गृहसचिव रामेश्वर दंगालले ७७ ओटै प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई विभिन्न ११ शीर्षकमा ७ पेज लामो निर्देशन दिएका छन् ।
बिज्ञापन
सचिव दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्नेलगायत व्यक्तिगत आचरणसमेतका विषयमा सजगताका साथ सक्रियतापूर्वक भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत एवं अभिवृद्धि गराउन भन्दै निर्देशन दिएका हुन् ।
बिज्ञापन
सचिव दंगालले शान्ति सुरक्षा शीर्षकमा ९ बुँदामा, अपराध नियन्त्रण शीर्षकमा ३ बुँदामा, निर्वाचन सम्बन्धमा ५ बुँदामा निर्देशन दिएका छन् ।
त्यस्तै सुशासन र प्रभावकारी सेवा प्रवाह शीर्षकमा १० बुँदामा, विकास व्यवस्थापन सम्बन्धमा एक बुँदामा र कारागार प्रशासन शीर्षकमा ३ बुँदामा, विपद् व्यवस्थापन शीर्षकमा ३ बुँदामा निर्देशन दिएका छन् ।
बिज्ञापन
त्यस्तै आपूर्ति व्यवस्थापन सन्दर्भमा ३२ बुँदामा, अनुगमन निरीक्षक सम्बन्धमा ७ बुँदामा, कार्यक्रममा सहभागिता एवं व्यवस्थापन सन्दर्भमा १० बुँदामा र विविध शीर्षकमा ८ बुँदामा निर्देशन दिएका छन् ।
जेन जी प्रदर्शनपछि सामाजिक संरचना विथोलिएको र सुरक्षा चुनौती थपिएको भन्दै शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न मन्त्रालयको पहिलो निर्देशन छ । भनिएको छ, ‘विकसित घटनाक्रमलाई मध्यनजर गर्दै जिल्लाभित्रको शान्ति सुरक्षामा तत्काल र दीर्घकालिन असर पार्ने सुरक्षा चुनौतीहरू सतहमा आउनुपूर्व नै पहिचान एंव विश्लेषण गर्ने ।’
गृहले अपराध नियन्त्रणको लागि सीमा क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरुलाई सर्तक रहन पनि निर्देश गरेको छ । ७ पृष्ठ लामो निर्देशनमा भनिएको छ, ‘छिमेकी मुलुकसँग सिमा जोडिएका जिल्लाहरुले सीमा सुरक्षा, सीमा स्तम्भ सुरक्षा, सीमावारी र सीमापारी हुने अपराध नियन्त्रणको लागि सीमा क्षेत्रका गतिविधिमाथि नियमित निगरानी राख्ने, सुरक्षाकर्मीहरुले एकल तथा संयुक्त गस्ती पेट्रोलिङ गर्ने ।’
आगामी फागुन २१ हुने भनिएको निर्वाचनको लागि वातावरण बनाउन पनि निर्देशन दिइएको छ । ‘निर्वाचन सम्पन्न गर्नको लागि सबै सरोकारवालाहरूको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउँदै जाने, सुरक्षा निकायहरूबाट समन्वयात्मक रुपमा निर्वाचन सुरक्षा लक्षित गस्ती पेट्रोलिङ बढाउने’, गृहले भनेको छ
सचिवस्तरीय निर्णयको निर्देशन उपसचिव रविन्द्र आचार्यले सबै प्रमुख जिल्ला अधिकारीलाई पठाएका हुन् ।
यस्ता छन् निर्देशनका मुख्य बुँदाहरु
शान्ति सुरक्षा र अपराध नियन्त्रण :जिल्लाभित्रको समग्र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ । लागुऔषध, अवैध मदिरा, र अन्य गैरकानूनी गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्न भनिएको छ।
सेवा प्रवाह र सुशासन : जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवालाई सरल, सहज र पारदर्शी बनाउन, अनावश्यक झन्झट हटाउन र प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन दिइएको छ । कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने र नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउन पनि भनिएको छ ।
विपद् व्यवस्थापन : मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न, खोज, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न र तत्काल परिचालन हुन सक्ने गरी संयन्त्र बनाउन निर्देशन दिइएको छ ।
आसन्न निर्वाचन तयारी : फागुन २१ मा तोकिएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ। साथै निर्वाचनविरोधी गतिविधि र भूमिगत समूहद्वारा हुने गतिविधिको पहिचान तथा नियन्त्रणमा जोड दिइएको छ ।
बजार अनुगमन र नियन्त्रण : चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिलाई नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्न निर्देशन दिइएको छ ।
सूचना तथा सञ्चार : सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह र गलत सूचनाप्रति चनाखो रहँदै सत्यतथ्य जानकारी तत्काल प्रवाह गर्न र जिल्लाको शान्ति सुरक्षामा खलल पार्न सक्ने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न निर्देशनमा उल्लेख छ ।