निजामती सेवाका कर्मचारीको सर्वोच्च पद मुख्य सचिव पद यही मंसिर ९ पछि रिक्त हुँदैछ । मुख्यसचिव एकनारायण अर्याल ५८ बर्षे उमेर हद लागेर घर जान लागेसँगै सो पद रिक्त हुन लागेको हो ।
अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०८१ भदौ १३ गते मुख्य सचिवमा नियुक्त गरेका थिए । झण्डै १५ महिना निजामती सेवाको सर्वाेच्च पदको नेतृत्व गरेर अर्याल घर फर्किने तयारी भएसँगै नयाँ मुख्य सचिवका लागि एक दर्जना बढी सचिवहरुले आफ्नो योग्यता र क्षमता प्रस्तुत गरिरहेका छन् । यसरी सन्देश पठाउनेहरुमा केही सचिवहरूले प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राखेका छन भने केहीले मुख्यसचिव एकनारायण अर्यालमार्फत त केही सचिवहरुले दुतावासमार्फत आफ्नो सन्देश प्रधानमन्त्रीसमक्ष पुर्याएका छन् ।
मुख्य सचिवका प्रवल दावेदारका रुपमा हेरिएका पात्र थिए गोकर्णमणि दुवाडी । तर उनको ट्र्याक रेकर्ड राम्रो नभएकाले उनी मुख्य सचिवको प्रतिष्प्रर्धाबाट रिङ आउट भइसकेका छन् । उसो त जेनजी आन्दोलनमा दुवाडी प्रहरी र प्रशासन परिचालनमा नराम्रोसँग चुक्दा उनको मुख्यसचिव बन्ने सम्भावनामा पूर्ण विराम लाग्न पुगेको छ ।जेनजी विद्रोह हुँदा गृह सचिवको भूमिकामा रहेका उनी मुख्य सचिव एकनारायण अर्यालसँगै अनिवार्य अवकाशमा जानेछन्,सेवा हदका कारण ।
बिज्ञापन
उनी पछि प्रतिस्पर्धामा छन्, सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर, रामप्रसाद घिमिरे, किरणराज शर्मालगायत छन् । सचिवहरूको वरीयतामा दोस्रो नम्बरमा रहेका अर्याल नयाँ मुख्य सचिवको प्रबल दाबेदार मानिन्छन् । उनी हाल रक्षा मन्त्रालयको सचिव छन् । नेपाल प्रहरीमा एआइजीको वरीयतामा पहिलो नम्बरमा रहेका दानबहादुर कार्की आइजीमा बढुवा भएको नजिर निजामती सेवामा पनि लागु भए अर्याल मुख्य सचिव हुने छन् । ०७७ माघ १९ गते सचिवमा बढुवा भएका सुमन नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका कर्मचारी हुन । ०५३ साल वैशाख १७ गते शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका उनी ६६ सालमा उपसचिवमा बढुवा भएर राष्ट्रिय योजना आयोगको सचिवालयमा कार्यरत रहेको देखिन्छ । ६८ सालमा सहसचिवमा बढुवा भएसँगै राष्ट्रिय योजना आयोगको सचिवालयमा नियुक्ति पाएका उनी केन्द्रीय तथ्यांक विभाग,प्रदेश सचिवका रुपमा आर्थिक मामिला तथा योजना मन्त्रालय धनगढीमा खटाइएको थियो ।
७७ साल माघमा सचिवमा बढुवा भएका उनी त्यस यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर,महालेखा नियन्त्रकको कार्यालय,महिला बालबालिका मन्त्रालय,युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय योजना आयोगको सचिवालय हुँदै गत असोज ५ गतेदेखि रक्षा सचिवको जिम्मेवारीमा छन् । विज्ञान बिषयमा स्नातकोत्तर गरेका अर्याल मुख्यसचिव भए २०८३ असार २५ गतेसम्म अर्थात आठ महिना पदमा रहनेछन् । सुमनले राष्ट्रिय तथ्यांक कार्यालयभन्दा बाहिर गएर काम गरेको सचिव भएपछि मात्रै हो । सचिवहरूमा वरीयतामा पहिलो नम्बरमा रहेका भरतमणि सुवेदीले राजीनामा दिएपछि दोस्रो नम्बरमा रहेका अर्यालको मुख्य सचिव हुने सम्भावना प्रबल बनेको हो ।
