नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले व्यक्तिगत काम लिएर बिहान साँझ आफ्नो घरमा नआउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । खनालले सरकारी कामका लागि आफू जुन समयमा भए पनि तयार रहेको बताउँदै व्यक्तिगत काम लिएर घर धाउने काम छोड्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
बिज्ञापन
यस्तै उनले कर्मचारीहरुलाई कसैको नाम लिएर अनेक थरीको गतिविधि गरिए राम्रो नहुने चेतावनी पनि दिए । मन्त्रीको प्रशासकीय अधिकार मलाई थाहा छ । मन्त्रीले हप्काउन सक्छ, कारवाही गर्न पनि सक्छ । यस्तो किसिमको कुनै घटना घट्यो भने त्यो घटनालाई हामीले धेरै लामो समयसम्म लिनु हुँदैन । तुरुन्तै कर्मचारीलाई के गर्नुपर्ने हो गरिन्छ । माया गर्नसम्म माया गरिन्छ, गल्ती गरिसकेपछि माया हुँदैन । यो मेरो व्यक्तिगत एजेन्डा होइन, यो राष्ट्रको एजेन्डा हो ।
बिज्ञापन
म पारदर्शी छु, यहाँहरूले मसँग कुनै कुरा सेयर गर्नु भयो भने प्याच्च पब्लिकमा भनिदिन सक्छु । त्यसैले कुनै पनि कुरा गर्दा मसँग सोचेर भन्नु होला । मन्त्री खनालले अगाडि भने म सरकारी सेवामा हुँदा ३१ वर्ष र १५ वर्ष सरकारी सेवा छोडेपछि गरी ४६ वर्ष सिंहदरबार छिरे । सिंहदरबारमा यत्तिको विध्वंश कहिले पनि देखेको थिइँन । युद्ध भूमिमा प्रवेश गर्दा खण्डहर जस्तो, फिल्महरू वा कुनै टेलिभिजन डकुमेन्ट्रीमा देखेको जस्ता दृश्यहरू आज पनि देखियो ।
अरू मन्त्रालयमा हामी गर्न सक्दैनौँ । तर, तत्काल अर्थमन्त्रालय परिसरको भग्नावशेषहरू हटाऔँ । यो कालो धुवाँ पोतेर सेतो बनाऔँ । कम्तीमा पनि हामी उठ्यौँ है, खरानीबाट हामी जाग्यौँ है भन्ने सन्देश दिने गरी हाम्रै मन्त्रालयबाट सुरु गरौं । सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति भएको छ । बैंकका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधि बोलाएर बजार विकासको विषयमा राष्ट्र बैंकले छलफल गरिसक्नु भएको छ । कतिपय वित्तीय प्रणालीबाट र कतिपय बीमाबाट पुन निर्माण गर्न सकिन्छ । तर, कति हुन सक्छ भनेर आँकलन गर्नुपर्ने हुन्छ ।
यस्तै,अर्थमन्त्रालयमा निर्वाचन सरकार रहुञ्जेलसम्म सवारीसाधन किन्ने काम नगरौँ भनेर अर्थ सचिवलाई निर्देशन दिइसकेकोउल्लेख गर्दै मन्त्री खनालले सार्वजनिक सेवा प्रवाह गर्नको निमित्त प्रहरीका लागि सवारीसाधन खरिद गर्नुपर्छ । कतिपय भवनहरू मर्मत सम्भार गरेर केही महिनाभित्र सार्वजनिक कार्यालयबाट सेवा दिने अवस्थामा पुर्याउनुपर्छ । निजी क्षेत्र र सार्वजनिक सम्पत्तिको पुन निर्माणमा काम गर्न आवश्यक छ । त्यसको निम्ति यत्तिकै बोलेर हुँदैन, यसको यकिन तथ्याङ्क संकलन गर्नुपर्ने बताए ।
उनले कर्मचारीहरु एउटै ढुंगाका सहयात्री भएको उल्लेख गर्दै मेरो घरमा बिहान साँझ आएर निजी मागहरु राख्ने काम नगर्न समेत कर्मचारीहरुलाई आग्रह गरेका हुन । तर, कार्यालय प्रयोजनका लागि म सधैं खुला छु । होटल रेस्टुरेन्टमा गएर काम नगरौँ । यदि मेरो घर देख्नु भएन भने मलाई अत्यन्तै खुशी लाग्नेछ ।