सिद्धार्थनगर नगरपालिकाको एउटा नयाँ सरकारी गाडी तीन दिनदेखि बेपत्ता भएको छ। नगरपालिकाको उपप्रमुख उमा अधिकारीले नेकपा (एमाले)को ११औँ महाधिवेशनमा सहभागी हुन प्रयोग गरेको भनिएको उक्त गाडी अहिले कहाँ छ भन्ने कुरा रहस्यमय बनेको छ।
बिज्ञापन
नगरपालिकाको सेतो ह्युण्डाई क्रेटा (नम्बर प्लेट: बा.प्र.०१–०३३ च १८९७) एशियाली विकास बैंक (एडिबि)को लगानीमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाबाट प्राप्त गरिएको हो। स्थानीय स्रोतका अनुसार, गत बुधबार मध्यरातमा गाडी नगरपालिकाबाट बाहिरिएको थियो।
बिज्ञापन
सधैं नगरपालिकाका चालकले मात्र चलाउने गरेको यो गाडी हाल सवारी चालकबिनै हराएको उल्लेख गरिएको छ। स्रोतका अनुसार बिहीबार बिहान उपप्रमुख उमा अधिकारी काठमाडौं प्रस्थान गर्दा उक्त गाडी प्रयोग गरिएको थियो।
नगरपालिकाले यसबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन। कर्मचारीहरू समेत गाडीको बेपत्ता भएको विषयमा अन्यौलमा छन्। एक कर्मचारीले भने, “उपप्रमुखले नियमित नम्बर प्लेटको गाडी कार्यालयमै राखेर आम नागरिकलाई झुक्याएका हुन् कि? अब कर्मचारीहरू पनि प्रश्नको जवाफ दिन अन्यौलमा छन्।”
स्रोतले थप भनेका छन्, “गाडी मध्यरातमा उपप्रमुखले लगेको हो। चालक सँगै थिएनन्। तर अहिले गाडी कहाँ छ र पार्टीको महाधिवेशनको अतिरिक्त के प्रयोगमा छ भन्ने कुरा उहाँलाई मात्रै थाहा होला।”
नगरपालिकामा सार्वजनिक स्रोतबाट प्राप्त सरकारी साधनको दुरुपयोग र निगरानीको अवस्था यस घटनाले पुनः उजागर गरेको छ।


