त्यस्तै खानेपानी मन्त्रालयकी सचिव बज्राचार्य अर्काे मुख्य सचिवको आकांक्षी हुन् । महिला प्रधानमन्त्री भएका बेला मुख्य सचिव बन्न उनले प्रयास र दौडधूप जारी राखेकी छिन् । ५५ साल चैत्रबाट शाखा अधिकृतका रुपमा निजामती सेवामा पाइला राखेकी प्रमिला नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहको कर्मचारी हुन ।
खानेपानी तथा ढल निकास विभागबाट जागिर प्रारम्भ गरेकी बज्राचार्य क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय,खानेपानी तथा सरसफाई डिभिजन,ललितपुर तीन बर्ष बिताएपछि गुल्मी पुगेकी छिन्,सेवाको क्रममा । ६६ सालमा उपसचिवमा बढुवा भएर सडक विभाग,काठमाडौंमा पदस्थापन भएकी उनी बर्ष दिन पछि ६७ सालमा सहससचिव बनेकी हुन । उनले सुपरिटेन्टेण्ड इञ्जिनियरका रुपमा सडक विभाग,भौतिक मन्त्रालय,रेल विभागमा बसेर काम गरेको देखिन्छ । ०७८ असार १७ गते प्राविधिकतर्फको सचिवमा बढुवा भएकी प्रमिलाले त्यस खानेपानी मन्त्रालयमा सात महिना,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा २ बर्ष,नेपाल ट्रष्टमा चार महिना काम गरेकी छिन् । उनी ०८१ साउनदेखि खानेपानी सचिवको भूमिकामा छन् ।
बिज्ञापन
राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटी अर्काे प्रतिष्प्रर्धी हुन । ०२५ भदौ २७ गते धादिङमा जन्मिएका बुर्लाकोटी र प्रधानमन्त्री सुशीला कार्कीको स्वभाव मिल्छ । कुरा नचपाई,सिधा भन्न सक्ने स्वभावका उनी यही स्वभावका कारण तीन चार महिनामै सरुवामा पर्ने प्रशासकका रुपमा चिनिन्छन् ।
२०७८ असार २१ गते सचिवमा बढुवा भएका बुर्लाकोटी मुख्य सचिव भए उनले करिब एक वर्ष काम गर्न पाउनेछन् । ५४ सालमा शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेका बुर्लाकोटी २०६३ सालका उपसचिव,६८ साल फागुन १७ मा सहसचिव र ७८ साल असारमा सचिव नियुक्त भएका हुन । सचिव नियुक्त भएको साढे चार बर्षको अवधिमा ६ वटा निकायमा सरुवा भएका छन्,उनी यही खरो स्वभावका कारण । ७८ साल माघमा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पुगेका उनी लामो समय टिक्न सफल भएको सोही कार्यालयमा हो,जहाँ झण्डै १५ महिना बिताएका उनलाई ८० साउनमा उपराष्ट्रपतिको कार्यालयमा पुर्याइयो । ८ महिना पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेर ल्याइयो तर त्यहाँ दुई महिना टिकेनन् । त्यहाँबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक महिना काम गरेका बुर्लाकोटीलाई अघिल्लो बर्षको भदौंदेखि सचिव थन्काइने कार्यालयको रुपमा चिनिएको राष्ट्रिय तथ्यांक कार्यालयमा जिम्मेवारी दिएर राखिएको छ । बुर्लाकोटी पाँच बर्षे सेवा अवधिका कारण आगामी साउन ४ घर जानेछन् ।
