सिरहा नगरपालिकाले स्वीकृत दरबन्दी बाहिर नियुक्त गरिएका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार २०८२/०९/०१ गतेदेखि लागू हुने गरी उक्त सम्झौता खारेज गरिएको हो।
नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२/०६/०५ गतेको बैठक निर्णय, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट प्राप्त निर्देशन बमोजिम स्वीकृत दरबन्दी बाहेक कर्मचारी राख्न नपाइने निर्णय कार्यान्वयन गरिएको नगरपालिकाले जनाएको छ।
बिज्ञापन
उक्त निर्देशनका आधारमा सिरहा नगरपालिकाले यसअन्तर्गत स्वीकृत दरबन्दी बाहिर अस्थायी नियुक्ति भएका, करार सेवामा रहेका तथा ज्यालादारीमा कार्यरत सबै कर्मचारीको सेवा सम्झौता रद्द गरेको हो। रद्द गरिएका कर्मचारीहरूको नामावलीसमेत सूचनासँगै संलग्न गरिएको छ।
सूचनामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनु र नगर प्रमुख डा. नविन कुमार यादव का हस्ताक्षर छन्।
नगरपालिकाका अनुसार संघीय, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी व्यवस्थापन गर्नुपर्ने सरकारी नीतिअनुसार यो निर्णय गरिएको हो। यस निर्णयले नगरपालिकाको कर्मचारी व्यवस्थापनलाई कानुनी र नीतिगत दायरामा ल्याउने विश्वास लिइएको छ।

























