जेनजीको विद्रोह पछि राजनीतिक रुपान्तरण त भयो तर कर्मचारी प्रशासनमा उस्तै विकृती र विसंगती छन् । कर्मचारी सरुवामा यस अघि हुँदै आएको विकृती र विसंगती २० को १९ भएको छैन ।
कर्मचारी सरुवा गरिँदा दल निकटका कर्मचारीहरुलाई छानी छानी आकर्षक कार्यालयमा खटन पटन गरिएको गुनासो व्याप्त छ । चाहे गृहले खटन पटन गरेका ३६ सहसचिवको सरुवामा होस वा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दैनिक किस्ता किस्तामा खरिदारदेखि उपसचिव तहसम्मका कर्मचारी सरुवाको सूची हेर्दा होस वा प्रदेशका मन्त्रालयले गरेको सरुवा नै किन नहोस,त्यहाँ मापदण्डभन्दा मनपरीतन्त्र हाबी भइरहेको भन्दै कर्मचारीमै असन्तृष्टि सुनिन थालेको छ ।
जस्तो हिजोमात्र २१ सहसचिवको सरुवा सूची हेर्दा केहीलाई प्रदेशबाट प्रदेशमै घुमाइएको छ । यस अघि गृहबाट चरम अन्याय खेपेका एक सहसचिव अरुण पोखरेललाई सहसचिव थन्काउने कार्यालयका रुपमा परिचित वेपत्ता छानबिन आयोगमा लगेर थान्को लगाइएको छ ।
उता गृह मन्त्रालयले ३६ जना सहसचिवको सरुवा गर्दा एमाले निकटका र भक्तपुरे सहसचिवलाई आकर्षक जिल्लामा खटाइएको थियो । पूर्व गृह सचिव गोकर्णमणि दुवाडीलाई गृहबाट योजना आयोगमा पारेपछि गृहमा इन्ट्री भएका हुन रामेश्वर दंगाल । गत ९ कार्तिकमा गृहमन्त्रालयबाट गरिएको ३६ जना सिडियोहरुको सरुवामा समेत सचिव दंगाल हावी भएको गुनासो सुनिँदैछ ।
बिज्ञापन
गृहले सिडियोहरु खटाउँदा एमाले निकटका,भक्तपुर स्थायी घर भएका यस अघि अख्तियारमा बसेर राम्रै तर मारेका सहसचिवहरुलाई रोज्जाको जिल्ला दिएर खटाइएको चर्चा छ,गृहका कर्मचारी वृत्तमा । पूर्व गृहमन्त्री रमेश लेखकका पालामा खटाइएका सहसचिवहरुलाई तीन महिना नहुँदै चलाएर दुर दराजमा खटाइएको छ । यस्को अलवा क वर्गका सीडीओलाई ख वर्गमा, ख वर्गका सीडीओलाई ग वर्गका जिल्लामा खटाएर गृह आफैंले बनाएको मापदण्डलाई धज्जी लगाइदिएका छन्,दंगालले । काँग्रेसी कर्मचारीमाथि छानी छानी प्रतिशोधपूर्ण ढङ्गले खटाइँदा एमाले,भक्तपुरवासी,यस अघि अख्तियारमा बसेका कर्मचारीलाई रोजी रोजीका आकर्षक जिल्लाका प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । गृहको कर्मचारी सरुवाप्रति असन्तृष्टि पोख्दै एक सहसचिवले भने पैसा खानु मात्र भ्रष्टाचार होइन नि विधि, कानून, प्रक्रियाबमोजिम गर्नुपर्ने काम नगर्नू र विधि प्रक्रिया मिचेर काम गर्नु पनि एक प्रकारको अनियमितता हो कि होइन ?