मुख्य सचिवका रुपमा चर्चामा रहेका अर्काे सचिव हुन कृष्णहरि पुष्कर । ५३ सालमा खरिदारबाट निजामती सेवा प्रवेश गरेका पुष्कर,५५ मा नायब सुव्वा,५९ सालमा शाखा अधिकृत,६६ सालमा उपसचिव,६८ सालमा सहसचिव बढुवा भएका हुन । ७८ साल असारमा सचिवमा बढुवा भएका उनले यो बीचमा ४० वटा निकायमा बसेर कार्यसम्पादन गरेका छन् । जिल्ला विकास समितिको कार्यालय,कालिकोटबाट सेवामा पाइला राखेका पुष्करजिविस सुर्खेतमा काम गरेपछि ५५ सालमा नासु बढुवा भएका हुन । सुव्वा पदमा रहँदा जिल्ला शिक्षा कार्यालय मुगु,जिल्ल सिँचाई कार्यालय धनुषा,जिल्ला सिँचाई कार्यालय,ललितपुरमा सेवा गरे । ५९ सालमा शाखा अधिकृतमा बढुवा भएपछि गृह मन्त्रालय पुगेका उनले जिल्ला प्रशासन कार्यालय धादिङ,सीमा प्रशासन ओखलढुङ्गा,अध्यागमन कार्यालय विमानस्थलमा काम गरे । ६६ सालमा उपसचिवमा उक्लिएपछि पुष्कर कृषि मन्त्रालय,श्रम मन्त्तालय हुँदै नेपाली राजदुतावास,कुवेतमा पुगे ।
६८ सालमा सहसचिवजमा उक्लिएका पुष्करले परराष्ट्र मन्त्रालयमा केही समय बिताएर मकवानपुर र बाराको प्रमुख जिल्ला अधिकारी चलाए । यस्तै श्रम मन्त्रालय,श्रम विभागको महानिर्देशक,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,नेपाली राजदुतावास,नयाँ दिल्ली,गृह मन्त्रालय,उद्योग मन्त्रालय हुँदै ७८ सालमा सचिवमा उक्लिएका हुन ।
पुष्कर सचिव बढुवा भए यता अर्थ मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै गत बर्ष पुसदेखि श्रम सचिवको भूमिकामा छन् ।
मुख्य सचिव पदका अर्का आकांक्षी वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव घिमिरे हुन् । ५८ वर्ष उमेरहदका कारण फागुन १० गते अनिवार्य अवकाशमा जाने भएकाले उनी मुख्य सचिव बन्ने सम्भावना देखिँदैन । शर्माचाहिँ २०८३ साउनमा उमेरहदका कारण् अनिवार्य अवकाशमा जाँदैछन् । अहिले अर्याल मुख्य सचिव बने त्यसपछि मुख्यसचिवमा शर्माको सम्भावना छ । तर उनीमाथि विदेशी पिआरधारीको आरोप छ ।
त्यस्तै सचिवहरू गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपाल सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला पनि मुख्य सचिवको प्रतिस्पर्धामा छन् ।
यी मध्ये मुख्य प्रतिष्प्रर्धीको रुपमा सुमन अर्याल जेष्ठताका आधारमा,प्रमिलादेवी बज्राचार्य महिला प्रधानमन्त्री भएको अवस्थामा महिलालाई मुख्य सचिव बनाइन सक्ने आँकलन गरिदैंछ भने यस अघिका सरकारहरुबाट पेलानमा परेका र सुशीला अर्यालका स्वभावसँग मिल्ने स्वभाव भएका हक्की र खरो स्वभावमा मधुसुदन बुर्लाकोटीलाई अर्काे मुख्य प्रतिष्प्रर्धीको रुपमा हेरिएको छ भने तलदेखि माथिसम्म मिलाउन सक्ने खुबी भएका कारण कृष्णहरि पुष्करलाई समेत मुख्यसचिवको प्रतिष्प्रर्धीको रुपमा हेरिएको छ ।
अहिले मुख्यसचिवका प्रवल दावेदारहरु ०७८ सालमा सचिव बनेका सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसदन बुर्लाकोटी र डा कृष्णहरि पुस्कर मुख्यसचिवका आकांक्षीका रुपमा हेरिएको छ,निजामती वृत्तमा । निजामती किताबखानाको विवरण अनुसार,अर्याल २०७७ माघ १९, बज्राचार्य २०७८ असार १७, बुर्लाकोटी २०७८ असार २१ र पुस्कर २०७८ असार २४ गते सचिव बनेका हुन ।
को होला अवको मुख्य सचिव : यस्तो छ बरीयता मिचेर नियुक्त भएकाहरुको नालीबेली


























