सामान्यता एक वर्षको अवधिमा सिडिओको सरुवा हुनेमा गृह मन्त्रालयले दुई जना प्रमुख जिल्ला अधिकारीहरुलाई १५ दिनमै सरुवा गरेर कार्यविधिकै खिल्ली उडाएको छ । गृह मन्त्रालयले एकै लटमा हिजो ४ सहसचिव र ५४ उपसचिवको सरुवा गर्दा २ जना प्रमुख जिल्ला अधिकारीहरु आधा बाटैबाटो सरुवामा परेका छन् । गृहले कर्मचारीहरुको सरुवामा मनलाग्दी ढंगबाट खटन पटन गर्दा दुई जना सहसचिव बीच बाटोबाटै सरुवामा परेका छन् ।
बिज्ञापन
गृहमन्त्री ओमप्रकाश अर्यालले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५८ जना कर्मचारीको सरुवा गरेका हुन् । जसमा मुस्ताङ, डोटी, दैलेख, गुल्मी, रोल्पा, जुम्ला, पाँचथरमा नयाँ सिडिओ पठाइएको छ। सरुवाको सूची अनुसार,मुस्ताङमा अजिता शर्मा, डोटीमा कल्पना घिमिरे, जुम्लामा दीपक पौडेल, गुल्मीमा बद्रीनाथ गैरे, दैलेखमा आनन्द सारु, पाँचथरमा वासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्रीलाई सिडिओ बनाएर पठाइएको हो।
बिज्ञापन
गृहमन्त्री अर्यालको मन्त्रीस्तरीय निर्णयबाट सरुवा गरिँदा दुई सहसचिवहरु बाटैबाट सरुवामा परेका हुन । दुई साता अघिमात्र दुई जना सहसचिवहरुलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर गृहले खटाएको थियो । उनीहरु सम्बन्धित जिल्लामा हाजिर गर्न नपुग्दै बीच बाटोबाटै सरुवा गरेर एक गृहमै फिर्ता भएका छन् भने अर्काे दैलेखतिर पुगेका छन् । प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा काम काज खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० को ७ नम्बरको कामकाज गर्ने अवधि शीर्षकको १ नम्बर बुँदामा ‘एउटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको कामकाज गर्ने अवधि सामान्यतया एक वर्षको हुन्छ,’ भन्ने लेखिएको छ । त्यही बुँदामा तर लेखेर, ‘यसअघि राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूको कामकाज गर्ने अवधि पूरा नहुँदै सरुवा वा कामकाजमा खटाउन बाधा पर्ने छैन’ भनेर लेखिएको छ ।
यसरी बाटोबाटै सरुवामा परेका प्रमुख जिल्ला अधिकारी हुन खिमबहादुर रायमाझी र आनन्द सारु । यस अघि गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयबाट कात्तिक ९ गते तीन दर्जन सहसचिवको सरुवा गर्दा जुम्लामा सहसचिव खिमबहादुर रायमाझीलाई सीडीओको जिम्मेवारी दिएका थिए । रायमाझीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट जुम्लाको सीडीओका रुपमा खटाइएको थियो तर १५ दिन नबित्दै रायमाझीलाई गृह मन्त्रालयमा तानिएको छ । यस्तै यस अघि अछामको सीडीओका रुपमा खटाइएका सहसचिव आनन्द सारुलाई सरुवा गरेर गुल्मीमा सीडीओको जिम्मेवारी दिइएको थियो । यसरी खटाइएका दुबै सहसचिवहरु सम्बन्धित जिल्लामा हाजिर भइसकेका थिएनन्,उनीहरु बाटैबाट सरुवामा परेका हुन । यस्का अलवा रोल्पाका सिडिओ बासुदेव दाहाल पाँचथर पुर्याइएको छ । पाँचथरका सिडिओ अरूण पोखरेल बेपत्ता आयोगमा थन्काइएपछि दाहाल कर्णाली नगई पाँचथर पुगेका हुन्।
उसो त गृह मन्त्रालयले पछिल्लो समय गरेको कर्मचारी खटन पटनमा एमाले निकट र त्यसमा पनि भक्तपुरे र अख्तियारमा बसेका कर्मचारीहरुलाई आकर्षक ठाउँमा खटाइएको कर्मचारीहरु गुनासो गर्न थालेको छ ।
गृहको कर्मचारी परिचालन गस अघि गोकर्णमणि दुवाडी सचिव हुँदाझैं नियम,कानुनभन्दा मनपरीतन्त्रका आधारमा चलिरहेको प्रति कर्मचारीहरुले दुखेसो पोखेका छन् ।


























