नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक आइजीपीमा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई यही कार्तिक २७ गतेदेखि लागू हुने गरि नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । हालका आईजीपी चन्द्रकुबेर खापुङ ३० वर्षे सेवा अवधिका कारण यही कार्तिक २६ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन् ।
उनी अवकाशमा गएसँगै बुधबारदेखि कार्कीले आइजीपीको जिम्मेवारी कार्कीले सम्हाल्नेछन् । कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन्।
बिज्ञापन
कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।उनी इमान्दार प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । ०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ०६४ सालमा डीएसपी, ०७४ मा एसपी र ०७९ मा एसएसपी भएका थिए। एसएसपीबाट नै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए। एसएसपी हुँदा काठमाडौँ प्रहरी परिसर प्रमुख थिए। त्यसबाहेक उनी प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत रहे।
बिज्ञापन
कार्की ०८१ साल जेठमा डीआईजीमा बढुवा भएका थिए। डीआईजी भएपछि पनि महानिरीक्षकको सचिवालयमै कार्यरत कार्कीले प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। ०८२ वैशाखमा उनी पहिलो नम्बरमै एआईजीमा बढुवा हुँदा राजन अधिकारी र मनोजकुमार केसी पनि एआईजी भएका थिए। अधिकारी र केसी पनि कार्कीकै ब्याची हुन्।
एआईजीमा बढुवा भएपछि प्रहरीको मानव स्रोत विभागमा पदस्थापन भएका कार्कीलाई जेनजी आन्दोलनको क्रममा भदौ २३ गते ठूलो मानवीय क्षति भएपछि २४ गते काठमाडौँ उपत्यका प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको थियो।
बिज्ञापन
कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्वमा रहनेछन् ।


























