काठमाडौँ — सरकारले गृह मन्त्रालय अन्तर्गत प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा कार्यरत आठ सहसचिवसहित एकैपटक ६० सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
बिज्ञापन
सरुवाअनुसार लमजुङका सिडिओ डा. टोकराज पाण्डे लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेशमा पठाइएको छ। खोटाङकी सिडिओ कल्पना श्रेष्ठ उद्योग मन्त्रालयमा सरुवा भएकी छन्। इलामकी सिडिओ सुनिता नेपाल लाई लगानी बोर्डको सचिवालयमा जिम्मेवारी दिइएको छ।
बिज्ञापन
यसैगरी सल्यानका सिडिओ नेत्र प्रसाद सुवेदी उद्योग मन्त्रालय, पूर्वी नवलपरासीका सिडिओ कृष्ण प्रसाद लम्साल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेशमा सरुवा भएका छन्। दोलखाका सिडिओ नारायण प्रसाद रिसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेशमा पठाइएका छन्। सिन्धुपाल्चोकका सिडिओ बन्धु प्रसाद बाँस्तोल लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ भने बाराका सिडिओ धर्मेन्द्र मिश्र लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेस प्रदेशमा जिम्मेवारी दिइएको छ।
सरकारको निर्णयसँगै गृह मन्त्रालयमा सात जना नयाँ सहसचिव भित्रिएका छन्। अन्यत्र कार्यरत रहेर गृहमा सरुवा हुनेमा रेखा कँडेल, निश्चलराज पाण्डे, राजन पौडेल, लक्ष्मी प्रसाद पौडेल, मदन कोइराला, उमेश ढुंगाना र शान्ति प्रसाद प्रसाई रहेका छन्।

























