समस्या बनेको स्पष्ट संकेत गर्छ । शिरदेखि पाउँसम्म राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रको बदमासीले भ्रष्टाचार मौलाएको विश्लेषकहरूको निष्कर्ष छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयदेखि मालपोत, सडक विभागदेखि यातायात व्यवस्था कार्यालयसम्म, पालिकाका वडा तहदेखि मन्त्रालयसम्म घुस र कमिसनको संस्कार फैलिएको आरोप लाग्दै आएको छ । देशमा सम्पत्ति शुद्धिकरण हेर्ने निकाय भए पनि नेतादेखि कर्मचारीसम्मको ‘सेटिङ’ बिना ठूला घुस प्रकरण सम्भव नहुने यथार्थ सबैले देखिरहेका छन् । कानून छन्, तर कार्यान्वयन कमजोर छ; नीतिभन्दा निर्देशनमा अड्डा चल्छन्—यही कारण भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको विज्ञहरू बताउँछन् ।

अझ चिन्ताजनक तथ्य के छ भने देशभरका ७१ स्थानीय तहका लेखा अधिकृतहरू अकुत सम्पत्ति आर्जनको सूचिमा परेका छन् । प्रारम्भिक अध्ययनले उनीहरूले जागिर खाएको एक दशकभित्रै प्रतिव्यक्ति ५० करोड रुपैयाँसम्मको सम्पत्ति जोडेको देखाएको छ । विज्ञहरू भन्छन्—ठूला भ्रष्टाचारमा नेता मात्र होइन, कर्मचारीको मिलेमतो र ‘सेटिङ’ प्रणाली निर्णायक कारक बनेको छ ।

सार्वजनिक खर्चमा दोहोरो बिल देखाउने, रकम हिनामिना गर्ने र अडिटमै मिलेमतो गर्ने प्रवृत्ति रोक्न अब माथिल्लो तहको भाषणभन्दा तलैबाट कठोर कारबाही आवश्यक देखिएको छ । नत्र, सुशासनका लागि खडा गरिएका अडिट निकाय नै भ्रष्टाचारको मेरुदण्ड बनेको आरोप यथावत् रहने स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

बिशेष