सिष्टमलाई मासेर व्यक्तिलाई ‘हिरो’ बनाउँदाको परिणाम के हुन्छ ? रवि लामिछाने नख्खु कारागारमा सडिरहेका छन् । रंगशाला बनाएको भुक्तानी पाइन भन्दै धुर्मुस सुन्तली रुँदैछन् । जेनजीको बलमा सत्तामा पुगेका उज्यालोको नायक कुलमान घिसिङ्गका पर्दा पछाडिका असली चेहराहरु छरपष्ट हुँदैछ । हितेन्द्रदेव शाक्यलाई जसरी पनि हटाएर कुलमानले नियुक्त गरेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालको मिलेमतोमा प्राधिकरणलाई झण्डै ४३ करोड नोक्सान पु¥याउने गरी भारतीय कम्पनीसँग सम्झौता भएको बिषय छरपष्ट भइसकेको छ । भारतीय कम्पनी पावर ट्रेड अफ इन्डिया (पीटीसी)ले प्रतियुनिट ६.७४ भारु (१०.७८ नेपाली रुपैयाँ)मा विद्युत बिक्री गर्न सक्ने प्रस्ताव गरेकोमा कुलमान र मनोजको मिलेमतोमा प्रतियुनिट ६.९ भारु (११.१२ नेपाली रुपैयाँ)मा खरिद गर्ने सम्झौता भएको हो । उसो त कुलमानको असली रुप अहिलेमात्र देखिएको होइन यस अघि नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङकै समयमा सवा २ अर्बको स्मार्ट मिटर घोटाला भएको थियो ।
बिज्ञापन
उनी विद्युत प्राधिकरणमा हुँदा नाम मात्रको टेन्डर आह्वान गरी स्मार्ट मिटर तथा विभिन्न सामग्री बजार मूल्यभन्दा ६ गुणा महंगोमा खरिद गर्ने काम भएको थियो । त्यो पनि आफ्नै नक्कली कम्पनीलाई ठेक्का दिएर खरिद गरिएको टोओडी मिटरहरू २ वर्ष नबित्दै कबाडीमा रुपान्तरण भएका छन् । कुलमानले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएका थिए । करिब ४ करोड बराबरको काम बाँकी रहेको ठेक्का बीचैमा रद्द गरी कुलमानले आफ्नै दाजुको लगानी रहेको कम्पनीलाई १३ करोडमा अवार्ड गरेको बिषय समेत अहिले अख्तियारमा पुगेको छ । तर उनको लोकप्रियताको आडमा अख्तियारले हात हाल्नबाट डराइरहेको छ । यस्तै कुलमानबाट भएको अर्काे बदमासी हो थानकोट–चापागाउँ–हरिसिद्धि प्रसारण लाइनमा बन्ने सबस्टेसनका लागि जग्गा अधिग्रहण प्रक्रिया नटुंगिँदै १५ प्रतिशत कमिसनको लोभमा नेपाल विद्युत प्राधिकरणले पावर ट्रान्सफर्मर पहिल्यै खरिद गरिएको प्रकरण । ६ अर्बभन्दा माथिको पावर ट्रान्सफर्मर लगायतका सामान किनेर भक्तपुरको खरिपाटीमा थन्क्याएर राखिएको थियो । सो खरिद प्रक्रियामा प्राधिकरणका तत्कालीन आयोजना व्यवस्थापन निर्देशक तथा अहिलेको कार्यकारी मनोज सिलवाल जोडिन्छन् । उसो त २२ वर्षअघि विद्युत प्राधिकरणमा जागिर खान शुरू गरेका घिसिङले चिलिमे आयोजना प्रमुख हुँदा भ्रष्टाचार गरेर धुलिखेलमा २५ रोपनी जग्गा खरिद गरेका उनलाई नजिकबाट चिन्ने र जान्नेहरु बताउँछन् ।
बिज्ञापन
उनका आफन्तका नाममा केही बर्ष अघि तीन करोडको लगानीमा खोलिएको कम्पनीले अहिले वार्षिक ६० करोड भन्दा बढीको कारोबार गर्दै आएको छ । यतिमात्रै होइन,कुलमानले पहिलोपटक कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दा नुवाकोटमा बनाइएको २५ मेगावाटको सोलार ग्रिडमा करिब ६८ करोड हिनामिना भएको पाइएको छ । सस्तोमा टेन्डर भरेको चीनको पेंगाओ एन्ड हेरोन जेभीलाई कानूनविपरीत हटाएर घिसिङले ६८ करोडभन्दा बढी बोलपत्र पेश गरेको राइजेन इनर्जीलाई छनोट गरी ठेक्का दिएको बिषय समेत अहिले बाहिरिएको छ । यस्का अलवा कुलमानकै कारण नेपाल विद्युत प्राधिकरणको नाममा दर्ता भएका करिब ३२ सय रोपनी जग्गा अतिक्रमण भएको पाइएको छ । विद्युत प्राधिकरणकै लापरवाहीका कारण करिब १८ सय रोपनी जग्गाको लालपुर्जा प्राधिकरणसँग छैन भने बाँकी १४ सय रोपनी जग्गा अतिक्रमित भएको तथ्य सार्वजनिक भएको छ । १० वर्षअघि सम्पत्ति व्यवस्थापन विभागले देशभर देशभर २ लाख ५८ हजार रोपनीभन्दा बढी जग्गा प्राधिकरणको नाममा रहेको बताएको थियो । तर, सामान्य सेवा विभागले करिब ३० हजार रोपनी मात्र रहेको बताउँदै तथ्यांक लुकाएको तथ्य बाहिरिएको थियो । दुई शाखाका फरक विवरणका कारण करिब २० हजार रोपनीजति जग्गा अतिक्रमणमा परेको प्रतिवेदन त्यतिबेलै सार्वजनिक भएको थियो ।
प्राधिकरणकै अडिट रिपोर्टहरूले यसलाई पृष्टि गर्दछ । प्राधिकरणसँग अहिले देशभरि ३१ हजार ७०७ रोपनी जग्गा छ । त्यसमध्ये ३१७० रोपनी जग्गामा विवाद देखिएको हो । स्रोतका अनुसार, प्राधिकरणको केन्द्रीय रेकर्डमा लगभग १८८२ रोपनी जग्गाको लालपूर्जा प्राधिकरणसँग छैन । यो प्राधिकरणसँग भएको जग्गाको करिब ६ प्रतिशत हो । प्राधिकरणसँग विवादरहित जग्गा २८ सय रोपनी छ भने त्यसमा १४७४ रोपनी जग्गा विभिन्न पक्षले कब्जा गरेको देखिन्छ ।यसमा अन्य सरकारी निकायहरूले ८३ रोपनी जग्गा कब्जा गरेका छन् भने १५ रोपनी जग्गा सडकमा परिणत गरिएको तथ्यांकले जनाउँछ ।


