बिज्ञापन
जस्तो : नेकपा एमाले निकटका कर्मचारी गोपालकुमार अधिकारीलाई ‘क’ वर्गको जिल्ला झापाबाट ‘क’ वर्ग कै जिल्ला काभ्रेपलाञ्चोकमा खटाइयो । यस्तै एमाले छापे शिवराम गेलाल झापाको सिडिओ बन्ने सौभाग्य पाए । शिवराम भक्तपुरे हुन । ६० साले लेखा अधिकृत हुँदै प्रशासनमा फड्को मारेका बासुदेव घिमिरे सुनसरीको सिडिओ बनेका छन् । उनी सूर्य छापे कर्मचारी हुन । एमाले निकट, भक्तपुर बस्ने र अख्तियारमा जमेका माधवप्रसाद पोखरेल रूपन्देहीको सिडिओ बनेका छन । कर्मचारी वृत्तमा चतुर खेलाडी भनेर चिनिएका बसन्त अधिकारी मकवानपुरको सिडिओ बनेका छन्। यस अघि सहसचिव हुने वित्तिकै सिडियो बन्ने सौभाग्य पाएका रामुराज कडरिया आफ्नै गृह जिल्ला सर्लाहीको सिडिओ बनेका छन् । एमाले निकट कर्मचारी भएकै कारण हिरालाल रेग्मी कैलाली, प्रेमप्रसाद लुईंटेल उदयपुरबाट धनुषा,रुपनारायण भट्टराईका भाइ प्रेमप्रसाद भट्टराई ललितपुरको सिडिओ बनेका छन् । उसो त गृहका कर्मचारी वृत्तमा अर्काे ग्रहबाट आएका र अधिकांश लाभका पद लिन माहिर उमेशकुमार ढकाल, दिलकुमार तामाङ,इन्द्रदेव यादव,धर्मेन्द्र मिश्रहरुले लगातार सात÷आठ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्ने सौभाग्य पाएका छन् ।
उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कप्रमा पार्वती शर्मा पुगेसँगगै कर्मचारी सरुवामा झनै विकृती देखिएको छ । यस अघि भगवती न्यौपानेले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको राज अन्त्य गर्न भन्दै उपसचिवलाई नगरपालिका र अधिकृतलाई गाउँपालिकामा खटाएकामध्ये आधा बढीले सरुवा उल्टाइसकेका छन् ।
बिज्ञापन
यता बागमती प्रदेश सरकारले १४ जना उपसचिवहरुको सरुवा गरिँदा यस्तै गडबडी गरिएको गुनासो चुलिएको छ ।
प्रदेशले वन सेवा, जनरल फरेष्ट्री र भू तथा जलाधार व्यवस्थापन समूहका दसौँ र नवौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेको थियो । सरुवा सूचीअनुसार डिभिजन वन कार्यालय, मरिण, सिन्धुलीका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरलाई वन तथा वातावरण मन्त्रालय, हेटौँडामा पुगेका छन् भने डिभिजन वन कार्यालय, चितवनका थिर बहादुर कार्कीलाई वन निर्देशनालय, हेटौँडामा खटाइएको छ । यस्तै, डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यलाई धादिङबाट चितवनमा पुर्याइएको छ भने विश्व कोइरालालाई भक्तपुरबाट वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर)मा ल्याइएको छ । यस्तै डिभिजन वन कार्यालय नुवाकोटमा कार्यरत रोशना पोखरेललाई डिभिजन वन कार्यालय धादिङको प्रमुखको जिम्मेवारी दिइएको छ । डिभिजन वन कार्यालय दोलखामा कार्यरत कृष्णराज न्यौपानेलाई डिभिजन वन कार्यालय मरिण सिन्धुली, प्रदीपनाथ शर्मालाई डिभिजन वन कार्यालय नुवाकोट, श्रद्धा सिग्देललाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर)बाट डिभिजन वन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ ।
यस्का अलवा अनिल रेग्मीलाई मन्त्रालयबाट डिभिजन वन कार्यालय दोलखा, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका मोहन के।सीला, गोदावरी (ललितपुर)बाट मन्त्रालयमा सरुवा गरिएको छ । सरुवाको सूची अनुसार, भू तथा जलाधार व्यवस्थापन कार्यालय धादिङमा कार्यरत प्रदीप नारायण श्रेष्ठलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोक, भू तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटमा कार्यारत सञ्जीव सुवेदीलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय ललितपुर र भू तथा जलाधार व्यवस्थापन कार्यालय दोलखामा कार्यरत महेश पौडेललाई भू तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटमा सरुवा गरिएको छ । यस्तै मुख्यमन्त्री कार्यालयमा अतिरिक्त समूहमा रहेकी डिभिजन वन अधिकृत विमला लम्साललाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरीमा खटाइएको वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सरुवामा एमाले निकट व्यक्तिहरूको हालीमुहाली भएको आरोप लगाइएको छ। सरुवाको सूची केलाउँदा कृष्णराज न्यौपाने पुनः पाँचौं पटक सिन्धुली मरीण डिभिजनमा, विष्णुप्रसाद आचार्य चितवनमा, र रोशना पोखरेल धादिङमा सरुवा भएका छन्। साथै, सरुवामा विवादास्पद वन अधिकृत अनिल रेग्मी दोलखा पुगेका छन् । जबकी रामशरण गौतम जस्ता सिनियर अधिकृतहरूलाई सरुवा सूचीमा राखिएको छैन।

























