नेपाली समाज आज सहि नेतृत्वको अभाव र आम नागरिकहरु उदासीनताबाट पीडित देखिन्छन्। परिणाम र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित सोचले जिम्मेवारी, नैतिकता र जनहितलाई ओझेलमा पारेको छ। पद, प्रतिष्ठा वा लाभलाई मात्र लक्ष्य बनाउने प्रवृत्ति हावीहुँदा देश र जनताको सामूहिक हित बिर्सने अवस्था आएको छ। यस्तो परिस्थितिमा आवश्यक के छ भने काम गर्दा परिणामभन्दा बढी कर्तव्य र जनअपेक्षालाई केन्द्रमा राख्ने संस्कारको अनिवार्य विकास गर्नु जरुरी छ।नेतृत्वको सन्दर्भमा हेर्दा, पद पाउनु मात्रै उद्देश्य नभई त्यस पदको जिम्मेवारी निर्वाह गर्नु मुख्य कर्तव्य हो। उदाहरणका लागि, माथिल्लो पद राष्ट्रपति, प्रधानमन्त्री देखि वडा सदस्यसम्मका जनप्रतिनिधिले आफ्नो निर्णयलाई दल वा व्यक्तिगत फाइदाका आधारमा होइन, जनताको हित र दीर्घकालीन विकासलाई ध्यानमा राखेर गर्नु पर्दछ। नीति बनाउनुअघि नागरिकको आवश्यकता बुझ्ने, जनताको आवाजलाई सुन्ने र न्यायपूर्ण निर्णय लिने शैली नै नेतृत्वको असली पहिचान हो। यस्तो इमानदार कार्यशैलीले मात्र जनतामा विश्वास जगाउन सक्दछ।
बिज्ञापन
सामान्य नागरिकको स्तरमा पनि काम गर्ने शैली सुधार गर्न अति जरुरी भएको छ। कार्यालयमा कार्यरत कर्मचारीले प्रमोशन, बोनस र अतिरिक्त आम्दानीको आसक्तिमा मात्र सीमित रहनुभन्दा समुहको हित, सेवाको गुणस्तर र समयपालनलाई प्राथमिकता दिनुपर्दछ। यसले प्रत्येक तहमा कार्य गर्ने नागरिकप्रति आत्मगौरव बढाउँछ र कामको बोझलाई सहज बनाउँछ। त्यसरी नै व्यापारी,व्यवसायी वा उद्यमीले नाफा कमाउने उद्देश्य राखे पनि राष्ट्र र नागरिकलाई असर गर्ने छलकपट, गलत प्रचार वा अरूलाई घाटा पुर्याएर अघि बढ्ने सोचले दिगो सफलता दिँदैन। बरु गुणस्तरीय उत्पादन, पारदर्शी व्यवहार र ग्राहकसँगको विश्वासले व्यवसायलाई दीर्घकालीन सफलता दिलाउँछ।जथाभावी गर्नाले आज मानव स्वास्थ्यमा जटिल समास्यमात्र होईन पापको बोझपनि वनेको छ।
बिज्ञापन
राष्ट्र, जनता, समाज, परिवार र आफैंप्रतिको व्यवहारमा पनि निष्काम अर्थात कुनै प्रकारको फलको आशा नराखि गरिने काम भावको खाँचो छ। अभिभावकले आफ्ना बच्चालाई शिक्षित बनाउन गरेको लगानी केवल आफ्नो इज्जत वा प्रशंसा कमाउनका लागि नभई सन्तानको उज्ज्वल भविष्यका लागि हुनुपर्दछ। त्यसैगरी समाजसेवामा लाग्ने व्यक्तिले नाम, ख्याति वा सम्मानभन्दा बढी जनताको पीडा कम गर्ने उद्देश्य राखे मात्र सेवा प्रभावकारी हुन्छ। उदाहरणका लागि गरिबी निवारण, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा गरिएको योगदान, यदि स्वार्थविहीन रूपमा हुन्छ भने, त्यसले समाजलाई एकता र विश्वासको बाटोमा अघि बढाउँछ।
यसरी हेर्दा कर्मको असली मूल्य कर्म त्यागमा होइन, बरु परिणामप्रतिको आसक्तिविना, जिम्मेवारीपूर्वक र जनहितका लागि गरिएको कार्यमा निहित हुन्छ। यस्ता कर्मले नेतृत्वलाई विश्वसनीय, नागरिकलाई उत्तरदायी र सम्पूर्ण समाजलाई नैतिकतापूर्ण मार्गमा अघि बढाउँछ। यही बाटोले मात्र नेपाली समाजलाई दीर्घकालीन सफलता, आत्मसन्तुष्टि र सामूहिक प्रगतितर्फ अघि बढाउन सक्दछ।
बिज्ञापन
नेपाली समाजको सामूहिक प्रगतिको बाटोमा अझै स्वार्थी नेतृत्व, व्यापक भ्रष्टाचार, परिणामप्रतिको अति मोह, नागरिकको उदासीनता, सामाजिक विभाजन, शिक्षा प्रणालीको कमजोरी र योजनाको निरन्तरता अभाव जस्ता अवरोधहरू ठूला चुनौतीका रूपमा उभिएका छन्। जबसम्म यी कमजोरीहरूलाई पारदर्शी नेतृत्व, कडाइका साथ सुशासन, जिम्मेवार नागरिक, समान अवसर, चेतनामूलक शिक्षा र दीर्घकालीन योजनाको निरन्तरताले प्रतिस्थापन गरिँदैन, तबसम्म समाज आत्मसन्तुष्टि र दिगो सफलताको बाटोतर्फ अघि बढ्न सक्दैन। सामूहिक प्रगतिका लागि आवश्यक खाँबाहरू यही नैतिकता, उत्तरदायित्व र जनहितमुखी कार्य संस्कार हुन्, जसले मात्र नेपाली समाजलाई थप उज्यालो भविष्यमा डोर्याउन सक्दछ।त्यसैले परिणामप्रति आसक्ति विना सवैले कर्म गर्ने संस्कृतिको जग दर्विलोसंग खडाहुनु जरुरी छ। बदलिँदो राजनीतिक परिवेशमा नवगठित सरकारलाई जनताको भरोसा जित्ने सबैभन्दा ठूलो जिम्मेवारी बोकेको छ। पुराना राजनीतिक दलका नेताहरूले स्वार्थ र दलगत संकीर्णताबाट माथि उठी राष्ट्र निर्माणमा समर्पित हुनुपर्ने बेला आएको छ। सामाजिक अभियान्ता र सचेत युवापुस्ताले नयाँ सोच, पारदर्शी अभ्यास र सेवाभावलाई समाजमा रोपेर परिवर्तनको गति तिव्र बनाउनु पर्दछ। आम जनता स्वयंले पनि अधिकारसँगै कर्तव्यलाई आत्मसात् गर्दै जिम्मेवार नागरिक बन्न झनै जरुरी छ। यसरी मात्र परिणामप्रतिको आसक्तिविना कर्म गर्ने संस्कृतिको जग मजबुत बन्नेछ। यही संस्कारले नेपाललाई आत्मसन्तुष्टि, दीर्घकालीन सफलता र सामूहिक प्रगतितर्फ अघि बढाउने र समृद्ध नेपाल, सुखी नेपालीको आधारशिला तय गर्नेछ।