अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाँईसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक लेनदेनमा राहदानीमा उमेर थपघट गरेको आरोपमा उनीसहित १० जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो ।
बिज्ञापन
मुद्दा चलाइएकामा तत्कालीन नायव सुब्बा रविनकुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर, कार्यालय सहयोगी जीवनकुमार दाहाल, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृतहरु लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल, राहदानी वाहकहरु विनोद कुँवर, सीमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुंगेल र बलराम महतो छन् ।
बिज्ञापन
उनीहरूले सेवाग्राहीसँग घुस लिएर उमेर गडबढ गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको आरोपसहित अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार कर्मचारीहरुको मिलेमतो र आर्थिक चलखेलमा राहदानी वाहकहरुको उमेर एकदेखि आठ वर्षसम्म घटाएको पाइएको छ । जसमा विनोद र गोविन्दको पाँच वर्ष र बलरामको आठ वर्ष उमेर घटाइँदा सीमान्तको दुई वर्ष बढाएको अख्तियारको ठहर छ ।
बिज्ञापन
कार्यालयका कर्मचारीले राहदानीमा उमेर घटाए वा बढाएबापत अनलाइन रकम असुल गरी पासपोर्ट सिफारिस गर्ने गरेको र कसैलाई उक्त रकम लिएको कुरा भनेमा विभागमार्फत राहदानी ब्लक गरिदिने धम्कीसमेत दिने गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा उनीहरू उमेर घटबढ गरी पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको भेटिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर मुद्दामा उनीहरूलाई कैद र जरिवानको सजाय मागदाबी गरिएको छ ।
प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।


























